घलेगाउँमा पर्यटन व्यवसाय जुरमुराउँदै

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सुस्ताएको लमजुङको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । पाँच महिनादेखि बन्द भएको व्यवसाय यतिबेला कोरोना सङ्क्रमणको जोखिम कम भएकाले खुल्न थालेको हो । क्व्होलोसोथर गाउँपालिका–३ स्थित एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेजको रूपमा रहेको घलेगाउँसहित राइनास नगरपालिका–९स्थित राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास (होमस्टे) तथा पर्यटकीयस्थलमा यतिबेला …

सम्बन्धित सामग्री

आफ्नै घरका केही कोठाबाटै चलाउन सकिन्छ होमस्टे

काठमाडौं । देशदेशान्तर घुम्ने विदेशी वा स्वदेशी पर्यटकसँग गाँसिएको पर्यटन व्यवसाय गर्न ठूलो धनराशि लगानी गरेर ट्राभल, ट्रेकिङ एजेन्सी वा ठूला होटलको मालिक हुनैपर्छ भन्ने छैन । पर्यटकीय आकर्षण नजिकैको गाउँ वा पर्यटक घुम्ने सहर–बजारमा आफ्नो निजी निवास छ र केही कोठा वा फ्ल्याट भाडामा दिन उपलब्ध छन् भने त्यसैमा पर्यटकका लागि घरबास (होमस्टे) व्यवस्था गरेर पर्यटन व्यवसायमा पहिलो पाइला सुरु गर्न सकिन्छ । नेपाल पर्यटन बोर्ड (एनटीबी), ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ–नेपाल) आदि निकाय र संस्थाले ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीयको आर्थिक सशक्तीकरण गर्न घरबास व्यवसायका लागि सहरलाई भन्दा गाउँलाई प्राथमिकतामा राखे पनि राजधानी काठमाडौंलगायत सहरी क्षेत्रमै पनि घरबास व्यवसाय गरी आयआर्जन गर्ने व्यवसायी उल्लेख्य संख्यामा पाइन्छन् । पर्यटकको रूपमा घुम्ने क्रममा पर्यटकीय स्तरका सामान्य पाहुनाघर (गेस्टहाउसदेखि) पाँचतारे स्तरका महँगा होटलमा बस्ने परम्परागत चलन भए पनि पछिल्लो समय आफू घुम्न जाने स्थानीयको घरैमा बास बस्ने चलनलाई रुचाउने एकाथरी पर्यटक दिनानुदिन बढ्दो छन् । आफू घुम्ने गन्तव्यमा स्थानीयको घरमै बस्ने र उनीहरूकै भान्सामा पाकेको खानपिन गर्नाले खर्च पनि सस्तो र स्थानीय चालचलन र खाना संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइने ती पर्यटकको बुझाइ हुने गर्छ । नेपालका सबैजसो पर्यटकीय स्थलमा घरबास व्यवसाय फैलिइसकेको छ । लमजुङको घलेगाउँ, धनकुटाको नाम्जेजस्ता ठाउँको घरबासले अन्तर्राष्ट्रिय सम्मान तथा चर्चासमेत पाएको विभिन्न सञ्चारमाध्यममा सुने/पढिसकेका छौं । कोभिड महामारीपूर्व सन् २०१९ को अन्तसम्मको पर्यटन मन्त्रालय, पर्यटन विभागले प्रकाशित गरेको तथ्यांकले देशभर १३३१ घरपरिवार सामूहिक वा एकल किसिमले घरबास व्यवसायमा संलग्न छन् । यिनको एकै पटक पर्यटक धान्न सक्ने क्षमता करिब ५००० बेडको रहेको छ । यसबाट यस क्षेत्रमा आयआर्जन र पर्यटकसँग अन्तरक्रिया गर्दै व्यवसायमा छलाङ मार्ने सम्भावना रहेको आकलन गर्न सकिन्छ । घरबास व्यवसाय सुरु गर्न ग्रामीण क्षेत्रमा हो भने छरछिमेक मिलेर समूह बनाई सामूहिक रूपमै दर्ता भएर पर्यटन विभागअन्तर्गत होमस्टे शाखामा आबद्ध भई विधिवत व्यवसाय सञ्चालन गर्न सकिन्छ । नगर क्षेत्रमा भने सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सुरुआत गर्न सकिन्छ । घरबास सञ्चालन गर्न सम्बन्धित घरमा कम्तीमा दुई वटा कोठा भए उपयुक्त हुन्छ । घरलाई सकेसम्म जे–जस्तो छ, त्यस्तैमा परम्परागत पहिचानलाई जोगाएरै सरसफाइमा विशेष ध्यान दिई कोठाभित्रै बाथरुमको व्यवस्था गरी वा एकभन्दा बढी कोठाका लागि एउटै बाथरुमको व्यवस्था गरे पनि हुन्छ । आफूसँग जे–जस्ता सुविधा छन्, तिनलाई किटान गरेर आफ्नो व्यवसाय दर्ता भएको नाममा सकेसम्म मिल्दो वेबसाइट बनाई सोही साइट वा फेसबुक, इन्स्टाग्राम तथा युट्युबजस्ता सामाजिक सञ्जालमार्फत प्रचार गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ । घरबासमा उपलब्ध कोठा र सेवा–सुविधा उपभोग गर्न बुकिङका लागि आफ्नै वेबसाइटमा वा एयर बीएन्डबी, बुकिङ डटकम आदि ग्लोबल वेबसाइट पोर्टलसँग आबद्ध भई संसारको जुनसुकै ठाउँबाट बुकिङ गर्न सकिने सजिलो र सुरक्षित माध्यम अपनाउन सकिन्छ । घरबास व्यवसायमा पर्यटकका लागि बासको व्यवस्थाका साथै खानपिनको सुविधा महत्वपूर्ण हुन्छ । खानपिनका लागि आधुनिक पर्यटकीय रेस्टुराँजस्तै खानपिन हुनुपर्छ भन्ने छैन । घरबासमा बस्ने पर्यटक सम्बन्धित स्थानमा जे उपलब्ध छन्, त्यसैलाई स्वस्थ र सफा ढंगले तयार पारी खाने सोख भएका नै हुन्छन् । त्यसैले आफ्नै खेतबारी वा बगैंचामा उब्जिएका सागसब्जी, अन्न, आदिको प्रयोग गर्न सकिन्छ । अथवा, स्थानीय पसल वा बजारमा जे पाइन्छ, त्यसैबाटै खानपिन तयार गर्न सकिन्छ । घरमा नियमित खानाको साथमा चिया, कफी, स्थानीय पेय आदिको पनि व्यापार गर्न सकिन्छ । आफ्ना घरमा घरबासका लागि आउने पर्यटकलाई सकेसम्म पाहुनामैत्री वातावरण दिनु उचित हुन्छ । यसो गर्नाले आफूले पनि उनीहरूबाट धेरै कुरा सिक्न सक्ने र पाहुनाको बसाइँ अझ बढी स्मरणीय हुन जान्छ । घरमा इन्टरनेट सुविधा हुनुपर्दछ भने चाखलाग्दा विषयका किताब, पत्रपत्रिका, फोटो, नजिकका पर्यटकीय स्थलबारे जानकारी आदि भए थप आकर्षण हुन जान्छ । लामो समय बस्ने पाहुनाको चाखअनुसार बगंैचा, घरको सामान्य काम, खेतबारी आदिमा पनि उनीहरूलाई संलग्न गराउन सकिन्छ । घरबासलाई व्यावसायिक र अझ व्यवस्थित रूपमा कसरी अगाडि बढाउने भन्नेबारे पर्यटन बोर्ड, पर्यटन विभाग, ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चजस्ता निकाय र संस्थामा सम्पर्क गरी जानकारी, सहयोग र तालिमसमेत लिन सकिन्छ ।

निषेधाज्ञाले सुस्तायो लमजुङको पर्यटन

लमजुङ । कोरोना कहरको पहिलो लहर सकिएपछि लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । लमजुङमा कोरोनाले थला पारेको पर्यटनले लय लिन नपाउँदै संक्रमणको दोस्रो लहरका कारण पुनः सुस्ताएको हो ।      जिल्लामा रहेको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ, बेंसीसहर नगरपालिका–३ काउलेपानी, राइनास नगरपालिका–९ राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास तथा पर्यटकीय स्थलमा कोरोना संक्रमणका कारण यतिबेला सुनसान बनेका छन् । यसअघि पहिलो चरणको कोरोनाले प्रभावित बनेको सो क्षेत्रमा तीन/चार महिनादेखि  पर्यटक आगमन भएर विस्तारै लय समाउँदै गरेको अवस्थामा पुनः दोस्रो चरणको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएको छ ।    घलेगाउँमा २०७६ चैत ११ गतेदेखि भदौ तेस्रो सातासम्म ठप्प रहेको घरबास विस्तार खुल्न थालेका थिए । दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा हुनु केही दिनअघि दैनिक ५०० जना हाराहारी आन्तरिक पर्यटक आउने गरेका थिए । तर, पुनः कोरोना जोखिम बढेसँगै पर्यटन क्षेत्र बन्द हुँदा घरबास सञ्चालक तथा पर्यटन व्यवसायीले घाटा सहनुपरेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए । उनले भने, ‘हामीले यतिका समय पर्यटन व्यवसाय थला परे पनि  अब त विगतकै लयमा फर्किने सोचेका थियौं तर कोभिडकै कारण त्यसो भएन ।’ घलेगाउँका घरबास सञ्चालहरूको मुख्य आम्दानीकै स्रोत पर्यटन रहेकाले निषेधाज्ञाका कारण पर्यटक आगमन ठप्प हुँदा परिवारको गुजारा चलाउन समस्या पर्ने घलेगाउँ घरबास सञ्चालक तथा पर्यटन व्यवसायी दीर्घराज घले बताउँछन् ।      पर्यटक चहलपहल हुँदा यहाँका प्रत्येक घरबास सञ्चालकले मासिक कम्तीमा पनि ५०/६० हजार रुपैयाँ आम्दानी गर्दै आएका थिए । कोरोनाका कारण पर्यटक नै नआएपछि आम्दानी गर्ने बाटो बन्द हुँदा पर्यटन व्यवसायीको लगानी जोखिममा परेको छ । २०५७ बाट सञ्चालनमा आएको यो घरबासमा यतिबेला ३७ घर छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आप्mना कला, संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीहरुको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो । ०६२/६३ को जनआन्दोलनपछि गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । घलेगाउँ समुद्री सतहदेखि २ हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गम थलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँसमेत हो । घलेगाउँबाट ६९८६ मिटर उचाइको लमजुङ हिमाल, ७९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ८१६३ मिटर उचाइको मनास्लु हिमाल, ७८९३ मिटर उचाइको हिमालचुली, ७८३५ मिटरमा रहेको ङादीचुली (डा. हर्क हिमाल) र ६६७२ मिटर उचाइको बुद्व हिमाल आँखै अगाडि देख्न सकिन्छ ।      निषेधाज्ञाअघि दैनिक डेढ जनासम्म पर्यटक आउने गरेकामा अहिले ठप्प भएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । रासस