मह विक्री नहुँदा चितवनका मौरीपालक किसान मर्कामा

चितवन । लामो समयदेखि मह विक्री नहुँदा चितवनका मौरीपालक किसान मर्कामा परेका छन् । भारतबाट सस्तो मूल्यमा मह भित्रिएपछि प्रतिस्पर्धा गर्न नसक्दा उनीहरूको मह विक्री नभएको हो । जसका कारण चितवनका मौरीपालकको मह अहिले विक्री नभएर मौज्दातमा राख्नुपरेको छ ।  खैरहनी नगरपालिका वडा नम्बर ११ का श्यामबहादुर तामाङले अहिले मह विक्री नभएर ५० ओटा बाल्टिनमा भण्डारण गर्नु परेको बताए । ‘यी मह उत्पादन गरेको करिब ६ महीना भइसक्यो । विक्री नै छैन । न त मूल्य नै छ,’ उनले भने ।  नेपाली मह महँगो र उपभोक्ताले गुणस्तर चिन्न नसक्दा नेपाली महले बजार पाउन नसकेको हो ।  अघिल्लो वर्ष महको विक्री राम्रै भए पनि यस वर्ष विक्री नभएको उनले गुनासो गरे । उनले ८० ओटा घारमा मौरीपालन गरेका छन् । चिउरी र तोरीको सिजनमा उनले मह उत्पादन गरेका हुन् । ५० ओटा बाल्टिनमा ३० किलोका दरले मह मौज्दात रहेको उनले बताए ।  कोरोनाको समयमा महको उपभोक्ता बढ्दा र भारतीय मह कम आयात हुँदा माग बढेको थियो । तर, अहिले महको माग घटेको छ ।  हाल थोक मूल्यमा प्रतिकिलो ३५० रुपैयाँमा मह विक्री गर्न खोज्दा पनि कसैले नकिनेको उनले बताए । मह खुद्रा मूल्यमा प्रतिकिलो ६०० रुपैयाँमा विक्री हुने गरेको छ । उनको मात्रै होइन, चितवनका अधिकांश किसानको मह भण्डारण भएको छ ।  खैरहनी नगरपालिका वडा नम्बर १० का मौरीपालक किसान नवराज पन्तको समस्या पनि उस्तै छ । पन्तसहित १० जना किसानहरूले वनदेवी मौरीपालन समूह नै बनाएका छन् । समूहमा आबद्ध किसानहरूको मह विक्री नभएपछि दुई सयओटा बाल्टिनमा रहेका मह थन्किएका छन् । उनीहरूको समस्या पनि बजार र मूल्य नपाउनु नै हो । ‘अहिले उत्पादन कम छ, बजार पनि छैन, बजार भएको बेला उत्पादन हुँदैन ।’  पछिल्लो समय मौरीले उत्पादन गर्ने फलफूल तथा बालीहरूमा बिषादीको प्रयोग भएको कारण महको उत्पादकत्व समेत घटेको हो । मौरीको आहारा तथा चरन अभावको कारण पनि महको उत्पादन ३५ प्रतिशतले ह्रास आएको छ ।  नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव शर्मा स्वदेशमै गुणस्तरीय मह उत्पादन गर्दा पनि किसानले बजार नपाएको गुनासो गर्छन् । ‘कम भन्सार र कम मूल्यमा भारतीय मह भित्रिएको छ,’ उनले भने, ‘स्वदेशी महको बजार छैन, विदेशी मह छ्याप्छ्याप्ती छ ।’ शर्माको मात्रै हाल ४ मेट्रिक टन मौज्दातमा रहेको उनले बताए ।  राज्यले मौरी किसानलाई उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने र विदेशी महको भन्सार बढाउनु पर्ने र स्वदेशी महको बजार व्यवस्थापन उनको तर्क छ । शर्माले सरकारले मौरीपालक मैत्री नीति नबनाउँदा किसानले सधैं यस्तो समस्या भोग्नुपरेको बताए ।  चितवनमा देशको कुल उत्पादनको ५५ प्रतिशत मह उत्पादन हुँदै आएको तथ्यांक छ । चितवनमा ३५ हजार ओटा मौरीका घार रहेको महासंघले जनाएको छ । 

सम्बन्धित सामग्री

लकडाउनका कारण दाङमा मौरीपालन व्यवसाय चौपट !

दाङ : उत्पादन गरिएको मह लकडाउनका कारण काढ्न नसक्दाँ दाङमा मौरीपालक किसान मर्कामा परेका छन्‌।। मह काढ्ने समयमा सवारीसाधन बन्द हुँदा कृषकहरु मौरी राखेको स्थानसम्म जान नसकेपछि उत्पादन भएको मह मोरीको घारमै नष्ट हुँदैछ। मह काढ्न नपाउँदा आफूहरूलाई करोडौं रुपैयाँ बराबर क्षति भएको मौरीपालक कृषकहरुले बताए...