काठमाडौँ । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ ।
योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।
आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेब्रुअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ ।
दिल्लीले लामिछानेलाई २०१८ को आइपिएलका लागि रु. ३२ लाखमा पहिलो पटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उनले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका लिए ।
दोस्रो वर्ष २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए ।
तेस्रो वर्ष २०२० को संस्करणमा भने उहाँलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इङ्गल्यान्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फुकुवा गर्ने निर्णय गरेको छ ।