राजनीतिक हस्तक्षेपको असर : रू. २८ करोड नाफामा रहेको विराटनगर जुट मिलको रू. ५ अर्बभन्दा बढी ऋण

विराटनगर । मुलुककै पहिलो विराटनगर जुट मिलले कुनै समय वार्षिक २८ करोडसम्म नाफा कमाउँदै आएको थियो । २०४६ सालपछि राजनीतिक हस्तक्षेप र दलका आप्mना मानिसको भर्तीकेन्द्र बनेपछि अहिले यो मिल बन्द छ । नाफा कमाउँदै आएको जुट मिलको नाममा अहिले रू. ५ अर्ब भन्दाबढी ऋणमा छ । मिलका तत्कालीन प्रशासन अधिकृत तारानाथ तिम्सिनाका अनुसार विभिन्न वित्तीय संस्था र कामदार कर्मचारीको गरी मिलले रू. ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी छ । बन्द रहेको विराटनगर जुट मिलको हालको अवस्थामा ५ अर्ब ४ करोड २० लाख रुपैयाँ ऋणको भार देखिन्छ । तिम्सिनाका अनुसार हाल मिलको नाममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र उदयपुर सिमेन्ट कारखानालगायत वित्तीय संस्थाको ऋण छ । मिलले २०३८ सालदेखि गतवर्षसम्मको १६ करोड रुपैयाँ कर तिर्न बाँकी छ । त्यसैगरी १ करोड रुपैयाँ मालपोत र हालका सबै कामदारको अहिलेसम्मको पारिश्रमिक २ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । तत्कालीन प्रशासन अधिकृत तिम्सिनासहित १४ जनाले २०७३ जेठदेखि २०७५ असारसम्मको पारिश्रमिक पाएका छैनन् । त्यस्तै २०७३ जेठदेखि २०७५ असारसम्मको पारिश्रमिक नपाउनेमा अफिसियल डाइरेक्टर राजेन्द्र कार्की, सचिवालय अधिकृत युगेश काफ्ले, लेखापाल रमा ज्ञवाली, राउन्डर दीनानाथ सिंह, इलेक्ट्रिसियन जितेन्द्र मण्डल सहित ११ जना छन् । मिलका अध्यक्ष वनले नियुक्त गरेका कम्पनी सचिव केशवप्रसाद आचार्यलगायत २१ जनाले पनि २०७५ वैशाखदेखि २०७६ असार मसान्तसम्मको पारिश्रमिक पाएका छैनन् । यो बीचमा सरकारले २०६६ साल पुसमा ५६ करोड रुपैयाँ निकासा गरेर मिलका कर्मचारी र कामदार गरी २ हजार ५०० जनालाई अवकाश दिएको थियो । मिलमा ५९ जना करारका कर्मचारी अझै छन् । तिम्सिनाका अनुसार उनीहरूले २०७३ यताको पारिश्रमिक पाउन बाँकी छ । विराटनगरमा विसं १९९३ मा विराटनगर जुट मिल स्थापना भएपछि मुलुकमा औद्योगिक गतिविधि शुरू भएर निर्यात व्यापारको ढोका खुलेको इतिहास छ । यही मिल प्रजातन्त्र प्राप्तिका लागि शुरुआती आन्दोलन गर्ने थलोका नामले पनि चिनिन्छ । मुलुकमा प्रजातन्त्र आयो तर त्यसयता मिलले आप्mनो अस्तित्व नै गुमायो । यसको अर्बौंको सम्पत्ति अहिले बेवारिसे अवस्थामा छ । सरकारको ६८ प्रतिशत स्वामित्व रहेको यो उद्योग सरकारी उदासीनता र राजनीतिक भर्ती केन्द्रमा परिणत भएकाले पनि अस्तित्व विलीन हुन पुगेको हो । उद्योगका अधिकांश मेशिन र पाटपुर्जा खिया लागेर कामै नलाग्ने भएका छन् भने केही मेशिन चोरीसमेत भएको छ । मिलको अर्बाैंको अचल सम्पत्ति बेवारिसे अवस्थामा छ । २०४८ सालयताका सरकार बनेसँगै सञ्चालक समिति फेरिने र मिललाई राजनीतिक भर्तीकेन्द्रका रूपमा प्रयोग गर्दा मिलकोे अस्तित्व गुमाउन शुरू भएको पाइएको छ । त्यसयता नियुक्त भएका मिल सञ्चालक समितिले मिल चलाउनेभन्दा मिलको नाममा आर्थिक भार थप्ने काम मात्र गरेको पाइएको छ । पञ्चायतयता मिल सञ्चालनको नाममा ३ दशकमा १८ जना सञ्चालक समितिको अध्यक्ष बने । दशकदेखि पूर्णरूपमा बन्द यो मिल गत वैशाखदेखि सञ्चालक समितिविहीन छ । मिलका तत्कालीन प्रशासन अधिकृत तारानाथ तिम्सिनाका अनुसार २०४८ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि मिलको अवस्था खस्किन शुरू भएको हो । उनका अनुसार पञ्चायतको अन्तिमताका मिल व्यवस्थापन समितिको अध्यक्ष जयाराज्य लक्ष्मी शाह थिइन् । मिल २०५२ साल अगाडि सम्म वार्षिक करीब २८ करोड नाफामा थियो । उनका अनुसार त्यसबेला मिलले दैनिक ४५ टन जुटका तयारी सामान उत्पादन गर्दै आएको थियो । मिल राजनीतिक भर्ति केन्द्रमा परिणत भएपछि उत्पादन घटेर दैनिक २० टनमा झरेको थियो । विराटनगर जुट मिल बचाउ अभियानका अध्यक्ष धर्मानन्द सन्जेलले संरक्षणको अभावमा मिल बेवारिसे अवस्थामा रहेको बताए । सञ्चालक समितिसमेत नभएको अवस्थामा यसको संरक्षणको दायित्वबाट सरकार पन्छिएपछि त्यहाँ भित्र रहेका महत्त्वपूर्ण मेशिन हराउँदै गएका छन् । मिलको ९३ हजार ७ सय ५० कित्ता शेयरमध्ये सरकारको नाममा ३१ हजार २३ कित्ता र सर्वसाधारणको नाममा ६२ हजार ७ सय २७ कित्ता शेयर छ । तर, सरकार नै मिलको वर्तमान र भविष्यप्रति उदासीन रहेको सन्जेलको भनाइ छ । यो जुट मिलको नाममा अहिले पनि ६९ बिगाहा जमीन छ । मिल बचाउ अभियानले महानगर, प्रदेश सरकार र संघीय सरकारसमक्ष मिलको सम्पत्ति र उपकरण संरक्षणका लागि आग्रह ग¥यो तर तीनओटै निकायले वास्ता नगरेको सन्जेलको गुनासो छ ।

सम्बन्धित सामग्री

उद्योग बन्दबाट परेको असर

देशको आर्थिक विकासमा उद्योगको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ । उद्योगबाट नै रोजगारी सृजना हुनुका साथै आर्थिक विकास पनि हुन्छ । पछिल्लो समय नेपालको लामो र गौरवमय इतिहास बोकेको जुद्ध सलाई कारखानाको लिलामीमा विक्री भएको छ । राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जबराले स्थापना गरेका सलाई कारखाना २०७९ माघ ३ गते बाट विधिवत् रूपमा पहिचान मेटिएको छ । हाल विराटनगर १६ स्थित देशकै पुरानो उद्योग जुद्ध सलाई कारखानाको भवन भत्काउन थालिएको छ । सन् १९९५ सालमा स्थापना गरिएको जुद्ध सलाई कारखाना नेपाल बैंकले लिलामी गरेपछि झन्डै ८५ वर्ष पुरानो उद्योगको पहिचान नै मेटिन गएको छ । जुद्ध शमशेरले त्यस बेला कृषि स्कूल, उद्योग परिषद्, विराटनगर जुट मिल, जुद्ध सलाई कारखाना, कटन मिल तथा अन्य घरेलु उद्योगहरूको स्थापना गरेका थिए । उनले विसं १९९४ साल कात्तिक ७ गते नेपाल बैंक लिमिटेडको स्थापना गरी रू. १०० रू. १० रू. ५ को कागजी नोट प्रचलनमा ल्याएका थिए । हाल विराटनगर १६ स्थित देशकै पुरानो उद्योग जुद्ध सलाई कारखानाको भवन भत्काउन थालिएको छ । सन् १९९५ सालमा स्थापना गरिएको जुद्ध सलाई कारखाना नेपाल बैंकले लिलामीमा राख्दा व्यापारिक समूहले सकार गरेपछि झन्डै ८५ वर्ष पुरानो उद्योगको पहिचान नै मेटिन गएको छ । स्थापनाको हिसाबले नेपालको पहिलो सलाई कारखाना जुद्ध हो । तर, यसको दर्ता भने विसं २००२ सालमा मात्र भएको थियो । यो उद्योग परिसरभित्र सात बिगाहा १६ कट्ठा १३ धुर जग्गा रहेको थियो । संयोग नै मान्नुपर्छ कि नेपाल बैंकको स्थापना गर्ने व्यक्ति पनि उनै थिए । सलाई कारखाना अन्तिममा लिलाम विक्री पनि त्यही बैंकमार्फत भएको छ । उद्योगमा त्यसबेलाको १० जना मजदूर अहिले पनि आफ्नो श्रमको रकम पाइन्छ कि भन्ने आशामा रहेका छन् । उक्त उद्योग परिसरमा अहिले चार परिवार रहेका छन् । अब भने जुद्ध सलाई कारखानामा काम गरेको सम्झना मात्र बाँकी रहने भयो । किनभने जग्गा बैंकको लिलामी निजी कम्पनीले सकारेपछि सलाई कारखानाको इतिहास मात्र जीवित रहेको छ । सलाई उद्योग २०६१ पछि बन्द भएको थियो । यसपछि उद्योगको शेयर विक्री गरियो र शेयरको ५१ दशमलव ३७ प्रतिशत अंश कम्पनीका अध्यक्ष सुरेन्द्रलाल सुवालले लिएका थिए । विसं २०६२ जेठमा सलाई कारखाना फेरि सञ्चालनमा ल्याइएको थियो । तर, त्यो लामो समय चल्न भने सकेन, ३ महीना पनि नबित्दै बन्द भयो । कम्पनीले २०४७ सालमा सलाई कारखानाको जग्गा नेपाल बैंकमा धितो राखेर २३ लाख ४९ हजार २९४ रुपैयाँ ऋण लिएको थियो । तर, बैंकले १ करोड ५९ लाख ७ हजार २५० रुपैयाँ भुक्तानी हुनुपर्ने भन्दै कारखाना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको थियो । यस मुद्दामा बैंकको पक्षमा फैसला भएको थियो । कम्पनीले बैंकको ऋण चुक्ता नगरेपछि नेपाल बैंक ऋण असुली न्यायाधिकरणमा ऋण असुल गर्न गएको थियो । त्यसका आधारमा २०६९ वैशाख ७ गते बैंकको ऋण असुलउपर गर्न कम्पनीको नाममा रहेका जग्गा लिलामी गर्न सक्ने फैसला भएको थियो । फैसलामा कम्पनीलाई २०७० जेठ १७ गतेसम्म ऋण चुक्ता गर्ने म्यादसमेत दिइएको थियो । तर, त्यसभन्दा अगाडि नै बोलपत्रदाता नेपाल बैंक लिमिटेडले जग्गा तथा टहरा लिलामी प्रक्रिया २०७० वैशाख ११ गते शुरू गरेको देखिन्छ ।   लामो समयदेखि कारखानाका बारेमा मुद्दा चल्दै आएको थियो । उक्त कारखानाको जग्गा नै १५ करोडको थियो । त्यसबाहेक कारखानाको मिल, मेशिनरी समान र भवनलगायत संरचना पनि थिए । आज श्रम गर्न तयार रहेका हजारौं व्यक्ति कामको खोजीमा छिमेकी देश भारतलगायत विभिन्न देशमा जाने गरेका छन् । रोजगारी सृजना गर्न सकिने भनेको कारखाना वा उद्योगबाट हो तर हाम्रो देशमा भएका उद्योगहरू पनि विविध कारणले बन्द भएका छन् । हाल चलिरहेका उद्योगहरूको अवस्था पनि सन्तोषजनक देखिँदैन । यसरी हेर्दा हामीले कृषिलाई व्यावसायिक बनाउँदै उद्योगसँग जोड्न सक्नुपर्छ तब मात्र देशको समग्र विकासमा सहयोग पुग्छ । पछिल्लो समय व्यापारघाटा पनि उच्च मात्रामा बढ्दै गएको छ । यसलाई कम गर्न पनि हामीले कृषिलाई व्यावसायिक र रोजगार सृजनाको मुख्य क्षेत्र बनाउन सक्नुपर्छ । आज हजारौं हेक्टर कृषियोग्य जमीन बञ्जर भएर रहेको अवस्था छ । कृषिलाई सम्मानको दृष्टिले हेर्न सकेका छैनांै । हिजोआजकै सन्दर्भलाई नै हेर्ने हो भने पनि विराटनगर, वीरगञ्ज, नवलपरासीलगायत उखु किसानले आफ्नो उत्पादन कौडीको भाउमा उद्योगमा दिनु परेको छ । पहिलेको बक्यौता रकम नै पाएका छैनन् भने फेरि पनि बाध्य भएर उखु बाल्नुभन्दा उधारो दिन विवश रहेका छन् । यता उपभोक्ताले भने चिनी प्रतिकेजी १०० रुपैयाँ तिरेर किनिरहेका छन् । समयमा सरकारले उखुको मूल्य नतोक्दा किसान थप मर्कामा परेका छन् । देशका आममानिसमा साना तथा घरेलु उद्योगमा काम गर्नुपर्छ यसले स्वदेशमा नै रोजगारी पाइन्छ भन्ने विश्वास नभएर पनि समस्या सृजना भएको देखिएको छ । हामीमा एउटा गलत सोचको पनि विकास भएर गएको छ । त्यो के हो भने स्वदेशमा श्रम गर्दा सानो मान्छे भइन्छ भन्ने आमधारणा रहेको पाइन्छ । अरूका देशमा जेजस्ता काम पनि गर्न तयार रहने प्रवृत्तिले पनि श्रम बजार प्रभावित हुने गरेको छ । काम सानो र ठूलो हुँदैन भन्ने सोचको विकास गर्न सक्नुपर्छ । यदि हामीले यस्तो सोचको विकास गरी नेपालमा नै खेती किसानी तथा अन्य आय आर्जनका कार्य गर्ने हो भने अवश्य लाभ हुन्छ । निजीकरणका नाममा २०४६ साल पछिका सरकारले चर्चित र नाफामा रहेका दर्जनभन्दा बढी उद्योग विक्री गर्‍यो । ती उद्योग मुलुकका लागि आर्थिक भार भए पनि तिनले केही मात्रामा रोजगारी दिएका थिए । भएका सरकारी उद्योग बन्द हुनु र निजीक्षेत्रबाट पर्याप्त उद्योग खोल्ने अवस्था नहुनु नै नेपालको रोजगारी कम हुनुको कारण मानिन्छ । त्यसैले उद्योग खोल्न र चलेका उद्योगलाई कसरी चलाउन सकिन्छ भनेर सरकार गम्भीर हुनुपर्ने देखिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

सार्वजनिक संस्थान सुधारको अपेक्षा (सम्पादकीय)

सार्वजनिक संस्थानको कार्यसम्पादन कमजोर छ । अपेक्षित प्रतिफल दिन नसकेका सार्वजनिक संस्थान राज्यका लागि बोझ बन्दै गएका छन् । प्रत्येक सरकारले सार्वजनिक संस्थानको सुधारका प्रयास गरे पनि आशातित सफलता हासिल हुन सकेको छैन । यसै सन्दर्भमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिनुभएको छ । वि.सं. १९९३ मा विराटनगर जुट मिल