पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिमटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नख्खुमा पाइप फुटेको ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण […]

सम्बन्धित सामग्री

पाइप व्यवस्थापनपछि कालोपत्र गरिने

काठमाडौं । नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि मात्र सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महीना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । नख्खुमा पाइप फुटेका ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण र मर्मत भइरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, ‘पाइपको काम सकिएपछि सडक कालोपत्र गरिनेछ ।’      निर्माण कम्पनीका अनुसार सडक कालोपत्र गर्नका लागि आवश्यक पर्ने निर्माण सामग्री झारिसकिएको छ । पहिले ‘सबबेस’ हाल्न लाग्दा सडकको बीच भागमा झन्डै १०० वर्ष पुराना पाइप फुटेको भेटिएको उनले बताए । अहिले झन्डै ८०० मिटर लम्बाइको सडक खानेपानी पाइपका कारण कालोपत्र गर्न ढिलाइ भएको छ । यस क्षेत्रमा सडकको चौडाइ झन्डै १६ मिटर उपलब्ध रहेको छ । भैंसेपाटी आवास क्षेत्र नजिकै समस्या रहेकाले पनि यहाँ भइरहेको ढिलाइमा धेरैले चासो देखाएको पाइन्छ । उपत्यकाका धेरै सडकमा सयौं वर्ष पुराना पाइप रहेका छन् । कहाँ कुन स्थानमा कति पुरानो पाइप छ भन्ने लिमिटेडसँग समेत जानकारी छैन । भेटिएको पाइप व्यवस्थापन भए पनि आगामी दिनमा पुनः नयाँ ठाउँमा पुरानो पाइपलाइन भेटिन सक्ने प्रवक्ता जोशीले बताए । अहिले तत्कालका लागि भेटिएको पाइप स्थानान्तरण र मर्मत गरिएको उनले बताए । उनले भने, ‘पाइप सडककोबीच भागमा हुँदा बढी क्षति पुगेको कारण अहिले पैदलयात्रु मार्गबाट हालिएको छ ।’      निर्माण शुरू भएको लामो समयसम्म विस्तार हुन नसकेकै कारण सडक निर्माण ठप्प बनेको थियो । अहिले सरकारको निर्णयका आधारमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ । जति उपलब्ध छ त्यतिमै काम भइरहेकाले तत्काल सडकमा अवरोध नभएको उनले बताए । विस्तारको काम भइरहेको नख्खुबाट चुनीदेवीसम्म झण्डै पाँच किमी लम्बाइमध्ये कति चौडाइ उपलब्ध भएको छ भने कतिपय स्थानमा संरचना नहटाइएकाले चौडाइ कम रहेको छ । पहिले ठेक्का सम्झौता हुँदा चौडाई २० मिटर कायम गर्ने गरी सम्झौता भएको थियो ।      अहिले आयोजनाले चौडाइ उपलब्ध हुने खण्डमा मात्रै सडकसँगै आवश्यक संरचनाको निर्माण गरिरहेको छ । बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गाको उपलब्ध नहुँदा बनाउन नसकिएको उनले बताए ।   अहिले सोह्रखुट्टेमा घर भत्काइरहेको र चुनीखेलमा पाटी, पर्खाल र एउटा कुखुरा फार्म भत्काएर चौडा बनाउन लागिएको उनले बताए । उनले भने, ‘चौडा बनाएर ह्युमपाइप हाल्ने, पैदलयात्रु मार्ग बनाउने र त्यसपछि मात्रै कालोपत्र गर्ने योजना छ ।’ सो सडकमा ठाउँठाउँमा गरी झन्डै दुई किमीमा कालोपत्र गर्न बाँकी छ । पटक–पटक अवधि थप भइरहेकोमा पछिल्लो पटक आयोजनाले आगामी महीनासम्मका लागि अवधि थपेको थियो । केही समय क्रसर उद्यमीको हड्तालका कारण काममा अवरोध पुगेको प्रवक्ता जोशीले बताए । केही समय पहिलेसम्म निर्माण सामग्री पाउनै समस्या भए पनि अहिले केही सजिलो भएको उनले बताए । पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्वीकृति लिएर कामअघि बढाइएको प्रवक्ता जोशीले बताए । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरु कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने व्यवस्था छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैंसेपाटी तीन दशमलव ५२ किमी र भैंसेपाटी–बुङ्मती एक दशमलव ५५ किमी रहेको छ । सडक निर्माणको काम २०७३ असारदेखि शुरू भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायत संरचना निर्माण गरिने ठेक्का सम्झौता भएको आयोजनाले बताएको छ । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्र्डवाइड जेभीले अर्काे खण्ड सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस