धानको उत्पादन बढाउने नीति लिउँ

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ असार १५ मा यस वर्ष पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । सरकारले १९ औं राष्ट्रिय धान दिवस मनाइरहँदा आफ्ना कमी–कमजोरी खोजेर त्यसको समाधान निकाल्ला र आगामी वर्ष धानको उत्पादन बढ्ला भन्ने आशा भने नगर्दा हुन्छ । बिरालाको घाँटीमा घण्टी बाँध्ने, […]

सम्बन्धित सामग्री

दक्षिण एशियाको धान उत्पादकत्वमा नेपाल पुछारतिर

काठमाडौं। दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशित गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्बन्धी प्रतिवेदन (धानबाली व्यावसायिकीकरणको प्रयास, उपलब्धि र चुनौती) अनुसार सन् २०२२ मा दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा छ । प्रतिवेदनअनुसार दक्षिण एशियाली मुलुकमध्ये धानमा सबैभन्दा धेरै उत्पादकत्व भएको मुलुक श्रीलंका हो । श्रीलंकामा धानको उत्पादकत्व ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर छ । ४ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका साथ बंगलादेश दोस्रो स्थानमा छ । भुटान तेस्रो, भारत चौथो र नेपाल पाँचौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । भुटानको धान उत्पादकत्व ४ दशमलव शून्य ७ मेट्रिक टन, भारतको ४ दशमलव शून्य ५ मेट्रिक टन र नेपालको ३ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको प्रतिवेदनमा उल्लेख छ ।  पाकिस्तान र अफगानिस्तानको उत्पादकत्व नेपालभन्दा पनि कम छ । पाकिस्तान धान उत्पादकत्वका हिसाबले दक्षिण एशियामा छैटौं र अफगानिस्तान सातौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार पाकिस्तानको प्रतिहेक्टर धान उत्पादकत्व ३ दशमलव ६ मेट्रिक टन र अफगानिस्तानको २ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर छ । प्रमुख खाद्यबाली भएकाले नेपालले धानको उत्पादन र उत्पादकत्व दुवै बढाउनु अपरिहार्य रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. रामवरण यादव बताउँछन् । धानको उत्पादकत्व बढाउन सरकारले कृषिको लगानी अझै बढाउनुपर्ने उनको तर्क छ । सरकारले अहिले कृषिक्षेत्रमा छुट्ट्याउने गरेको कुल बजेटको आधाभन्दा बढी रासायनिक मल किन्नमै खर्च हुने गरेकाले अनुसन्धान लगायत अन्य काम अधुरै रहने स्थिति रहेको उनको भनाइ छ । ‘अहिले हाम्रो कुल बजेटको ३ दशमलव ३७ प्रतिशत कृषिक्षेत्रलाई दिइन्छ । यो अंश कम्तीमा पनि ४ प्रतिशतभन्दा माथि हुनुपर्छ । कृषि गर्ने जमीन बढाउन सकिँदैन । तर, कृषिलाई चाहिने मलखाद, सिँचाइ हुने जमीनको क्षेत्रफल र प्रविधि प्रयोग बढाउन सक्छौं । सिँचाइ भएको ठाउँमा पनि वर्षभरि सुविधा उपलब्ध हुँदैन,’ उनले भने, ‘उत्पादन बढाउन चैतेधान खेती विकल्पको रूपमा भए पनि सिँचाइको अभावमा यसको क्षेत्रफल विस्तार गर्न सकिएको छैन । यसका अलावा वर्णसंकर जातका धानका बीउको प्रयोग बढाउनु जरुरी छ ।’  नेपालमा धानका ४ सुपरजोन, ११ जोन, ५३ ब्लक र १५९ पकेट क्षेत्र सञ्चालनमा छन् । उक्त प्रतिवेदनमा पछिल्लो समय उन्नत बीउ, रासायनिक मल तथा खेतीमा प्रविधिको प्रयोगले संसारभर धानबालीको उत्पादनमा ठूलो परिवर्तन आएको उल्लेख गरिएको छ । नेपालमा करीब १४ लाख ७७ हजार हेक्टर जमीनमा धानखेती गरिने सरकारी तथ्यांक छ । २०१८ सालतिर नेपालको धान उत्पादकत्व १ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर थियो । धानको उत्पादकत्वमा आएको क्रान्तिको श्रेय सन् १९७० मा उन्मोचन गरिएको वर्णसंकर धानलाई जान्छ, जुन चीनबाट शुरू भएको मानिन्छ । ‘विभिन्न गुण, क्षमता र स्वभाव भएका धानका जातबीचको क्रशमार्फत विकास गरिने वर्णसंकर बीउको उत्पादन क्षमता धेरै हुने गर्छ । यस किसिमको वर्णसंकर बीउ प्रयोगले धानको समग्र उत्पादन बढ्ने भएकाले धानको उत्पादकत्व बढ्नमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । चीनमा अहिले कुल धानखेती हुने क्षेत्रफलको आधाभन्दा धेरैमा लगाइने वर्णसंकर धान प्रतिहेक्टर ६ दशमलव ९ मेट्रिक टन उत्पादन हुन्छ । त्यसैगरी बंगलादेशले पनि वर्णसंकर बीउकै प्रयोग गरेर धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिक टन पुर्‍याएको छ,’ प्रतिवेदनमा भनिएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी भने नेपालले उत्पादन वृद्धिका नाममा विभिन्न बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णसंकर जातका बीउ प्रयोग गर्नाले विस्तारै त्यसबाट समग्र बालीको उत्पादकत्व खस्किँदै गएको बताउँछन् । उनका अनुसार पर्याप्त अनुसन्धानको अभावमा जथाभावी त्यस्ता बीउ र रासायनिक विषादी प्रयोग गरेर उत्पादन बढाउने लोभमा माटोमा भएको उर्वराशक्ति नै नष्ट हुन थालेको छ । जथाभावी वर्णसंकर बीउ र रासायनिक विषादीको प्रयोग गर्नुभन्दा हामीसँगै भएका स्थानीय तथा रैथाने बालीको संरक्षण गरेर उन्नत रूपमा विकास गर्न सके त्यसबाट उत्पादकत्व बढाउन सकिने र रैथाने बालीको संरक्षण पनि हुने उनले बताए ।