सामूहिक स्याउ उत्पादनमा जुटे युवा

कालीकोट । कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् ।      स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा फोइमहादेव गाउँका युवा समूह गठन गरेर सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउको राम्रो उत्पादन हुने क्षेत्र भएको र स्याउ सुपरजोन कार्यक्रमले सहयोग गरेकाले सामूहिक स्याउखेतीमा आफूहरूलाई लाग्न प्रेरित गरेको सुन्दर तरकारी तथा फलफूल समूहका अध्यक्ष शान्ति बुढाले बताए । ‘स्याउका लागि हाम्रो गाउँ नै उर्वरभूमि हो, हामीले कसरी आत्मनिर्भर हुने भनेर समूहको गठन गरेका थियौं,’ उनले भने, ‘हामीले समूह गठन गरेर स्याउखेतीमा लाग्ने सोच बनायौं, अहिले केही सहयोग स्याउ सुपरजोन कार्यक्रमले गर्दा सहज भएको छ ।’ स्याउ सुपरजोन कार्यक्रमको १ लाख ५० हजार अनुदान र समूहको १ लाख ५० हजार रुपैयाँ लागतमा स्याउको बारी सिँचाइ गर्न पोखरी निर्माण गरिएको अध्यक्ष बुढाले बताए । ‘हामीले सामूहिक स्याउ बारीमा पाँच हजार स्याउका बिरुवा रोपेका छौं,’ उनले भने, ‘पन्ध्र जनाको समूह छ, स्याउका बिरुवा रोपिएका ठाउँमा सिँचाइका पोखरीसमेत निर्माण गरेका छौं ।’   स्याउ र सिमी उत्पादनका लागि गाउँको माटो उपयुक्त भएका कारणले त्यसको उत्पादनमा लागेको स्थानीय प्रेमबहादुर बुढाले बताए । ‘रोजगारीका लागि अन्य ठाउँमा जानुभन्दा कृषि पेशा गरेर गाउँमै राम्रो आम्दानी लिन सकिन्छ,’ उनले भने, ‘गाउँमै स्याउ र सिमी खेतीका लागि राम्रो अवस्था छ, यसको माग पनि बढेकाले एकल खेती गर्नुभन्दा सामूहिक खेती गरौं भनेर सबै लागेका छौं ।’ कृषि र फलफूल उत्पादनका लागि विशेष जोड दिएको नगरपालिकाले प्रत्येक वर्ष कृषकहरूलाई स्याउलगायत कृषिका क्षेत्रमा अनुदानको व्यवस्था गरेको वडाध्यक्ष नन्दबहादुर कटुवालले बताए । ‘कृषि क्षेत्रबाटै नगरपालिकालाई समृद्ध बनाउने योजना छ,’ उनले भने, ‘त्यसै आधारमा कृषिमा लाग्ने युवालाई अनुदान दिएर प्रोत्साहन गर्ने गरेका छौ ।’      नगरपालिकाको मुख्य आयस्रोतका रूपमा स्याउ, सिमी र ओखर रहेकाले त्यसको उत्पादन तथा प्रवद्र्धनमा विशेष जोड दिइएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए । रासस