बैंकका लगानीकर्ताको प्रतिफलदर घट्दो

काठमाडौं । पूँजी वृद्धिको अनुपातमा व्यवसाय विस्तार नभएपछि बैंकका लगानीकर्ताले पाउने प्रतिफल खुम्चिन थालेको छ ।  कोभिड–१९ महामारी र रूस–युक्रेन तनावको असरले आर्थिक गतिविधि घटेसँगै बैंकहरूमा तरलता अभाव हुँदा व्यवसाय विस्तार हुन सकेको छैन । ब्याजदर, सेवाशुल्कमा नेपाल राष्ट्र बैंकको कडाइ पनि आम्दानी वृद्धिमा अंकुश बनेको देखिएको छ । यही बेला ऋण असुली प्रभावित हुँदा खराब कर्जा बढेर बैंकहरूको पूँजीमा प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) घट्दै गएको हो ।  नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको औसत आरओई १० दशमलव ८ प्रतिशतमा झरेको छ । गत आवमा बैंकहरूको आरओई १३ दशमलव ५१ प्रतिशत थियो । चालू आवमा मात्र आरओई २ दशमलव ७१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार आव २०६७/६८ मा वाणिज्य बैंकहरूको औसत आरओई २६ दशमलव ४१ प्रतिशत थियो ।  संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी बैंकहरूको नाफासँगै लगानीकर्तालाई दिने प्रतिफल पनि घट्दै गएको बताउँछन् । ‘बजारमा बैंकहरूले नाफा कमाए भनेर आलोचना मात्र सुनिन्छ,’ उनले भने, ‘आम्दानीको अधिकांश अंश निक्षेपकर्ता र ऋणीलाई नै प्रदान गरेका कारण लगानीकर्ताले पाउने प्रतिफलदर घटिरहेको छ ।’ कोभिड–१९ महामारी तथा रूस–युक्रेन तनावका कारण पछिल्लो समय तरलताको दबाब झेलेका बैंकहरूले चालू आवमा व्यवसाय विस्तार गर्न सकेनन् । बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत घटेको छ ।  बैंकहरूले प्रकाशित गरेको गत चैतसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूको खुद नाफा औसत ११ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । २० ओटा वाणिज्य बैंकमध्ये सातओटाको नाफा वृद्धि ऋणात्मक छ ।  यसैगरी चैतसम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा पनि ३ दशमलव शून्य ३ प्रतिशत पुगेको छ । गत आवमा बैंकहरूको खराब कर्जा १ दशमलव १० प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा १ दशमलव ८३ र दोस्रो त्रैमासमा २ दशमलव ३५ प्रतिशत पुगेको थियो ।  पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाले लिने ब्याजदर, सेवा शुल्कलगायतमा कडाइ गर्दा उनीहरूको आम्दानी घटिरहेको छ । अन्य व्यवसाय संकटको अवस्थामा पुग्दा पनि बैंकहरूले अधिक नाफा कमाएको भन्दै आलोचना भएपछि राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाबाट स्प्रेडदर घटाउन निर्देशन दिएको छ । निर्देशनअनुसार वाणिज्य बैंकहरूले २०७९ चैतबाट स्प्रेडदर ४ दशमलव २ प्रतिशतमा झारेका छन् । २०८० असारबाट स्प्रेडदर ४ प्रतिशतमा झार्नुपर्ने केन्द्रीय बैंकको निर्देशन छ ।  यसबाहेक बैंकहरूले कर्जा लगानी गर्दा लिने सेवाशुल्क, एटीएम, मोबाइल बैंकिङलगायतको सेवाशुल्क दरहरू पनि नियामकले तोकिदिएको छ । यसले गर्दा बैंकहरूको आम्दानी घटेर प्रतिफल कम हुँदै गएको बैंक सञ्चालकहरू बताउँछन् ।  बैंक सञ्चालकहरूको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पनि बैंकहरूको प्रतिफल दर घट्दै गएको र यसबाट लगानीकर्ता निरुत्साहित हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छ । ‘बजारमा बैंक तथा वित्तीय संस्थाले अचाक्ली नाफा कमाए भनेर प्रचार भइरहेको र त्यसैअनुरूप राष्ट्र बैंकका निर्देशन जारी भएका छन्,’ सिबिफिनले २०७८ पुसमा गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बैंकहरूको पूँजी चार गुणाले वृद्धि भए पनि लगानीकर्ताले पाउने प्रतिफल घट्दै गइरहेको छ ।’ प्रतिवेदनमा २०७३ सालदेखि बैंक, वित्तीय संस्थाको प्रतिफलदर निरन्तर रूपमा घटिरहेको उल्लेख छ । यो चुनौती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार नै ब्याजदर निर्धारण हुन दिन, स्प्रेडदरको सीमा नलगाउन, शुल्कमा सीमा नतोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ ।  राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बैंक तथा वित्तीय संस्थाको प्रतिफलदर घटे पनि निराश हुनुपर्ने अवस्था नभएको बताउँछन् । ‘बैंकहरूको प्रतिफलदर निक्षेपको ब्याजदरभन्दा बढी नै छ,’ उनले भने, ‘यसलाई खराब अवस्थाको रूपमा चित्रण गर्नु हुँदैन ।’ बैंकर अनलराज भट्टराई पनि बैंकहरूको पूँजी वृद्धिको तुलनामा नाफा बढ्न नसक्दा शेयरधनीले पाउने प्रतिफल खुम्चिँदै गएको बताउँछन् । बैंकको लगानीलाई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने र केही समय घट्दैमा आत्तिन नहुने उनको भनाइ छ । महामारी र आर्थिक गतिविधिमा कमी आएका बेला बैंकहरूले पनि उच्च नाफा खोज्नु उचित नहुने उनले बताए ।

सम्बन्धित सामग्री

लघुवित्तको प्रतिफलदर घट्दो

काठमाडौं। लगानीकर्ताका लागि आकर्षक मानिएको लघुवित्त वित्तीय संस्थामा पूँजीको तुलनामा पाउने प्रतिफल खुम्चिन थालेको छ । कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धलगायतको प्रभावले आर्थिक गतिविधिमा कमी आउँदा लघुवित्तको नाफा घटिरहेको छ । ब्याजदर, सेवाशुल्क लगायतमा सीमा तोक्ने नेपाल राष्ट्र बैंकको कदमले पनि लघुवित्तको आम्दानी घटाउनै बल पुर्‍याएको छ । पछिल्लो समयमा ऋण असुलीसमेत कमजोर भई खराब कर्जा बढेपछि लघुवित्तहरूको पूँजीमा प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) घट्दै गएको हो ।  राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा लघुवित्त संस्थाहरुको औसत आरओई ६१ दशमलव ८ प्रतिशत थियो । आव २०७९/८० को चैतमा आइपुग्दा घटेर ५ दशमलव २० प्रतिशत कायम भयो । कोभिड–१९ को प्रभावका कारण २०७६/७७ मा पूँजीको प्रतिफलदर घटे पनि त्यसपछि बढेको थियो । गत आवमा भने आर्थिक गतिविधिमा आएको कमी र लघुवित्तको ऋण नतिर्ने आन्दोलनका कारण खराब ऋण उच्च भएपछि लगानीकर्ताको प्रतिफल घटेको हो ।   आव २०७१/७२ मा ६१ दशमलव ८ प्रतिशत   आव २०७९/८० चैतमा ५ दशमलव २० प्रतिशत लघुवित्तका समस्या र समाधानबारे अध्ययन गर्न गठित समितिले पनि उच्च नाफाका कारण लघुवित्तमा लगानीकर्ता उत्साहित भएको र पछिल्लो समयमा प्रतिफलदर घट्दै गएको औंल्याएको छ । समितिका अनुसार २०७२ देखि २०८० सम्म वाणिज्य बैंकहरूको पूँजीको प्रतिफल औसत १० दशमलव ३० प्रतिशत कायम हुँदा लघुवित्तमा ३० प्रतिशतभन्दा माथि थियो । उक्त प्रतिफलका कारण लगानीकर्ता लघुवित्तमा बढी उत्साहित भएका थिए ।  २०७९ चैतमा आइपुग्दा २० ओटा संस्थाको पूँजीको प्रतिफल ऋणात्मक रहनुले संस्थाहरूको वित्तीय अवस्था बिग्रँदै गएको देखिने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।  बैंक, वित्तीय संस्थाको पहुँचबाहिरका विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउन लघुवित्त शुरू गरिएको थियो । यी संस्थाले ग्राहकसँग चर्को ब्याज लिएको गुनासो बढेसँगै राष्ट्र बैंकले २०७६ सालदेखि ब्याजदरमा सीमा तोक्न थालेको हो । शुरूमा अधिकतम १८ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेकोमा २०७८ देखि ब्याजदरको सीमा १५ प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले यिनीहरूले लिने सेवा शुल्कमा समेत १ दशमलव ५ प्रतिशतको सीमा निर्धारण गरेको छ ।  लघुवित्त सञ्चालकहरुले भने ब्याजदरको सीमा हटाएर आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडर ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था माग गरिरहेका छन् । अध्ययन समितिले पनि बैंक, वित्तीय संस्थामा जस्तै आधारदर लागू गर्न सिफारिश गरेको छ ।  राष्ट्र बैंकबाट अनुमति लिएका लघुवित्त संस्थाको संख्या २०७५ चैतमा हालसम्मकै उच्च ९१ ओटासम्म पुगेको थियो । राष्ट्र बैंकले मर्जर र प्राप्तिमा जोड दिएसँगै २०७९ चैतमा लघुवित्तको संख्या ६३ मा झरेको छ । आव २०७०/७१ देखि २०७८/७९ सम्म लघुवित्तको निष्क्रिय कर्जा कुल कर्जाको ३ प्रतिशतभन्दा कम रहेकोमा २०७९ चैत मसान्तमा ७ दशमलव ४३ प्रतिशत पुगेको छ । अध्ययन समितिले प्रतिफल कमजोर भएमा लघुवित्त वित्तीय संस्था दिगो हुन नसक्ने भन्दै लाभांश वितरणमा १५ प्रतिशतको सीमा तोकेर ब्याजदरको सीमा हटाई स्प्रेडदर लागू गर्न सुझाव दिएको छ ।

बैंकका लगानीकर्ताको प्रतिफलदर घट्यो

काठमाडौं । बैंकहरूले लगानीकर्तालाई दिने प्रतिफल घटेको छ । तरलता अभावले व्यवसाय विस्तार गर्न नसकेका बैंकहरूको उच्च प्रतिस्पर्धा र नियामकीय प्रावधानले आम्दानी खुम्चिन थालेपछि लगानीकर्ताले पाउने प्रतिफल पनि प्रभावित भएको हो । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको पूँजीमा प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) औसतमा ११ दशमलव ७३ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । गतवर्ष यसै अवधिमा बैंकहरूको आरओई १२ दशमलव ४५ प्रतिशत थियो । गत पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १० ओटा बैंकको आरओई घट्दा ११ ओटाको वृद्धि भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । गत पुससम्ममा कृषि विकास बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १०९ प्रतिशत घटेर माइनस १२ करोड ८९ लाख रुपैयाँ कायम हुँदा यसको आरओई पनि नकारात्मक छ । पुसमा सबैभन्दा बढी आरओई एन आई सी एशिया बैंकको २६ दशमलव २५ प्रतिशत छ । गत आवको तुलनामा एन आई सीको आरओई ३ दशमलव ०६ प्रतिशत विन्दुले बढेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यस वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकहरूको नाफा प्रभावित हुँदा प्रतिफलदर घट्दै गएको बताए । ‘बैंकहरूले आफ्नो आम्दानीको अधिकांश अंश निक्षेपकर्ता र ऋणीलाई नै प्रदान गरेका छन्,’ मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैका कारण बैंकहरूको प्रतिफलदर घटिरहेको छ ।’ कोभिड–१९ महामारी तथा रूस–युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूले चालू आवमा व्यवसाय विस्तार गर्न सकेका छैनन् । यस्तै बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ । चालू आवको पुससम्म बैंकहरूको समग्र खराब कर्जा बढेर २ दशमलव २९ प्रतिशत पुगेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकहरूको खराब कर्जा १ दशमलव शून्य ९ प्रतिशत थियो । बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरूले नाफामात्र कमाएको आरोप लाग्ने गरे पनि तथ्यांकमा घटिरहेको बताए । चालू आवको ६ महीनामा बैंकहरूको ब्याज आम्दानी ६८ प्रतिशतले बढ्दा ब्याज खर्च ८४ प्रतिशतले बढेको उनले जानकारी दिए । यस्तै अघिल्लो वर्ष वाणिज्य बैंकहरूले औसत १४ दशमलव ३ प्रतिशत लाभांश वितरण गरेकोमा गत आवमा १० दशमलव ७६ प्रतिशत बराबरमात्र दिन सकेको र आरओई पनि आव २०६९/७० मा २४ दशमलव ४२ प्रतिशतसम्म रहेकोमा उक्त वर्ष ११ दशमलव ७३ प्रतिशतमा सीमित भएको शर्माले बताए । बैंकका लगानीकर्ताको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पनि १ वर्षअघि नै बैंकहरूको प्रतिफल घट्दै गएको र यसबाट लगानीकर्ता निरुत्साहित हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छ । बैंकको अवस्था अध्ययन गरी बुझाइएको प्रतिवेदनमा २०७३ सालदेखि बैंक, वित्तीय संस्थाको प्रतिफलदर निरन्तर घटिरहेको र यो चुनौती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार ब्याजदर निर्धारण हुन दिन, स्प्रेडदरको सीमा नलगाउन, शुल्कमा सीमा नतोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ । सिबिफिनको प्रतिवेदनमा २०६८ सालमा १९ प्रतिशत रहेको बैंकहरूको लगानीमा प्रतिफल २०७३ सालमा २३ प्रतिशत पुगेको थियो । त्यसपछि भने घट्दै २०७७ सालमा १२ प्रतिशतमा झरेको उल्लेख गरिएको छ ।

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

काठमाडौं । बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको थियो । अघिल्लो पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १८ ओटा बैंकहरूको प्रतिफलदर घटेको छ भने नौओटा बैंकको मात्र वृद्धि भएको छ । बैंक सञ्चालकहरूको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पनि बैंकहरूको प्रतिफल घट्दै गएको र यसबाट लगानीकर्ता निरुत्साहित हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छ । ‘बजारमा बैंक तथा वित्तीय संस्थाले अचाक्ली नाफा कमाए भनेर प्रचार भइरहेको र त्यसैअनुरूप राष्ट्र बैंकका निर्देशन पनि जारी भएका छन्,’ सिबिफिनले पुस दोस्रो साता गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बैंकहरूको पूँजी चार गुणाले वृद्धि भए पनि लगानीकर्ताले पाउने प्रतिफल भने घट्दै गएको छ ।’ प्रतिवेदनमा २०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रतिफलदर निरन्तर रूपमा घटीरहेको भन्दै यो चुनौती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार नै ब्याजदर निर्धारण हुन दिन, स्प्रेडदरको सीमा नलगाउन, शुल्कमा सीमा नतोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ । त्यस्तै बैंकहरूको लगानीमा प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) पनि घट्दै गएको छ । सिबिफिनका अनुसार २०६८ सालमा १९ प्रतिशत रहेको यस्तो प्रतिफल २०७३ सालमा २३ प्रतिशत पुगेको थियो । त्यसपछि भने घट्दै २०७७ सालमा १२ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बैंक तथा वित्तीय संस्थाका लगानीमा प्रतिफल खुम्चिए पनि खराब नरहेको बताउँछन् । ‘बैंकहरूको प्रतिफलदर घट्दै गएको छ,’ उनले भने, ‘तर, अझै पनि बैंक निक्षेपबाट पाउने प्रतिफलको तुलनामा यो उच्च नै भएकाले यसलाई नराम्रो मान्न हुँदैन ।’ बैंकर अनलराज भट्टराई बैंकहरूको पूँजी वृद्धिको तुलनामा नाफा बढ्न नसक्दा शेयरधनीले पाउने प्रतिफल पनि खुम्चिँदै गएको बताए । तर, बैंकको लगानीलाई दीर्घकालीन रूपमा हेर्नुपर्ने भएकाले केही समय यसको प्रतिफल खुम्चिँदैमा आत्तिन नहुने उनको भनाइ छ ।

बैंकको प्रतिफलदर आधा घट्यो

लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो । १२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ । सन् २००९ मा वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी औसतमा २७.५१ प्रतिशत थियो । २०२१ अप्रिलमा आइपुग्दा बैंकहरुको प्रतिफल औसतमा १३.८१ प्रतिशतमा झरेको छ । ने...

एक दशकमा बैंकको प्रतिफलदर आधा घट्यो

लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो ।१२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ […]