सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट पायो स्वीकृति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । हकप्रद निष्कासनको लागि पुस ११ गते बोर्डबाट अनुमति पाएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको हो । अब कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ ।

सम्बन्धित सामग्री

सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि निष्कासन तथा विक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । यस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बरावरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको छ । हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुक क्लोज गरेको थियो । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नहाेस्

सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि अब तीन दिन बाँकी

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर खरीद गर्ने अवधि अब तीन दिन मात्र बाँकी छ । कम्पनीले फागुन २२ गतेसम्मका लागि यो हकफ्रद शेयर विक्री खुला गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजी १ करोड ४५ लाख रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर निष्कासका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ । योग्य लगानीकर्ताले विक्री प्रबन्धकसँगै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ कायम हुनेछ ।‍

सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाल कायम चुक्तापूँजी १ करोड ४५ लाख रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा आउनेछ ।  हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर खरीदका लागि फागुन २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो हकप्रद शेयर निष्कासका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । योग्य लगानीकर्ताले बिक्री प्रबन्धकसँगै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पर्खिँदै ११ कम्पनी

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी नै सार्वजनिक निष्कासनका लागि अनुमति दिइरहेको हो । सार्वजनिक निष्कासनमा आउने धितोपत्रमध्ये साधारण शेयर नै बढी रहेको छ । बोर्डले धितोपत्रमा विविधीकरणका लागि साधारण शेयरसँगै ऋणपत्र, म्युचुअल फण्डको इकाई र हकप्रद शेयरलाई समेत प्राथमिकताका साथ स्वीकृति दिइरहेको छ । धितोपत्र दोस्रो बजार घटिरहेका कारण यतिबेला सार्वजनिक निष्कासनमा आएका साधारण शेयरबाहेक अन्यमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । यो अवस्थामा बोर्डमा ११ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।  नारायणी डेभलपमेन्ट बैंकसमेत ११ कम्पनी यतिबेला हकप्रद शेयर निष्कासनका लागि अनुमति कुरेर बसेको अवस्था छ । २६ करोड २४ लाख ६७ हजार चुक्ता पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकले २०७९ भदौ ९ गते नै बोर्डमा निवेदन दिएको थियो । हकप्रदका लागि आवेदन दिएका ११ कम्पनीहरूमध्ये नारायणी डेभलपमेन्ट बैंकले नै सबैभन्दा पहिला आवेदन दिएको हो । अझै पनि कम्पनीको हकप्रद शेयर आवेदन प्रक्रिया जवाफ र समीक्षाअन्तर्गत नै रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ छ । योबाहेक अन्य सबै कम्पनी जलविद्युत क्षेत्रका छन् । पछिल्लो व्यवस्था अनुसार जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने भएसँगै धेरै कम्पनी यो प्रक्रियामा गएका हुन् । हकप्रद शेयरमा मात्र हैन, साधारण शेयरमा समेत जलविद्युत कम्पनीको नै वर्चश्व रहँदै आएको छ । हकप्रद शेयर निष्कासनका लागि प्रतीक्षामा रहेका जलविद्युत कम्पनीहरूमा बरुण हाइड्रोपावर, आँखु खोला जलविद्युत्, ङादी ग्रुप पावर लिमिटेड, लिवर्टी इनर्जी, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, हिमालय उर्जा विकास, सिंगटी हाइड्रो इनर्जी, घलेम्दी हाइड्रो लिमिटेड र छयाङ्दी हाइड्रोपावर लिमिटेड छन् । घलेम्दी हाइड्रोले २०० प्रतिशत र आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । त्यस्तै रिडी पावर र लिवर्टी इनर्जीले ५० प्रतिशत र बरुण हाइड्रो, ङादी ग्रुप, छ्याङदी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।  हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये चार कम्पनीहरूको शेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । आँखुखोला जलविद्युतको १५० रुपैयाँ, लिवर्टी इनर्जीको १५१ रुपैयाँ १० पैसा, रिडी पावरको १९४ रुपैयाँ र घलेम्दी हाइड्रोको १९५ रुपैयाँ शेयर मूल्य छ ।

सिंगटी हाइड्रोले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न असार २७ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ ।

आयोजना निर्माण र ऋण तिर्न हकप्रद रोज्दै जलविद्युत् कम्पनी

काठमाडौं । आयोजना निर्माण र ऋण तिर्न ११ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन  गर्ने योजना बनाएका छन् । जलविद्युत् कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । ११ कम्पनीमध्ये अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीले आयोजना निर्माणका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । अरुण भ्याली हाइड्रोपावरले आयोजना निर्माण र ऋण तिर्न हकप्रद विक्री गर्न लागेको जानकारी गराएको छ ।  अरुण काबेली पावर, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीले ऋण तिर्न हकप्रद विक्री गर्ने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये कतिपयले विद्युत् नियमन आयोगबाट स्वीकृति पाई नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल भन्छन्, ‘कम्पनीहरूले विवेकपूर्ण निर्णय लिनुपर्छ । हकप्रद शेयर निष्कासन गर्न नपाउने भन्ने हुँदैन तर यो कत्तिको विवेकपूर्ण निर्णय हो ? कम्पनी डुब्ने अवस्थामा यस्तो गर्नुपर्छ तर सामान्य अवस्थामा नाफा कमाएरै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु राम्रो होइन ।’ अधिवक्ता ज्योति दाहालका अनुसार ऋण तिर्नकै लागि हकप्रद शेयर विक्री गर्नु राम्रो होइन । ‘ऋणमुक्त भएपछि आम्दानी बढ्छ भन्ने शेयरधनीहरू नै हुन् । हाइड्रोपावर कम्पनीले स्वपूँजी र ऋण अनुपात सामान्य अवस्थामा हुँदाहुँदै ऋणमोचन गर्न जुन प्रकारले हकप्रदको घोषणा गरिरहेका छन्, यसले कम्पनीको प्रतिशेयर आम्दानीलाई ध्वस्त पारेर कम्पनीलाई नै धराशयी बनाउँछ,’ दाहालले भने । नेपालको शेयरबजारमा अत्यन्तै लोकप्रिय बनाइएको हकप्रदले कम्पनीलाई अपवादबाहेक तत्काल वा दीर्घकालमा कुनै फाइदा नहुने दाहालको तर्क छ । हालसम्ममा सिनर्जी पावर, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी र अरुण काबेलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । अपि पावर कम्पनीले हालको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न गत चैत ६ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो । हाल अपि पावरको चुक्ता पूँजी ४ अर्ब १३ करोड छ । ४० प्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुनेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर विक्री गर्न लागेको हो । अपर तामाकोशी हाइड्रोपावरले १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन १८ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड हो । हाल तामाकोशीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासनपछि पूँजी २१ अर्ब १८ करोड पुग्नेछ । तामाकोशीले हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला र तामाकोशी–५ आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।  अरुण काबेली पावर कम्पनीले पनि १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७८ कात्तिक २८ गते सेबोनमा निवेदन दिएको थियो । यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड हो । हाल अरुण काबेलीको चुक्ता पूँजी १ अर्ब ८५ करोड छ । शतप्रतिशत हकप्रद विक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७१ करोडभन्दा माथि पुग्नेछ ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । कम्पनीले हकप्रद निष्कासन गर्न सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । छ्याङ्दीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड हो । यसले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न चाहेको छ । हाल छ्याङ्दीको चुक्तापूँजी ३८ करोड ६९ लाख रुपैयाँ छ । हकप्रद विक्रीपछि कम्पनीको पूँजी ७७ करोड ३९ लाख पुग्नेछ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २:१ अनुपातमा हकप्रद निष्कासनका लागि गत फागुन ५ गते सेबोनमा निवेदन दिएको छ । सिनर्जीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ छ । अरुण भ्यालीले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, रिडी पावर र शिवश्री हाइड्रोपावरको सञ्चालक समितिले हकप्रद निष्कासन गर्ने निर्णय मात्रै गरेका छन् । उक्त निर्णय साधारणसभाबाट पारित हुन र विद्युत नियमन आयोगबाट स्वीकृत हुन बाँकी छ । साधारणसभाबाट निर्णय पारित भई आयोगले स्वीकृति दिएपछि यी कम्पनीले सेबोनमा निवेदन दिनुपर्छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोडको शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।  हकप्रद विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत् आयोजना (३० मेगावाट) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी त्यत्ति नै रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्न बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने बताइएको छ ।  यसले विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । घलेम्दी हाइड्रोले २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासनको निर्णय साधारणसभाले पारित गरिसकेको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्न कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । हाल घलेम्दीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।  हिमालयन ऊर्जा विकास कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकमले बैंकको दीर्घकालीन ऋण भुक्तानी गर्ने निर्णय गरेको छ । आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्न लागेको हो ।  रिडी पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।  त्यस्तै शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । शिवश्रीले बैंक ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने निर्णय गरेको बताएको छ ।