आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
सोमबार १,३५१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४,७४५ पुगेको छ भने मृत्यु हुनेको संख्या ४८१ पुगेको छ।
हालसम्म नेपालमा ५१,८६६ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Test Today : १०,०८० => Recovered Today : ७४२
सम्बन्धित :
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेजाव आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था लागि अध्यादेश जारी गरेकी छिन्। उनले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ लगायतका तीनवटा अध्यादेश जारी गरेकी हुन् ।
बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका लागि महिला सांसदहरूले अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ। नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा महिला सांसदहरूको ९ सदस्यीय समिति गठन भएको हो।
सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएका ओम्नी बिज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई तत्काल कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ।
लकडाउन लगत्तै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरिय सामान नल्याएको अनि समयमा सामान समेत आपूर्ति नगरेको भनी स्वास्थ्य सेवा विभागले उसँगको खरिद सम्झौता रद्द गरेको थियो।
रौतहटको गरुडा नगरपालिका-४ मा रहेको श्रीराम सुगर मिलको सञ्चालन र बक्यौता भुक्तानीको माग गर्दै उखु किसान आन्दोलनमा उत्रिएका छन्। सोमबार उनीहरुले गौर–चन्द्रनिगाहपुर सडक खण्ड बन्द गराएका छन्।
डाक्टर गोविन्द केसीका समर्थकहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीविरुद्ध कारबाही माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
सबन्धित :
इजरायल सरकारको सहयोगमा नेपालका सातै वटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने तयारी भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँगको सहयोगमा स्थापना हुने उक्त केन्द्र स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षार गर्न इजरायलका लागि नेपाली राजदूत अञ्जन शाक्यलाई अख्तियारी दिने निर्णय गरेको छ।
सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत देशभरका सामुदायिक र साझेदारी वनमा काटिएका सालका काठको बिक्री साधारणसभाबाट निर्णय गराएर खुलाउन सुझाव दिएको छ। यसो गर्दा विदेशबाट सालका काठ आयात रोक्न सकिनेछ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र दर्ता गराएको छ। ज्ञापनपत्रमा महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले विधान विपरित गरेका निर्णय सच्चाउन माग गरिएको छ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलोपटक अनलाइन माध्यमबाट प्राध्यापक छनोट गरेको छ। विदेशी विज्ञसहितको छनोट टोलीले ५० वर्षभन्दा कम उमेरका प्रतिस्पर्धीमध्येबाट दुई प्राध्यापक र १६ सहप्राध्यापक छानेको हो।
आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। ०७४ फागुनमा यो सरकार बनेपछि मन्त्रीहरूको सम्पत्ति एकपटक मात्र सार्वजनिक गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठन हुँदा थपिएका १२ जना मन्त्रीको सम्पत्ति त एकपटक पनि सार्वजनिक भएको छैन।
यो वर्षको चाडपर्वलक्षित सुपथ मूल्य पसल बिहीबारबाट सञ्चालनमा आउने भएका छन्। सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसल मंसिर ६ गतेसम्म जारी रहनेछन्। कुनकुन स्थानमा पसल खुल्ने भन्ने अझै टुंगो लागिसकेको छैन।
सांसदहरुले रेल्वे बोर्डमा कार्यकारी समिति आवश्यक रहने वा नरहने विषयमा अझ बढी छलफल आवश्यक रहेको बताएका छन्।राष्ट्रिय सभा अन्तर्गतको विधयान व्यवस्थापन समितिको सोमबारको बैठकमा ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७६’ माथि छलफल गर्दै सांसदहरुले कार्यकारी समिति राख्ने वा नराख्ने सम्बन्धमा अझ स्पष्ट हुनुपर्ने बताएका हुन्।
रेल्वे विभागको प्रमुख नै कार्यकारी रहने वा छुट्टै कार्यकारी समिति गठन हुने सम्बन्धमा छलफल आवश्यक भएको सांसदहरुको भनाइ छ।
सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ। नेपाल राष्ट्र बैंकमार्फत सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसारको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ।
जसअनुसार केन्द्रीय बैंकले प्रथम चौमासमा ५७ अर्ब आन्तरिक ऋण उठाउने गरी लक्ष्य लिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुडले शिष्टाचार विदाई भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा अष्ट्रेलियाली राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सुन्ने कार्यविधि बनाएर लागु गरेको छ। केन्द्रीय बैंकको नियमन विभागले सोमबार उक्त कार्यविधि जारी गर्दै लागु गरेको छ।
वित्तीय ग्रहकको हित संरक्षण तथा समान व्यवहारको लागि ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि - २०७७’ लागु गरेको केन्द्रीय बैंकले जनाएको छ।
यो साता बलिउड फिल्म इन्डस्ट्रीमा आबद्ध धेरै कलाकारले राम्रोसँग सास लिन पाएनन्। नार्कोटिक्स कन्ट्रोल ब्युरो (एसिबी)ले कुन वेला छापा मार्ने वा अनुसन्धानका लागि अदालत लैजाने हो भन्ने डरमै बलिउडकर्मीको समय बित्यो।
बलिउड र ड्रक्स कनेक्सनमा आफू पनि फस्ने हो कि भन्ने भय कलाकारमा देखिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
आर्मेनियाका पृथकतावादीहरूले नागोर्नी काराबाख क्षेत्रमा सोमबार भएको संघर्षमा आफ्ना थप १५ जना लडाकु मारिएको जनाएका छन्। आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको छ।
भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भएका छन्। भारतीय सरकारको रिपाेर्टअनुसार केही दिनयता कोरोनामुक्त हुने दर बढेको छ। यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो ११ दिनमा मात्रै १० लाखभन्दा बढी संक्रमित निको भएका जनाएको छ।
दक्षिण एसियाली देश श्रीलंकाले २१ कन्टेनर फोहनेर युरोपेली देश बेलायतमा पठाएको छ। भएको के रहेछ भने, बेलायतबाट आयात गरिएका सामानमा खतरनाक फोहाेर र अस्पतालका फोहाेरसमेत राखिएका सामान आफ्नो देशमा आएपछि श्रीलंकाले पुनः ती फोहाेरलाई बेलायत फिर्ता पठाएको हो।
अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्त राज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका सर्तलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ। अन्तर-अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी वार्ताटोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरू संयुक्त राज्य अमेरिकासँग भएको सम्झौताबमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको बताए।
अमेरिकी संघीय एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सेयरिङ एप्स टिकटक अमेरिकामा रोक लगाउने विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन्।
राष्ट्रपति ट्रम्पको आदेशअनुसार अमेरिकामा आइतबार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने थिएन।