छोटकरीमा : आज - २०७७ असोज ०७, बुधबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



बुधबार १,१७२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७,८०४ पुगेको छ भने मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

हालसम्म नेपालमा ४९,९५४ जना कोरोना संक्रमित निको भएका छन्।

=> New PCR Test : ९,४४९ => New Recovered : १,८९३

सम्बन्धित :

  • हाल सक्रिय संक्रमित भने १७ हजार चार सय १४ जना छन्। संक्रमित निको हुने दर ७३.७ प्रतिशत पुगेको छ।सक्रिय संक्रमितमध्ये आठ हजार दुई सय २८ जना संस्थागत र नौ हजार एक सय ८६ जना होम आइसोलेसनमा रहेको जनाइएको छ। 
  • पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन्।
  • गत आइतबारदेखि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गराउने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ। सरकारले लामो दुरीको सवारीसाधन चल्न दिएपछि र उपत्यका छिर्ने सर्वसाधारणको संख्यामा पनि वृद्धि आउँदा यस अस्पतालमा दिनहुँ सयौँको संख्यामा परीक्षण गराउन आउनेको भिडभाड हुन थालेको छ।
  • \नेपालमा कोरोना संक्रमण निको भएको लामो समय(तीन हप्ता)सम्म पनि लक्षण देखिएको पाइएको छ। परिषदले सातै प्रदेशमा कोरोना निको भएका १८ वर्षभन्दा माथिको उमेसमूहका ५५२ जनमा अध्ययन गरेको थियो। उनीहरुको शारीरिक, मानसिक र सामाजिक अवस्थाको स्थितिको अध्ययन गरेको थियो। 
  • कोरोनाको कारण बहराइनमा समस्यामा परेका १४२ जना नेपाली बुधवार नेपाल आइपुगेका छन्। यस्तै बहराइनमा मृत्यु भएका २ जना नेपालीको शव पनि बुधबार भएको उडान मार्फत स्वदेश पठाइएको दूतावासले विज्ञीतीमार्फत जनाएको छ।


कोरोना नियन्त्रणको सम्बन्धमा माग एवं निर्णयहरू :

  • सरकारले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन: लकडाउन गर्न सिफारिस गरेको छ। सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ।
  • वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रामलखन जैसवालको पोस्टमार्टम गरिने भएको छ। मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार व्यवस्थापनले बुधबार पत्रकार सम्मेलनमा सत्य तथ्य पोस्टमार्टम रिपोर्टपछि आउन बताएका हुन्।
  • कोभिड– १९ संक्रमणबाट निको भएका व्यक्तिहरूले प्लाज्मा दान अभियान शुरु गरेका छन्। कोभिड– १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरूले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन्। 



सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनी आदेश समेत दिएको छ।



स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने मागसहित अनशनमा रहेका सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता गरी उनको जीवन जोगाउन प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ। कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई डा. केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेको हो।



केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ। चिनियाँ दूतावासका प्रवक्ताले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन्।

सम्बन्धित :

  • नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका छन्। असोज १ गते र ६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका हुन्। 



बुधबारदेखि रसुवागढी नाकाबाट पुन: सामान आयात हुन थालेको छ। तीन सातादेखि नाकाबाट सामान आयात ठप्प भएको थियो। कोरोना कारण माघ १५ गतेदेखि ठप्प भएको नाका जेठ महिनाबाट सञ्चालनमा आएको थियो।



भारतको माथिल्लो सदन राज्यसभामा नेपाल र चीनबीचको यातायात तथा पारवहन सम्झौताबारे प्रश्न उठेको छ।

मध्यप्रदेशको ग्वालियरबाट हालै राज्यसभामा निर्वाचित भएका सांसद ज्योतिराधित्य सिन्धियाले पारवहन सन्धिबारे भारत सरकार जानकार भए–नभएको तथा यसबाट नेपाल–भारत सम्बन्धमा के प्रभाव पर्छ भन्दै प्रश्न गरेका हुन् ।



लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारिएको नक्सा समावेश भएको पुस्तक वितरणमा सरकारबाटै अवरोध सिर्जना भएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीका लागि यो प्रकाशन गरेको छ, तर यो पुस्तक तत्काल वितरण नगर्नू भनेर प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। 



मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो। ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। विपद् पुननिर्माण प्राधिकरणले बजेट परिचालन गर्ने उनको भनाइ छ। 



सरकारले अध्यादेशमार्फत् फौजदारी अपराध संहिता संशोधन गरेर तेजाब आक्रमणसम्बन्धी कसुरमा कठोर सजाय निर्धारण गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते एसिड आक्रमणका पीडितसँग सामूहिक छलफल गरेर १५ दिनभित्र कडा कानुन ल्याउने आश्वासन दिएका थिए। र मातहतका निकायलाई निर्देशन पनि दिएका थिए।



सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको नयाँ मिति तोकेको छ। बुधबार असोज १ र ६ गते बसेको मन्त्रिपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निजामति कर्मचारीको आधारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय गरेको जानकारी दिए।



सरकारले नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोली स्वीकृत गरेको छ। 

असोज १ गते ६ गते बसेको मन्त्रिपरिषद्‌का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनको व्यापार प्रबर्द्धन लागि बैठक फलदायी हुने बताए। त्यसैगरी सरकारले नेपाल र चीन दुई देशका महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ।

सम्बन्धित :

  • नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न राजदूत अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। सम्झौतापछि सरकारी तवरबाट जाने नेपाली कामदारहरुले त्यहाँका नागरिक सरह सुविधा र संरक्षण प्राप्त गर्नेछन्। 
  • त्यसैगरी हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुर्नस्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा ५ हजार डलर सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ। 


देशभर अधिकांश स्थानमा आगामी तीन दिनसम्म मौसम बदली भई मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले एक सूचना जारी गर्दै नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको जनाएको छ। 



संयुक्त राष्ट्रसंघको यस वर्षको महासभा अपूर्व महासभा बनेको छ। कोरोना भाइरस महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा भएको हो। महासभामा सहभागीहरू नआउने र उनीहरूले भिडियोमार्फत सम्बोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान छ।



भारतमा कोरोना भाइरस संक्रमित बढिरहे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालय स्थानीय प्रशासनले खुला गरेको छ। गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनसँगै पर्यटकीय स्थल ताजमहल पनि बन्द भएको थियो।



अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकुहरूले भीषण हमला गरेका छन्। तालिबानी सशस्त्र लडाकुहरूले गरेको सो हमलाबाट २१ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन्। 

उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानमा उनीहरूले हमला गरेका हुन्। ती हमलामा परी १७ जना तालिबानी लडाकु नै मारिएका बताइएको छ । साथै चारजना प्रहरी पनि मारिएका छन्।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक