बीमा अभिकर्ताको लाइसेन्स नवीकरण न्यून, म्याद सकिनुभन्दा ११ दिन अघिसम्म १६ % को मात्रै

काठमाडौं । चैत १९ गतेसम्ममा १६ प्रतिशत जति मात्रै बीमा मध्यस्थकर्ता (अभिकर्ता)ले अनुमतिपत्र (लाइसेन्स) नवीकरण गराएका छन् । नेपाल बीमा प्राधिकरणले दिएको जानकारीअनुसार आइतवार कार्यालय समयसम्ममा लाइसेन्स नवीकरण गराउने अभिकर्ताको संख्या ३५ हजार छ । यो लाइसेन्स नवीकरण गराउनुपर्ने कुल अभिकर्ता संख्याको १५ दशमलव ७८ प्रतिशत हो ।  पर्याप्त संख्यामा बीमा अभिकर्ताले लाइसेन्स नवीकरण नगराएको र बीमकको प्रथम बीमा शुल्क घटेको तथ्यांकले यो व्यवसाय पनि सहज स्थितिमा नरहेको संकेत गर्छ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू भने अर्थतन्त्रको अवस्थाले अन्य क्षेत्रमा झैं बीमा व्यवसायमा पनि केही असर गरेको तर आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् ।  प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार नेपालमा बीमा अभिकर्ताको संख्या २ लाख ६४ हजार ५२६ छ । गत कात्तिक २२ गते जारी भएको बीमा ऐन २०७९ को व्यवस्थाअनुसार नयाँ अभिकर्ताले प्रत्येक ३ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्छ । कात्तिक २२ देखि चैत १९ सम्म अभिकर्ताको नयाँ लाइसेन्स लिनेको संख्या ४२ हजार ७११ छ । त्यसअघि नै लाइसेन्स लिएका अभिकर्ताले बीमा ऐन २०४९ मा भएको व्यवस्थाअनुरूप नै नवीकरण गर्नुपर्छ ।  बीमा ऐन २०४९ मा अभिकर्ताले प्रत्येक वर्षको चैत मसान्तसम्ममा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । त्यसैले बीमा ऐन २०७९ लागू हुनुअघि लाइसेन्स लिएका अभिकर्ताले चैतसम्ममा नवीकरण गर्नुपर्छ । यसआधारमा नविकरणको म्याद सकिन ११ दिन बाँकी रहँदा ८४ प्रतिशतभन्दा बढीको लाइसेन्स नविकरण हुन बाँकी छ ।  प्रधिकरणका अनुसार अघिल्लो वर्ष लाइसेन्स नवीकरण गराउने अभिकर्ताको संख्या १ लाख ४७ हजार २०० थियो । यस्तै चालू वर्षको कात्तिक २२ सम्म ७४ हजार ६१५ अभिकर्ताले नयाँ लाइसेन्स लिएका थिए । यससँगै बीमा ऐन २०७९ लागू हुनुअघि लाइसेन्स लिएका २ लाख २१ हजार ८१५ अभिकर्ताले चैतसम्ममा लाइसेन्स नवीकरण गराउनुपर्छ ।  चैतभित्र नवीकरण नगर्ने अभिकर्ताले बीमा ऐन २०७९ को व्यवस्थाअनुसार प्राधिकरणमा नवीकरण गराउन नसक्नुको कारणसहित निवेदन दिनुपर्छ । प्राधिकरणले उक्त निवेदन जाँचबुझ गर्दा बेहोरा उचित देखिए नवीकरणको म्याद ३ महीनासम्म थप्न सक्छ । अभिकर्ताले उक्त अवधिमा पनि नवीकरण नगराए लाइसेन्स स्वतः खारेज हुनेछ ।  नेपाल बीमा प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेल विगतमा पनि धेरैजसो अभिकर्ताले चैत अन्तिमतिर मात्रै नवीकरण गर्ने गरेकाले यसपालि पनि त्यो बेलासम्ममा संख्या बढ्ने बताउँछन् । ‘अभिकर्ताको संख्या घट्दा त्यसको प्रत्यक्ष असर बीमा व्यवसायमा पर्छ नै । तर, प्राधिकरणको धारणा बीमकहरू अभिकर्ताको संख्याभन्दा गुणस्तरमा केन्द्रित हुनुपर्छ भन्ने हो,’ उनले भने ।  युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण धेरैजसो अभिकर्ताले चैत अन्तिममा मात्रै नवीकरण गर्ने गरेको बताउँछन् । ‘एजेन्ट भएनन् भने व्यवसायमा असर पर्छ नै । तर, नवीकरण गर्न अझै केही साता बाँकी छ,’ उनले भने ।  तरलता अभाव, बढ्दो ब्याजदर लगायतको असर अन्य क्षेत्रमा झैं बीमा व्यवसायमा पनि परेको र अर्थतन्त्रमा सुधार आएसँगै यो क्षेत्रमा पनि सुधार आउने उनको अपेक्षा छ । 

सम्बन्धित सामग्री

असार मसान्तसम्म नवीकरण नगरे बीमा अभिकर्ताको लाइसेन्स खारेज हुने

काठमाडौँ । यही असार मसान्त भित्र लाइसेन्स नवीकरण नगरे बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स खारेज हुने भएको छ । बीमा प्राधिकरणले एक सूचना जारी गर्दै असार मसान्त भित्र नवीकरण गर्न आग्रह गरेको छ। गत कात्तिक २१ गतेभन्दा अघि दर्ता भएका तथा नवीकरण भएका सम्पूर्ण सर्भेयर र तथा बीमा अभिकर्ताले यही असार मसान्तभित्र नवीकरण गरिसक्नु पर्नेछ […]

बीमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । यो व्यवस्था वैशाखदेखि लागू हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ । बिमा प्राधिकरणले […]

फागुन २२ भित्र नवीकरण नगरे बीमा अभिकर्ता लाइसेन्स खारेज हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले फागुन २२ भित्र बीमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न निर्देशन दिएको छ । अभिकर्ताले लाइसेन्स नवीकरण गर्न अटेर गरेपछि प्राधिकरणले अन्तिम समय दिएको छ । प्राधिकरणले पटक-पटक निर्देशन दिए पनि अभिकर्ताहरुले नवीकरण गर्न अटेर गर्दै आएका छन् । बीमा ऐन २०७९ को दफा ९१ (७) मा बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान […]