आज कोरोनाको पछिल्लो वस्तुस्थिति, कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सातै प्रदेशमा एन्टिबडी परीक्षण गरिने, आजदेखि सोह्रश्राद्ध (पितृपक्ष) सुरु, घरघरै दिवंगत आफन्तको श्राद्ध गरिँदै, श्रीलंकाले अर्को वर्ष बिमस्टेकको शिखर सम्मेलन गर्ने, कोरोनाविरुद्धको खोप विकास र वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने, खमेर रुज जेलका कमान्डर ‘कामरेड डच’ को मृत्यु लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
बुधबार १,१२० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१,६४९ पुगेको छ भने मृत्यु हुनेको संख्या २५१ पुगेको छ।
हालसम्म नेपालमा २३,२९० जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ७,१८,४३९ => क्वारेन्टाइनमा : ६,७७६
सम्बन्धित :
कोरोना भाइरस नियन्त्रणका लागि भएका निर्णयहरू :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई बनाउने कि डा. युवराज खतिवडालाई निरन्तरता दिनेलगायतका विषयमा छलफल भएको थियो।
रौतहटको माधवनारायणस्थित नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेकामा नरेश राउत पटेल र बालकुमार पटेल छन्। पुजारीले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।
पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस÷कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ।
नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो।
वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन नेपाली दूतावासबाट प्रमाणित भएको रोजगार दाता कम्पनीको नो अब्जेक्सन लेटर (एनओसी) बुझाउनु पर्ने भएको छ।
बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय ताहाचलले गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिनका लागि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको 'नो अब्जेक्सन लेटर' नेपाली राजदूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने बताएको हो।
असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवंगत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ।
मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवंगतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ। यसपटक भने कोभिड– १९ महाव्याधिको संक्रमण छल्न मिथिला क्षेत्रमा जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरूले तयारी गरेका छन्।
भारतले पब्जीसहित १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ। लद्दाखमा केही दिनयता भारत र चीनबीच तनाव सुरु भएपछि भारतले डाटा सुरक्षाको कारण देखाउँदै थप एक सयभन्दा बढी एप्सहरुमाथि प्रतिबन्ध लगाएको हो।
श्रीलंकाले सन् २०२१ मा बिमस्टेकको पाँचौं शिखर सम्मेलन गर्ने तयारी गरेको छ।
सोहि तयारी अनुसार अर्को वर्षको सुरुआतमा बिमस्टेक मुलुकका परराष्ट्र मन्त्री स्तरीय बैठक हुने भएको छ। नेपालले सन् २०१८ मा काठमाडौंमा विमस्टेकको चौथो शिखर सम्मेलन गरेको थियो।
भारतीय राष्ट्रिय कंग्रेसका नेताहरूलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन एक केन्द्रीय मन्त्रीले सुझाब दिएका छन्। कंग्रेस पार्टीमा उनीहरूको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाब दिएका हुन्। कंग्रेसका वरिष्ठ नेताहरू गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने उनको भनाइ छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अगुवाइमा हुन लागेको कोरोनाविरुद्धको खोपको खोजी, उत्पादन र समान वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने बताएको छ।
विश्व स्वास्थ्य संगठन भएकै कारण अमेरिका कोरोनाविरुद्धको खोप विकास र वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने ट्रम्प प्रशासनले जनाएको छ।
यस आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको अर्थतन्त्र ऐतिहासिक रूपमा २४ प्रतिशतले संकुचनमा गएको छ। अप्रिलबाट शुरु हुने भारतको आर्थिक वर्ष २०२०–२१ को जुनसम्मका तीनमध्ये दुई महिनामा लकडाउन रहेकाले अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले खुम्चिएको त्यहाँको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ।
सिंगापुरका प्रधानमन्त्री ली हिसियन लुङले कोरोना भाइरस प्रकोपको सामना गर्न सरकारबाट गरेको गल्ती स्वीकार गर्दै माफी मागेका छन्।
यीमध्ये महामारीका समयमा भएको एउटा त्रुटि आप्रवासी कामदारहरूसँग सम्बन्धित रहेको जनाइएको छ। महामारीका समयमा समेत एकै कोठामा २० जनाभन्दा बढीलाई राखिएका कारण पनि कोरोना फैलिएको बताइएको छ।
कोभिड-१९ महामारीको घरेलु मामिला घटे पनि बाहिरी मुलुकबाट भित्रिनेको संख्या यथावत् रहेपछि चीनको नागरिक उड्डयन ब्युरोले अन्तर्राष्ट्रिय हवाई उडानमा अझै कडाइ गर्न थालेको छ।
ब्युरोले अन्तर्राष्ट्रिय हवाई उड्डयनका प्रतिउडानमा यात्रुको संख्या ७५ प्रतिशतभन्दा कम हुनुपर्ने नियम जारी गरेको हो। साथै हरेक एअरलाइन्स कम्पनीले सबै यात्रुको कडाइका साथ स्वास्थ्य परीक्षण गर्नुपर्ने आदेश पनि ब्युरोले दोहोर्याएर दिएको छ।
कम्बोडियाको भूतपूर्व खमेर रुज शासकनकालमा कमान्डर रहेका ‘कामरेड डच’ को बुधबार मृत्यु भएको छ। कम्बोडियामा खमेर रुज समूहले सत्ता चलाएका बेला ‘कामरेड डच’ कुख्यात ‘तुओल स्लेङ’ जेलका जेलर रहेका थिए। जहाँ कम्तीमा १४ हजार कम्बोडियाली नागरिकको नरसंहार भएको थियो।