साउन ५, धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ । यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुशेटारका स्थानीयले सामूहिक बाख्रापालन गरिरहेका छन् । पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका किसानले अहिले सामूहिक रुपमै उन्नत जातका बाख्रापालन गरिरहेका छन् ।
कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन् ।
बाख्रापालन व्यवसायमा अधिकांश युवा वैैदेशिक रोजगारबाट फर्केका छन् । उनीहरुले वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको बताएका छन् ।
कुशेटारका देवि नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० ओटा भन्दा बढी बाख्रा रहेका छन् । गाउँमै व्यावसायी बन्न बाख्रापालन रोजेको उनी बताउँछन् ।
चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरीद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए ।
६ वर्ष अगाडिबाट शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए । नेम्बाङले खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेको बताउँछन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।
कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० ओटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको शिलशिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष याख्याले गाउँमा फर्केपछि सुँगुर पालन गरेको बताउँछन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँ भन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनको लागि खोरमा मात्रै ३ लाख लगानी भएको बताए ।
‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ उनले थप्दै भने ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछ, आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ ।’
कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन् । पुख्यौली रुपमा बाख्रापालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन शुरु गरेको र सरकारी अनुदान भन्दा आफैँ सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरको बाख्रा फर्ममा करीब १ हजार भन्दा बढी बाख्रा रहेका छन् ।
कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले बताए । ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन’, अधिकारीले भने आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं ।’
कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर जातका बोका रहेका छन् । ‘यहाँको कमाईले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु’, अधिकारीले भने ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौं ।’ २१ घरले बाख्रापालनका लागि करीब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।