जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाको वातावरणीय अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई ध्यानमा राख्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो । स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्तर्गत जिल्लाको तिला गाउँपालिकामा सिमी जोन विस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गंगा पोखरेलले बताइन् ।
कृषि प्राविधिकहरूको प्रतिवेदन अनुसार कार्यक्रम छनोट गर्ने निर्णय भएको उनको भनाइ छ । यसैगरी पातारासी गाउँपालिका १, २ र ३ र गुठिचौर गाउँपालिका १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने जानकारी उनले दिइन् । स्याउ सुपरजोन परियोजना अन्तर्गत यसअघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भइरहेको थियो ।
कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिश गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताए ।
लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत् चक्लाबन्दी, बगैंचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ । जुम्ला क्षेत्र (ख) मा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनुपर्ने माग राख्दै आएका थिए । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । रासस