काठमाडौं (अस) । स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपाल कम्पनीबीच सम्झौता गरिएको छ । युनिलिभरका वितरकहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको हो ।
सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिश गरिएका वितरकहरूले बैंकद्वारा स्वीकृति प्राप्त भएका व्यापार वित्तीय समाधानहरूमा लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला वितरकहरूलाई पर्याप्त वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकको भनाइ छ । त्यसबाट वितरकहरूलाई कठिन समयमा समेत वित्तीय स्थिरता सुनिश्चित गर्न सघाउ पुग्ने बैंकले विश्वास गरेको छ । साथै ठूला कर्पोरेटहरूलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धता लागू गर्न पनि टेवा पुग्ने बताइएको छ ।