आज कोरोनाको पछिल्लो वस्तुस्थिति, काठमाडौं उपत्यकामा लकडाउन एक साता लम्बियो, कीर्तिमानी एथलेटी चन्द्रकला लामगादेमाथि कुटपिट, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीको पक्षमा विवेकशील नेपाली दल, चुनावमा धाँधली गर्न विपक्षीहरू लागिपरेका ट्रम्पको दाबी, हङ्कङका प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
बुधबार ८५५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४,४१८ पुगेको छ भने मृत्यु हुनेको संख्या १७५ पुगेको छ।
हालसम्म नेपालमा १९,५०४ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR परिक्षण : ६,३५,२५२ => क्वारेन्टाइनमा : ९,८३२
सम्बन्धित :
कोरोना नियन्त्रणसम्बन्धित गतिविधिहरू :
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन्।
मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बर्दिवास खण्डको निर्माणमा रुस सरकारले लगानीसहित सहकार्य गर्नेबारे छलफल भएको थियो ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन्। उनले आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ लिएको वा पद पाएको भन्ने सूचना सही नभएको दावी गरेका छन्।
तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा आफू नजरबन्दमा रहेका बेला घरको पानीटंकीमा पैसा लुकाएको भनी लाञ्छना लगाइएको भन्दै उनले अहिले पनि त्यही विषयलाई उछालिएकोमा आपत्ति जनाउँदै तिनलाई ‘शाही शासनका तिनै दुष्ट मतियार’ भनी टिप्पणी गरेका छन् ।
आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि झापामा कुटपिट भएको छ। मेचीनगर–१३ चारआलीका पूर्व सेना दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठले लामगादेलाई जातीय गालीगलौज गर्दै सोमबार राति निर्घात कुटपिट गरेका हुन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो। कालीमाटीलाई केन्द्रबिन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।
विवेकशील नेपाली दलले राष्ट्रपति र प्रदेशका मुख्यमन्त्रीको चयन प्रत्यक्ष निर्वाचित प्रणालीबाट हुनुपर्ने एजेन्डाका साथ अघि बढ्ने जनाएको छ।
दलले गतिशील लोकतान्त्रिक बहुलवादलाई दलको दर्शन मान्ने जनाएको छ । त्यसैगरी सहभागितामूलक लोकतन्त्र, गतिशील मध्यमार्ग, दिगो आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्याय गरी चारखम्बे सिद्धान्तलाई आधार बनाएर अघि बढ्ने विवेकशीलले जनाएको छ।
आर्जेन्टीनाका फुटबल खेलाडी लिओनेल मेस्सीले आफ्नो सम्पूर्ण व्यावसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्।
उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेका उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताएका छन्।
वैज्ञानिकहरूले गरेको एक अध्ययनमा यूकेमा हजारौँ मानिसहरू अस्पतालबाटै कोरोनाभाइरस सङ्क्रमित भएका हुनसक्ने देखिएको छ।
किङ्स कलेज लण्डनले यूकेका १० अस्पताल अनि इटलीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहाँ उपचाररत प्रत्येक आठमध्ये एक बिरामीमा अस्पतालमै सङ्क्रमण भएको पाइएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा धाँधली गर्न विपक्षीहरू लागिपरेको दाबी गरेका छन् । रिपब्लिकन दलले दोस्रो कार्यकालका निम्ति उनको उम्मेदवारी निश्चित गरेलगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए । यद्यपि, रिपब्लिकन दलको राष्ट्रिय सम्मेलनमा उनले सम्बोधन गर्दै पूर्वनिर्धारित कार्यक्रम भने थिएन ।
सरकार विरोधी प्रदर्शन गरेको र प्रजातन्त्रको समर्थन गरेको आरोपमा हङ्कङमा प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ परेका छन्। बेइजिङका आलोचकसमेत रहेका मिडिया सञ्चालक 'जम्मी लाई' लाई पक्राउ परेको दुई सातापछि सांसदलाई पक्राउ गरिएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनले अधिकारीहरुलाई कोरोना महामारी र टाइफूनले ठूलो खतरा निम्त्याउनसक्ने चेतावनी दिँदै यसबाट जोगिनका लागि तयारी गर्न निर्देशन दिएका छन् ।
उनको स्वास्थ्यसम्बन्धी विभिन्न अनुमानहरु गरिएकाबेला पार्टी बैठकमा उपस्थित किमले उत्तर कोरियाली अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
अमेरिकी पहिलो महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसबाट रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै जातीय सद्भावका लागि अपिल गरेकी छन् ।
विस्कन्सिनमा पछिल्लो समय गोली हानी मारिएका २९ वर्षीय काला जातिका युवक ज्याकोब ब्लेक घटनाले निम्ताएको जातीय दमनविरुद्ध भइरहेको प्रदर्शनमा प्रहरीमाथि प्रदर्शनकारीहरुको निरन्तरको आक्रमण भइरहेका बला उनले 'हिंसा र लुटपाट बन्द गर्न' अपिल गरेकी हुन् ।
इजरायलमा पुरातात्विक खोजीका लागि स्वयमसेवकका रपमा काम गरेका एक युवाले ११०० वर्ष अगाडिका ४२५ वटा सुन(८४५ ग्राम तौल)का सिक्का जमिनमा गाडिएको अवस्थामा फेला पारेका छन्। ती सिक्काहरु इस्लामिक कालको भएको बताइएको छ।