साढे २ लाख बीमा अभिकर्ता मध्ये आधाले गराएनन् लाइसेन्स नवीकरण, संघले भन्यो- 'मन्दीको पनि असर'

काठमाडौं । नेपाल बीमा प्राधिकरणका Nepal Insurance Authority अनुसार चैत मसान्तसम्ममा १ लाख १६ हजार ६३८ बीमा मध्यस्थकर्ता (अभिकर्ता)ले अनुमतिपत्र (लाइसेन्स) Agent License नवीकरण  Renew  गराएका छन् । नवीकरण गराउनुपर्ने कुल अभिकर्तामध्ये ५२ दशमलव ५८ प्रतिशतले लाइसेन्स नवीकरण गराएका हुन् । प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार नेपालमा बीमा अभिकर्ताको संख्या २ लाख ६४ हजार ५२६ छ । गत कात्तिक २२ गते जारी भएको बीमा ऐन २०७९ को व्यवस्थाअनुसार नयाँ अभिकर्ताले प्रत्येक ३ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्छ । कात्तिक २२ अघि नै लाइसेन्स लिएका अभिकर्ताको हकमा बीमा ऐन २०४९ मा भएको व्यवस्थाअनुरूप चैत मसान्तसम्ममा नवीकरण गर्नुपर्छ ।  प्राधिकरणका अनुसार बीमा ऐन २०७९ लागू हुनुअघि लाइसेन्स लिएका अभिकर्ताको संख्या २ लाख २१ हजार ८१५ छ । बीमा ऐन २०४९ मा भएको व्यवस्थाअनुरूप नै यी अभिकर्ताले चैत मसान्तसम्ममा लाइसेन्स नवीकरण गर्नुपर्छ । तर, चैत मसान्तसम्ममा ५२ दशमलव ५८ प्रतिशत अभिकर्ताले मात्रै लाइसेन्स नवीकरण गराएका छन् ।  पेशागत बीमा अभिकर्ता संघ नेपालका Association of Professional Insurance Agents अध्यक्ष नन्दप्रसाद तिवारी धेरैजसो अभिकर्तालाई अनलाइनबाटै नवीकरण गर्नुपर्छ भन्ने थाहा नभएकाले आधाले मात्रै नवीकरण गरेको बताउँछन् । ‘धेरैजसो अभिकर्तालाई अनलाइनबाट नवीकरण गर्नुपर्छ भन्ने थाहा नै छैन । नवीकरण गर्न खोज्दा प्राधिकरणको सर्भर बारम्बार डाउन हुने गरेकाले अनलाइनबाट नवीकरण गर्न चाहेका अभिकर्ताले पनि समयमा नवीकरण गर्न नपाएको अवस्था छ,’ उनले भने ।  तिवारीको अनुमानमा अहिलेको आर्थिक मन्दीको अप्रत्यक्ष असर अभिकर्ताको नवीकरणमा पनि परेको छ । उनी भन्छन्, ‘अहिले व्यवसाय नै ठप्प भएकाले धेरैजसो अभिकर्ता नवीकरण गर्न इच्छुक नभएको पनि पाइन्छ । त्यसका साथै कतिपय अभिकर्ताले लाइसेन्स मात्र लिएर पनि बस्नुभएको छ ।’ प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले एक अभिकर्ता एक बीमा कम्पनी नीति लागू भएसँगै लाइसेन्स नवीकरण गर्ने अभिकर्ताको संख्या घटेको बताए । ‘कतिपय अभिकर्ताले विगतमा पनि अभिकर्ताको लाइसेन्स लिने, नवीकरण नगर्ने गरेको पाइन्छ,’ उनले भने । धेरैजसो अभिकर्तालाई अनलाइनबाट नवीकरण गर्नुपर्छ भन्ने थाहा नभएकाले कम अभिकर्ताले मात्र लाइसेन्स नवीकरण गरेको गुनासो छ नि भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘अनलाइनमार्फत नवीकरण गर्नुपर्ने जानकारी प्राधिकरणको वेबसाइटमा पनि राखिएको छ । त्यसका साथै अभिकर्तासँग बीमक प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । र अनलाइनमार्फत नवीकरण गर्नुपर्ने विषय प्रत्येक बीमकलाई हामीले जानकारी पनि गराएका छौं ।’ प्राधिकरणको सर्भरमा समस्या आउने गरेको अभिकर्ताको गुनासोको विषयमा अधिकारी ‘नयाँ प्रविधि भएकाले कहिलेकाहीँ समस्या आएको हुनसक्ने’ बताउँछन् । तर, त्यस्ता समस्या देखिएपछि प्राधिकरणले सिस्टममा आवश्यक सुधार पनि गर्दै लगेको उनले बताए ।  अधिकारीका अनुसार चैत मसान्तसम्म लाइसेन्स नवीकरण नगराएका अभिकर्ताले वैशाख र जेठमा सय रुपैयाँ थप दस्तुर तिरेर नवीकरण गराउन पाउनेछन् । उक्त अवधिमा पनि नवीकरण नगरेकाले असोज मसान्तसम्ममा प्रतिदिन ५ रुपैयाँ थप दस्तुर तिरेर नवीकरण गर्न पाउनेछन् । असोज मसान्तसम्ममा पनि नवीकरण नभएका लाइसेन्स स्वतः खारेज हुन्छन् ।

सम्बन्धित सामग्री

असार मसान्तसम्म नवीकरण नगरे बीमा अभिकर्ताको लाइसेन्स खारेज हुने

काठमाडौँ । यही असार मसान्त भित्र लाइसेन्स नवीकरण नगरे बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स खारेज हुने भएको छ । बीमा प्राधिकरणले एक सूचना जारी गर्दै असार मसान्त भित्र नवीकरण गर्न आग्रह गरेको छ। गत कात्तिक २१ गतेभन्दा अघि दर्ता भएका तथा नवीकरण भएका सम्पूर्ण सर्भेयर र तथा बीमा अभिकर्ताले यही असार मसान्तभित्र नवीकरण गरिसक्नु पर्नेछ […]

बीमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । यो व्यवस्था वैशाखदेखि लागू हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ । बिमा प्राधिकरणले […]

फागुन २२ भित्र नवीकरण नगरे बीमा अभिकर्ता लाइसेन्स खारेज हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले फागुन २२ भित्र बीमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न निर्देशन दिएको छ । अभिकर्ताले लाइसेन्स नवीकरण गर्न अटेर गरेपछि प्राधिकरणले अन्तिम समय दिएको छ । प्राधिकरणले पटक-पटक निर्देशन दिए पनि अभिकर्ताहरुले नवीकरण गर्न अटेर गर्दै आएका छन् । बीमा ऐन २०७९ को दफा ९१ (७) मा बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान […]