दक्षिण एशियाको धान उत्पादकत्वमा नेपाल पुछारतिर

काठमाडौं। दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशित गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्बन्धी प्रतिवेदन (धानबाली व्यावसायिकीकरणको प्रयास, उपलब्धि र चुनौती) अनुसार सन् २०२२ मा दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा छ । प्रतिवेदनअनुसार दक्षिण एशियाली मुलुकमध्ये धानमा सबैभन्दा धेरै उत्पादकत्व भएको मुलुक श्रीलंका हो । श्रीलंकामा धानको उत्पादकत्व ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर छ । ४ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका साथ बंगलादेश दोस्रो स्थानमा छ । भुटान तेस्रो, भारत चौथो र नेपाल पाँचौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । भुटानको धान उत्पादकत्व ४ दशमलव शून्य ७ मेट्रिक टन, भारतको ४ दशमलव शून्य ५ मेट्रिक टन र नेपालको ३ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको प्रतिवेदनमा उल्लेख छ ।  पाकिस्तान र अफगानिस्तानको उत्पादकत्व नेपालभन्दा पनि कम छ । पाकिस्तान धान उत्पादकत्वका हिसाबले दक्षिण एशियामा छैटौं र अफगानिस्तान सातौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार पाकिस्तानको प्रतिहेक्टर धान उत्पादकत्व ३ दशमलव ६ मेट्रिक टन र अफगानिस्तानको २ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर छ । प्रमुख खाद्यबाली भएकाले नेपालले धानको उत्पादन र उत्पादकत्व दुवै बढाउनु अपरिहार्य रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. रामवरण यादव बताउँछन् । धानको उत्पादकत्व बढाउन सरकारले कृषिको लगानी अझै बढाउनुपर्ने उनको तर्क छ । सरकारले अहिले कृषिक्षेत्रमा छुट्ट्याउने गरेको कुल बजेटको आधाभन्दा बढी रासायनिक मल किन्नमै खर्च हुने गरेकाले अनुसन्धान लगायत अन्य काम अधुरै रहने स्थिति रहेको उनको भनाइ छ । ‘अहिले हाम्रो कुल बजेटको ३ दशमलव ३७ प्रतिशत कृषिक्षेत्रलाई दिइन्छ । यो अंश कम्तीमा पनि ४ प्रतिशतभन्दा माथि हुनुपर्छ । कृषि गर्ने जमीन बढाउन सकिँदैन । तर, कृषिलाई चाहिने मलखाद, सिँचाइ हुने जमीनको क्षेत्रफल र प्रविधि प्रयोग बढाउन सक्छौं । सिँचाइ भएको ठाउँमा पनि वर्षभरि सुविधा उपलब्ध हुँदैन,’ उनले भने, ‘उत्पादन बढाउन चैतेधान खेती विकल्पको रूपमा भए पनि सिँचाइको अभावमा यसको क्षेत्रफल विस्तार गर्न सकिएको छैन । यसका अलावा वर्णसंकर जातका धानका बीउको प्रयोग बढाउनु जरुरी छ ।’  नेपालमा धानका ४ सुपरजोन, ११ जोन, ५३ ब्लक र १५९ पकेट क्षेत्र सञ्चालनमा छन् । उक्त प्रतिवेदनमा पछिल्लो समय उन्नत बीउ, रासायनिक मल तथा खेतीमा प्रविधिको प्रयोगले संसारभर धानबालीको उत्पादनमा ठूलो परिवर्तन आएको उल्लेख गरिएको छ । नेपालमा करीब १४ लाख ७७ हजार हेक्टर जमीनमा धानखेती गरिने सरकारी तथ्यांक छ । २०१८ सालतिर नेपालको धान उत्पादकत्व १ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर थियो । धानको उत्पादकत्वमा आएको क्रान्तिको श्रेय सन् १९७० मा उन्मोचन गरिएको वर्णसंकर धानलाई जान्छ, जुन चीनबाट शुरू भएको मानिन्छ । ‘विभिन्न गुण, क्षमता र स्वभाव भएका धानका जातबीचको क्रशमार्फत विकास गरिने वर्णसंकर बीउको उत्पादन क्षमता धेरै हुने गर्छ । यस किसिमको वर्णसंकर बीउ प्रयोगले धानको समग्र उत्पादन बढ्ने भएकाले धानको उत्पादकत्व बढ्नमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । चीनमा अहिले कुल धानखेती हुने क्षेत्रफलको आधाभन्दा धेरैमा लगाइने वर्णसंकर धान प्रतिहेक्टर ६ दशमलव ९ मेट्रिक टन उत्पादन हुन्छ । त्यसैगरी बंगलादेशले पनि वर्णसंकर बीउकै प्रयोग गरेर धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिक टन पुर्‍याएको छ,’ प्रतिवेदनमा भनिएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी भने नेपालले उत्पादन वृद्धिका नाममा विभिन्न बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णसंकर जातका बीउ प्रयोग गर्नाले विस्तारै त्यसबाट समग्र बालीको उत्पादकत्व खस्किँदै गएको बताउँछन् । उनका अनुसार पर्याप्त अनुसन्धानको अभावमा जथाभावी त्यस्ता बीउ र रासायनिक विषादी प्रयोग गरेर उत्पादन बढाउने लोभमा माटोमा भएको उर्वराशक्ति नै नष्ट हुन थालेको छ । जथाभावी वर्णसंकर बीउ र रासायनिक विषादीको प्रयोग गर्नुभन्दा हामीसँगै भएका स्थानीय तथा रैथाने बालीको संरक्षण गरेर उन्नत रूपमा विकास गर्न सके त्यसबाट उत्पादकत्व बढाउन सकिने र रैथाने बालीको संरक्षण पनि हुने उनले बताए । 

सम्बन्धित सामग्री

चितवनमा धान उत्पादन १० प्रतिशतले घट्यो

२१ मङ्सिर, चितवन । चितवन जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ । यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ । यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ । प्रतिहेक्टर चार दशमलव २६ मेट्रिक […]

बाली उत्पादकत्वमा आमूल सुधारका लागि प्रशिक्षण

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (इरी) नेपालको संयुक्त आयोजना एवं सहकार्यमा बाली उत्पादकत्वमा आमूल सुधारका लागि द्रुत प्रजनन् पद्धतिको आधुनिकीकरण सम्बन्धी तीन दिने तालीम आजदेखि सुरु भएको छ । खुमलटार ललितपुरमा आयोजित उक्त तालीमबाट कृषि अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि भई बाली प्रजनन् मार्फत् बालीनालीका जातीय सुधार तथा नयाँ जातको […] The post बाली उत्पादकत्वमा आमूल सुधारका लागि प्रशिक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ज्योति बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत तिलोत्तमा(१०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकहरुलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचाटिलत धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको हो । […]

पाल्पामा बढ्याे धान उत्पादन

रामपुर – पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ। यसवर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताइन्। जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो। ‘उत्पादन लिने समय केही ठाउँमा रोग किराको महामारीका बाबजुत धेरै ठाउँमा उत्पादकत्वमा […]

पाल्पामा धान उत्पादनमा वृद्धि

पाल्पा – अघिल्लो वर्षको तुलनामा यस वर्ष पाल्पामा धान उत्पादन बढेको छ। यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए। जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो। “उत्पादन लिने समय केही ठाउँमा रोग किराको महामारीका बाबजुत धेरै ठाउँमा उत्पादकत्वमा […]

चितवनमा धान उत्पादन घट्यो, मकैको उत्पादन भने स्थिर

माघ १९, चितवन । जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्यांकले देखाएको छ । कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट  ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिए ।  गत आवमा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यस वर्ष एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए । आव २०७६/७७ मा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा एक लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार चैतेधान उत्पादनमा स्थिरता रहेको छ । आव २०७६/७७ मा चार हजार ९१५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा २० हजार ७५० मेट्रिक टन उत्पादन भएको थियो । आव २०७७/७८ मा सोही क्षेत्रफलमा त्यतिनै उत्पादन भएको कार्यालयको तथ्यांकले देखाएको छ ।  तथ्यांकानुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटेपनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ । आव २०७६/७७ मा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो आवमा तीन दशमलव ७९ मा झरेको थियो । चालू आवमा उत्पादकत्वमा केही वृद्धि भएको छ । यस वर्ष उत्पादकत्व तीन दशमलव नौ पुगेको न्यौपानेले बताए । स्थानीय पालिकाहरुले दिएको तथ्यांकका आधारमा यस वर्ष वर्षे धानको क्षेत्रफल र उत्पादन घटेको उनको भनाइ छ । गत वर्ष धानमा रोग लागेका कारण उत्पादन घटेको हो ।  यस वर्ष धान पाक्ने समयमा वर्षा बढी हुँदा धानमा क्षति भएको न्यौपानेले बताए । प्रमुख अन्न बालीका रूपमा रहेको मकैको उत्पादन विगत दुई वर्षमा स्थिर छ । पछिल्ला दुई आवमा मकैको उत्पादन स्थिर रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।  कार्यालयको तथ्यांकअनुसार आव २०७६/७७ मा जिल्लाको २६ हजार १९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो । सो क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको न्यौपानेले जानकारी दिए ।  गत आवमा २६ हजार १९ हेक्टर क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ । रासस

धान उत्पादन ८.७४% प्रतिशतले घट्यो

काठमाडौं (अस) । नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यसवर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षात्ले पुर्‍याएको क्षतिका कारण धान उत्पादनमा कमी आएको बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै धानको उत्पादनमा कमी आएको जानकारी दिएको हो । मन्त्रालयले देशभरबाट संकलन गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन विगत ५ वर्षयताकै कम भएको पाइएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर जमीनमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिकटन मात्र धान उत्पादन भएको छ । यो उत्पादन अघिल्लो आबको तुुलनामा ८ दशमलव ७४ प्रतिशतले कम हो । यसअघि आव २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५, आव २०७५/७६ मा ५६ लाख १० हजार ११, आव २०७६÷७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्यांक छ । गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफल करीब ४ हजार हेक्टरले वृद्धि भएको भए तापनि बेमौसमी वर्षात्का कारण उत्पादकत्वमा समेत ९ दशमलव शून्य ९ प्रतिशतले गिरावट आई प्रतिहेक्टर ३ दशमलव ४७ मेट्रिकटन कायम भएको छ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । उनका अनुसार बेमौसमी वर्षात्ले गर्दा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके र कपिलवस्तु जिल्लामा अत्यधिक क्षति पुगेका कारण समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । सुदूरपश्चिम प्रदेशको धान उत्पादनमा ३१ दशमल ४९ प्रतिशत र लुम्बिनी प्रदेशको धान उत्पादनमा १८ दशमलव ३८ प्रतिशतको उच्च गिरावट देखिएको छ । प्रदेशगत रूपमा धान उत्पादनको आँकडा हेर्नेहो भने गत आवको तुलनामा गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूमा धान उत्पादन ऋणात्मक रहन पुगेको पाइएको छ ।

धान उत्पादन ९ प्रतिशतले घट्याे : कृषि मन्त्रालय

गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्वमा ८.६१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।

चितवनमा धान उत्पादनमा न्यून वृद्धि

मंसिर १४, चितवन । चितवन जिल्लामा चालू आर्थिक वर्ष ०७८/०७९ मा गत आर्थिक वर्ष ०७७/०७८ को तुलनामा धान उत्पादनमा न्यून वृद्धि भएको छ ।  कृषि ज्ञान केन्द्र, चितवनका अनुसार चालू आर्थिक वर्षमा ८२ हजार ९५५ मेट्रिक टन धान उत्पादन हुने भएको थियो भने गत आर्थिक वर्ष ०७७/०७८ मा चितवनमा ८२ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७६/०७७ मा ९४ हजार मेट्रिक धान उत्पादन भएको थियो ।  ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले यसवर्ष बेमौसमी वर्षाका कारण दाना लागेको र पाकेकोे धानमा १२ प्रतिशत धान क्षति हुँदा अपेक्षा अनुसार धान उत्पादनमा वृद्धि नभएको जानकारी दिए । ‘अहिले रोग किराको प्रकोप पनि कम थियो । उत्पादन र उत्पादकत्व पनि बढ्ने अपेक्षा थियो, प्रमुख पाण्डेले भने, तर बेमौसमी वर्षाले गर्दा कुल उत्पादनमा त्यति वृद्धि हुन सकेन ।’ प्रधानमन्त्री  कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले गत वर्ष धानमा गवारो, फड्के, सिथ ब्लाईट लगायतका कारण १२ प्रतिशत उत्पादन घटेको र यस वर्ष पाकेको र काटेर सुकाईएको धानमा क्षति भएको कारण आशा गरेअनुसार उत्पादन हुन नसकेको बताए । ‘पोहोेर साल रोगले १२ प्रतिशत धान उत्पादनमा ह्रास आयो । अहिले बेमौसमी वर्षा र बाढीले १२ प्रतिशत धानमा क्षति भयो ।’ उनले भने ।  चितवनमा लगाइएको धानमा यस वर्ष बाढी र वर्षाले क्षति भएपनि कुल उत्पादनमा भने ह्रास नआएको सूचना अधिकारी पौडेलको भनाइ छ । उनका अनुसार धानको कुल उत्पादन अपेक्षित वृद्धि नभएपनि उत्पादकत्वमा भने वृद्धि भएको छ । जसअनुसार धान जोनमा प्रतिहेक्टर उत्पादकत्व ४ दशमलब ५३ मेट्रिक टन रहेको छ भने, अन्य धानखेती योग्य जमीनको प्रतिहेक्टर ३ दशमलव ९ मेट्रिक टन उत्पादकत्व रहेको छ ।  चितवनमा धान जोन रत्ननगर नगरपालिका खैरहनी र राप्ती नगरपालिकाको पूर्व पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा पर्दछ । यहाँ ५ हजार ८२३ हेक्टर क्षेत्रफल धान जोन रहेको छ ।  चितवनमा २२ हजार हेक्टर हाराहारी वर्षे धान र ७ हजार ५०० हेक्टरमा चैते धान रोपाई गरिंँदै आएको छ । यहाँ सावित्री, साँवा मन्सुली, बहुगुणी र हर्दिनाथ–१ हाइब्रीड जातको धानको बीउ रोपिदैं आएको छ । यी मध्ये सबैभन्दा बढी उत्पादकत्व हर्दिनाथ –१ को रहेको छ ।

सुदूरपश्चिममा मुख्य बालीको उत्पादकत्वमा वर्षेनी वृद्धि हुँदै

वैशाख ३, सुदूरपश्चिम( कैलाली) । उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ ।            सिंचाइको सुविधा पहिलेको भन्दा थप क्षेत्रमा विस्तार हुँदै गएको र किसान कृषिसम्बन्धी प्रविधिसँग जानकार हुँदै जाँदा पनि उत्पादन बढ्दै गएको क्षेत्रीय कृषि विकास निर्देशनालयले बताएको छ । उन्नत बीउको प्रयोग र किसान कृषिका प्रविधिसँग जानकार हुँदा धान गहुँ लगायतका बालीको उत्पादन र उत्पादकत्व पनि बढेको निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए । उनका अनुसार पहाडका छ ओटा जिल्लामा भने खाद्यान्न उत्पादन पर्याप्त नहुँदा तराईका जिल्लावाट आपूर्ति हुने गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हुने विभिन्न बालीको उत्पादनले ती जिल्लाको जनसङ्ख्याका लागि खाद्यान्न अपर्याप्त हुने गरेको बताइएको छ ।            तराईको कैलाली, कञ्चनपुर र पहाडको डडेलधुरा जिल्लामा उत्पादन हुने खाद्यान्नले ती जिल्लाको खाद्यान्न अभाव नहुने बताइएको छ । प्रदेशका नौ ओटा जिल्लामध्ये कैलाली र कञ्चनपुर जिल्लामा धान, मकै र गहुँ खेती गरिने क्षेत्रफल र उत्पादन परिमाण पहाडी जिल्लाको भन्दा बढी छ । आर्थिक वर्ष २०७५/ ७६ को तथ्याङ्कका अनुसार प्रदेशमा १ लाख ८१ हजार ३९८ हेक्टर जग्गामा गरिएको धान खेतीको उत्पादन ६ लाख १० हजार ३२८ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ३६ मेट्रिक टन थियो ।            आर्थिक वर्ष २०७६÷०७७ मा सम्म आइपुग्दा १ लाख ८७ हजार ३२ हेक्टरमा धान खेती गरिएकोमा उत्पादन ६ लाख ५८ हजार ४२९ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन पुगेको छ । मकै बाली आव २०७५/ ०७६ मा ५० हजार ५६९ हेक्टरमा गरिएकोमा ९३ हजार ३८६ं५ मेट्रिक टन उत्पादन र उत्पादकत्व प्रतिहेक्टर १ दशमलब ८५ मेट्रिक टन थियो । आव २०७६/ ०७७ मा आइपुग्दा मकै खेतीको क्षेत्रफल ५१ हजार ३३२ हेक्टर पुग्दा उत्पादन ९२ हजार ८७५ मेट्रिक टन तथा उत्पादकत्व प्रतिहेक्टर दुई मेट्रिक टन पुगेको छ ।            आर्थिक वर्ष २०७५/ ०७६ मा १ लाख ४२ हजार ७३९ हेक्टरमा गहुँको खेती गरिएकोमा उत्पादन ३ लाख २० हजार ८२ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर २ दशमलब २४ मेट्रिक टन थियो । आर्थिक वर्ष २०७६/ ०७७ मा आइपुग्दा यो बालीको खेती १ लाख ५३ हजार १४६ हेक्टरमा गरिएकोमा उत्पादन ३ लाख ३८ हजार ६५९ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर दुई मेट्रिक टन पुगेको छ ।            अघिल्लो वर्षको तुलनामा आव २०७६/ ०७७ मा गहुँखेती गरिएको क्षेत्रफल बढेको भए पनि प्रतिकूल मौसमका कारण उत्पादकत्व भने केही घटेको देखिएको छ । तथ्याङ्कमा प्रदेशमा कोदो १८ हजार ८७ हेक्टर, फाँपर ३४८ हेक्टर र जौ बालीको खेती ९ हजार ११९ हेक्टरमा गर्ने गरिएकोमा यी बालीको उत्पदकत्व पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको उल्लेख छ । कोदो र फाँपरको खेती पहाडी र हिमाली जिल्लामा हुने गरेको छ ।            यसबाहेक प्रदेशमा वार्षिक तेलहन ३५ हजार ३२० र दलहन ४८ हजार ४०८, आलु २ लाख सात हजार ९८१, उखु २ लाख ४१ हजार १५७ र ताजा तरकारी ३ लाख ४५ हजार १३४ मेट्रिक टन उत्पादन हुने गरेको छ । पशुपंक्षीजन्य पदार्थको उपलब्धतातर्फ दूध २४४ हजार मेट्रिक टन, मासु ३१ हजार मेट्रिक टन र फूल ९ करोड गोटा उत्पादन हुने गरेको छ । चालू आर्थिक वर्षमा विभिन्न बालीको उत्पादन बारेको तथ्याङ्क तयार हुन बाँकी रहेको बताइएको छ ।             ‘क्रफ कटिङ’का आधारमा विभिन्न बालीको उत्पादन र उत्पादकत्वको तथ्याङ्क निकाल्ने गरिन्छ । प्रदेशमा कुल खेतीयोग्य जग्गामध्ये झण्डै ५४ प्रतिशत जग्गामा सिंचाइको सुविधा भएकोमा बाँकी जग्गामा आकाशको पानीका भरमा खेती हुने गरेको छ । प्रदेश सरकारको बजेट नीति कार्यक्रममा कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको छ ।            पञ्चशक्ति सिड कम्पनी प्रालि कैलालीका सञ्चालक विष्णुराज बुर्लाकोटीले पछिल्ला वर्षमा कृषि प्रसारका क्षेत्रमा काम राम्रो हुँदा बालीको उत्पादन बढेको बताए। उनका अनुसार कृषक उन्नत बीउको पहुँचमा सहज ढङ्गले पुग्दा बालीको उत्पादन पनि बढेको  छ । प्रदेशमा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट अनुमति लिएर उन्नत बीउबिजन उत्पादन गर्ने निजी कम्पनी स्थापना भइरहेका छन् ।            आधुनिक औजारले खेती गर्न सहज            खेत खनजोत गर्ने, बाली काट्ने र झार्नेजस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई गहुँ र धानलगायत खेती गर्न पहिलेको भन्दा सहज हुँदै गएको छ । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रमसमेत कम गर्नुपर्ने हुँदा पहिलेको भन्दा निकै सहज भएको कैलालीका किसान भोजराज ओझाले बताए।  खेतमा रासायनिक मलखादको जथाभावी प्रयोगले भने माटो बिग्रिदै गएको किसानको अनुभव छ । बाली लगाउँदा गोबर कम्पोष्ट मलको प्रयोग घट्दै जाँदा यसको विकल्पमा प्रयोग गर्ने गरिएको रासायनिक मलले माटो बिग्रेको ओझाले बताए ।  रासस