छोटकरीमा : आज - २०७७ असोज ०८, बिहीबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



बिहीबार १,४९७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९,३०१ पुगेको छ भने मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

हालसम्म नेपालमा ५०,४११ जना कोरोना संक्रमित निको भएका छन्।

=> New PCR Test : ११,४४९ => New Recovered : ४५७

सम्बन्धित :

  • देशभरका संस्थागत आइसोलेसन ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन्। आजसम्म देशभर ६ हजार ५६५ जना क्‍वारेन्टिनमा रहेका छन्। देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ। 
  • २४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचजना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको हो।
  • नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा बिहीबार ४ सय ५७ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ पुगेको हो। यो कूल संक्रमितको ७२.७४ प्रतिशत हो।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको कोरोना मिडिया ब्रिफिङमा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ।
  • अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चीनले स्वास्थ्य सामग्री नेपाल पठाएको छ। नाकामा काम गर्ने कामदारमा कोरोना देखिएपछि बन्द गरेको चीनले बुधबार आफ्नो एउटा गाडीमा स्वास्थ्य सामग्री नेपाल पठाएको हो। 



कोरोना नियन्त्रणको सम्बन्धमा भएका माग एवं निर्णयहरू :

  •  कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ बिरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ। उपसमितिले पीसीआर रिपोर्ट छिटो प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको छ।
  • शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मार्फत संक्रमितलाई पिसिआर रिपोर्टबारे जानकारी गराउनुपर्ने सुझाब दिएको छ।  जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिले बिहीबार मूल समितिलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै १७ वटा सुझाब दिएको हो।


राप्रपा अध्यक्षत्रयको बैठक पार्टी केन्द्रीय कार्यालय चाबहिलमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेस गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ।



सुदूरपश्चिम प्रदेश वन निर्देशकसहित ८ जना वन अधिकृतहरूले आफूलाई प्राप्त कानुनी अधिकार दुरुपयोग गरेको भन्दै संसदीय उपसमितिले कारबाहीका लागि सिफारिस गर्न संघीय संसदको सार्वजनिक लेखा समितिलाई सुझाव दिएको छ। सार्वजनिक लेखा समितिको उपसमितिले वन व्यवस्थापन कार्यक्रममा अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरी अनियमिततामा सामुदायिक वनका पदाधिकारी पनि संलग्न रहेको प्रतिवेदनमा लेखेको छ।



स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। झरीको परवाह नगरी सडकमा उत्रिएका युवाहरुको समूहलाई बिहीबार माइतीघरमा प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको हो। सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आयोजना गरेको प्रदर्शनकारीहरु निषेधित क्षेत्रतिर जानलाग्दा रोकिएको प्रहरीले बताएको छ। 



सार्वजनिक गर्न जवाफदेहीता निगरानी समितिले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद भन्दै निष्पक्ष छानबिनको माग गरेको छ। केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा बन्दी जीवन बिताइरहेका सिरहाको सिद्धार्थ नगरपालिका ५ निवासी जैसवालको असोज ३ गते कोरोनाबाट मृत्यु भइ वीर अस्पतालमा राखिएको बताइएको थियो। 



परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रभावकारी र नतिजामुखी क्षेत्रीय संगठनको रुपमा बनाउनु पर्नेमा जोड दिएका छन्। भर्चुअल माध्यममा भएको संयुक्त राष्ट्र संघको ७५ औं महासभामा सार्क मन्त्री स्तरीय भएको साइडलाइन वार्तामा मन्त्री ज्ञवालीले सार्कले दक्षिण एसियाली जनताको जीवनमा देख्‍न सकिने परिवर्तन ल्याउनु पर्ने बताएका हुन्।



बाढी/पहिरो अपडेट :

  • लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो।
  • रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा कटान शुरु गरेको छ। तिनाउमा आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको हो।
  • पहिराेका कारण बन्द भएकाे नारायणगढ–मुग्लिन सडककाे मुग्लिन नजिक चार किलाेमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन्। पाँच किलाेमा एकतर्फी गाडी चलेका छन्।
  • निरन्तर वर्षा र पुन: पहिरो खसेपछि जिल्लाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट बेलौजामा पहिरोमा पुरिएका ५ जनाको खोजी हुन सकेको छैन। बुधबारको पहिरोले घर पुर्दा ६० वर्षीय हुमबहादुर गाहा, ५० वर्षीय धनीसरा गाहा, १७ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीय खुमीसरा गाहा बेपत्ता भएका छन्।
  •  स्याङजाको वालिकमा पहिरोले पुरिएर ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। वालिङ नगरपालिका–१४ तमादिमा गएको पहिरोमा परि सात महिनाको बालकसहित एकै परिवारका नौ जनाले ज्यान गुमाएका थिए ।
  • नेपाली कांग्रेसले स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। कांग्रेसले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन, बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको हो।



परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले बिहीबार विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। पासपोर्ट छपाइका निम्ति एक वर्षको अन्तरमै भएको यो तेस्रोपटकको बोलपत्र हो।



हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ। प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसको आरोप छ।

सम्बन्धित :

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई सजग गराएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई सजग गराएका हुन्।


 प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’खारेज गरि वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ। यस्तै, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा अनियमितता गरी विभिन्न व्यक्तिहरुले अस्वभाविक रुपमा उच्च जीवनयापन गरेको देखिएकाले आवश्यक अनुसन्धान गरि कारबाही गर्न समेत निर्देशन दिनुपर्ने बताइएको छ।



प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर, पुनर्गठन गर्न गृहकार्य थालेका छन्। पार्टी अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै दुईघण्टा छलफल चलेको थियो।



पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सातामा दुई दिन बिदा दिनेगरी कार्ययोजना तयार पार्न कार्यदल गठन गरेको छ। कोरोना सङ्क्रमणले पर्यटन क्षेत्र थिल्थिल्याएका बेला मन्त्रालयले सातामा दुई दिन बिदा दिएर उकास्न गृहकार्य थालेको बताइएको छ।



न्यून जन्मदरको समस्या झेलिरहेको जापानले नवविवाहित जोडीका लागि ६ लाख जापनिज रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

मापदण्डअनुसार यो सुविधा लिन चाहने बेहुलाबेहुली दुवैजना विवाह गर्ने समय ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ।



स्वर्गीय भूगोलविद् डा. हर्क गुरुङलाई लमजुङका स्थानीयले सम्झिएका छन्। डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानद्वारा मर्स्याङ्दी गाउँपालिका– ७ ताङ्लीचोकमा बुधबार आयोजित १४औँ स्मृति दिवसमा एक कार्यक्रमको आयोजना गरी गुरुङको महानता र योगदानको उच्च सम्मान गर्दै जन्मथलोमा स्थानीयले सम्झिएका हुन्।



चीनको उत्तरपश्‍चिमी क्षेत्र सिन्जियाङमा यसअघि बताइएभन्दा धेरै ठूलो हिरासत केन्द्रहरुको नेटवर्क भएको अनुसन्धानकर्ताहरुले बताएका छन्। अस्ट्रेलियन थिंक ट्यांकका अनुसन्धानर्कताहरुले बिहीबार एक अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै हिरासत केन्द्रहरु बढाउने क्रम जारी रहेकोसमेत बताएका छन्। तर, चीनले भने उइगर समुदायका लागि 'पुन:शिक्षा कार्यक्रम' कार्यक्रमहरु सुरु गरिरहेको बताएको छ।



संयुक्त राज्य अमेरिकामा ब्रिओना टेलरको मृत्युका प्रकरणमा कुनै पनि प्रहरी अधिकारीलाई अभियोग नलगाउने बृहत जुरीको फैसलाविरुद्ध भएको प्रदर्शनमा दुई प्रहरीमाथि गोली प्रहार भएको छ।१३ मार्चमा २६ वर्षीया टेलरको घर खानतलासी गर्ने क्रममा उनलाई गएका तीन प्रहरी अधिकारीहरुले उनलाई धेरै पटक गोली हानी हत्या गरेका थिए। 



दक्षिण कोरियाले आफ्ना एक सरकारी अधिकारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी हत्या गरेको र उनीहरुको शव जलाएको दाबी गरेको छ। दक्षिण कोरियाली रक्षा मन्त्रालयले यस घटनाको निन्दा गर्दै 'क्रुर कार्य' को संज्ञा दिएको छ । ती कर्मचारी दुई देशको जलसीमा नजिकै गस्ती गर्ने एउटा डुंगाबाट बेपत्ता भएका थिए। उनीहरुको शव जलेको अवस्थामा उत्तर कोरियाको भेटिएको थियो। 



भारतको दक्षिणतर्फ रहेको एक मन्दिरबाट ४० वर्ष अगाडि काँसका केही मूर्तिहरु चोरी भएको थियो जुन अहिले मात्र बेलायतमा फेला परेपछि भारत सरकारलाई फिर्ता गरिएको छ। चोरी भएका भगवान् राम, सिता अनि लक्समनका ती मूर्तिहरु १५ औँ शताब्दीमा बनेको तामिलनाडुको विजयनगर मन्दिरमा राखिएको थियो। 



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोरोना भाइरस (कोभिड–१९) फैलिनुमा चीन जिम्मेवार रहेको’ बताएपछि राष्ट्रसंघीय महासभामा दुई देशबीचको तनाव थप चर्केको छ। ट्रम्पले भाइरसको महामारी फैलिएको विषयमा चीनलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्। त्यसको प्रतिक्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘कुनै पनि देशसँग शीतयुद्ध गर्ने चीनको नियत नरहेको’ बताएका छन्।



अस्ट्रेलियाका पूर्व क्रिकेट खेलाडी डिन जोन्सको बिहीबार ह्रदयघातका कारण निधन भएको छ। इन्डियन प्रिमियर लिगको कमेन्ट्रीका लागि उनी भारतको मुम्बईमा थिए।



भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्) मा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो।



सन् २०१९ को अन्त्यतिर देखा परेको कोरोना महामारीका कारण आ-आफ्नो देशमा फर्किएका विदेशीहरू झण्डै ४ महिनापछि चीन फर्कन पाउने भएका छन्। चीनको परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय अध्यागमन प्रशासनले बुधबार एउटा सूचना निकालेर प्रक्रिया पुगेका विदेशीहरूलाई पुनः चीन फर्किन सक्ने जनाएको हो।



बलिउड अभिनेता आयुष्मान खुराना विश्वप्रसिद्ध टाइम म्यागजिनले निकालेको विश्वकै एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। टाइम म्यागजिनले निकालेको सूचीमा कलाकार विधाबाट सन् २०२० का विश्वकै प्रभावशाली सय व्यक्तिमा अभिनेता आयुष्मान पनि परेका हुन्।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक