संविधानसभाका अध्यक्ष नेम्वाङको निधन : यसरी सम्झन्छन् उनका समकालीन-सहकर्मी नेताहरू

काठमाडौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । गए राति हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङको उपचारको क्रममा त्यहीं निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी गराएका थिए । उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायतले अस्पताल पुगेर श्रद्धाञ्जली दिएका थिए ।  विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरूपमा छवि बनाएका थिए । राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त  उनको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दु:ख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा एमाले पार्टीप्रति समवेदना प्रकट गर्नुभएको छ ।  नेम्वाङको निधनबाट मर्माहत : प्रधानमन्त्री दाहाल     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनले मर्माहत भएको बताउनुभएको छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।  पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी र साथी : अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताएका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भनेका छन्, “लोकतान्त्रिक संविधान निर्माण गर्न उनले पुर्‍याउनुभएको योगदान सधैं सम्झिरहने छौं । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !”  सभापति देउवाद्वारा दुःख व्यक्त  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले स्व: नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।   नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे     सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताएका छन् । नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन्। “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।” नेम्वाङको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले उपाध्यक्ष नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छन् । उनले नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, “म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”  नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनले सञ्चारकर्मीसँग नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट हामी सबै शोकाकुल भएको प्रतिक्रिया दिए । उपप्रधानमन्त्री श्रेष्ठले भने, “नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौंपुस्तासम्म स्मरण गरिरहनेछन् ।” संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको उनले उल्लेख गरे । “उहाँ (नेम्वाङ) संविधानबाट संविधान घोषणा गर्ने कुशल नेतामात्र हुनुहुन्थेन, उहाँ संसदीय अभ्यासमा सिद्धहस्त लोकतान्त्रिक नेतासमेत हुनुहुन्थ्यो,” उपप्रधानमन्त्री श्रेष्ठले भने । 'संसद्मा कुनै विषय जटिल बन्यो भने सबैले नेम्वाङको खोजी गर्ने गरेको स्मरण गर्दै उनले भने, “नेम्वाङले त्यसलाई निकास निकाल्नुहुन्थ्यो ।” अनुचित लेनदेन वा मिटरब्याजीसम्बन्धी विधेयक संसद्मा जटिल अवस्थामा पुगेको अवस्थामा त्यसलाई संसद्बाट पारित गरेर कानुन बनाउने दिशातर्फ निर्णायक भूमिका खेल्ने काम नेम्वाङबाट नै भएको उनले स्मरण गरे । नेम्वाङको भूमिकाबिना मिटरब्याजीसम्बन्धी कानुन पारित हुन सहज नभएको उनको भनाइ छ ।  उनी अत्यन्त मृदुभाषी, सरल र मिलनसार भएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेम्वाङका गुण सबैले अनुकरण गर्न योग्य रहेको बताए । उनले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। नेम्वाङको निधनबाट मुलुकले शालिन राजनीतिज्ञ गुमाएको छ– अध्यक्ष रेग्मी तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताएका छन् । उनले कानुनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानुनी र संवैधानिक इतिहासमा पूर्वसभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने उल्लेख गरे ।  पूर्वअध्यक्ष रेग्मीले भने, “सुवासजीको न्याय क्षेत्रमा राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उनले समन्वयकारी भूमिका खेल्नुभयो ।” उनले नेम्वाङप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना प्रकट गरे । सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छु : नेता खनाल पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन् । आज वक्तव्य जारी गर्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ कक्षा ७ देखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “हामीले माध्यमिक शिक्षासँगै पढ्यौं । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौं । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्‍यौ,” नेता खनालले भने, “मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरें, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्‍यौं ।” आफूहरू अलग–अलग पार्टीमा हुँदा पनि सधैं सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजनप्रति नेम्वाङ निकै दुःखी भएको बताए । “मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो,” उनले भने । नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित भएको उल्लेख गर्दै उनले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिएको बताए ।  संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे । नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक वृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए । राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारको निर्णय सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । राससको सहयोगमा

सम्बन्धित सामग्री

इलाममा पार्टीको विरासत जोगाउन सुहाङलाई राजनीतिमा अगाडि बढाउने एमालेको तयारी

काठमाडौं,२ असोज । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि प्रतिनिधि सभाअन्तर्गत इलाम निर्वाचन क्षेत्र २ रिक्त भएको छ । संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री, लेखा समितिको सभापतिकोसमेत जिम्मेवारी सम्हालेका नेम्वाङको गत मंगलबार हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचन […]

संसदमा रिक्त भयो सुवासचन्द्रको सिट (फोटो)

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष एवं एमाले सांसद सुवास नेम्वाङको निधन भएपछि (इलाम-२) एक स्थान खाली भएको सूचना संसद्‌लाई जानकारी गराएका छन्।घिमिरेले संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराएका हुन्।मंगलबार हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो। उनको निधनमा बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गरेको थियो। त्यस्तै, बैठकमा कानुन,

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। हृदयघातका कारण संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। पार्टीका उपाध्यक्ष नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ। ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीलाई पक्राउ नगरे राप्रपाले आन्दोलन गर्ने चेतावनी दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको झन्डै १ किलो सुन बरामद गरिएको छ भने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुवासचन्द्र नेम्वाङ : शालीन नेताको अकल्पनीय निधन

काठमाण्डाै - नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवि बनाएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।गएराति १ बजे हृदयघात भएपछि उहाँलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधान दिवस आउन एक हप्ता बाँकी रहँदा त्यही संविधान जारी गर्ने नेतृत्वकर्ता नेम्वाङको दुःखद निधन भएको छ । नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ...

‌नेम्वाङको निधन: एमालेले तीन दिनसम्म शोक मनाउने, पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं- नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेकाे हो। बैठकले पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेकाे छ। यसैगरी, बैठकमा नेम्वाङको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो। एमालेले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै […]

एमाले उपाध्यक्ष  सुवास नेम्वाङको निधन

काठमाडौँ- संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव  कृष्णप्रसाद काफलेल...

नेम्वाङको निधन : प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्ष लगायत अस्पतालमा

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको राति साढे १ बजे निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष पुगे शिक्षण अस्पताल

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् । त्यो खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी […]