हस्तकला उद्योगको विकास र व्यापार प्रवर्द्धनबारे अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले कोभिड–१९ पश्चात् हस्तकला उद्योगको दिगो विकासका अवसर र चुनौती तथा व्यापार प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत बिहीवार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले हस्तकला लगायत वस्तुको निर्यात प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए । विगत १० वर्षको समग्र निर्यातको तथ्यांक सन्तोषजनक नरहेको भन्दै उनले यसलाई हरेक वर्ष २० प्रतिशतसम्म बढाउन सके ५ वर्षमा दोब्बर पुर्‍याउन सकिने बताए । हस्तकलाका शिल्पलाई पुस्तान्तरणमा मात्र सीमित राख्न नहुने धारणा राख्दै उनले यसमा नयाँ उद्यमीहरूलाई आकर्षित गर्न र नयाँ बजारको खोजी गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका सभापति एवं नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंका अध्यक्ष मीरा भट्टराईले हस्तकला उद्योगले विदेशी मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन रूपमा योगदान पुर्‍याउँदै आएको बताइन् । यसको प्रवद्र्धन गर्न सकेमा देशको सर्वांगीण विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोभिड महामारीपछि हस्तकला उद्योगमा परेको नकारात्मक असरले निर्यात व्यापारमा कमी आएको बताए । यसै अवस्थालाई दृष्टिगत गरी उद्योगलाई चलायमान बनाउन महासंघले हालै हस्तकला व्यापार मेला आयोजना गरेको उनले उल्लेख गरे । संघका उपाध्यक्ष किरणकुमार डंगोलले स्थानीय तथा केन्द्रीय स्तरका सरकारी विभिन्न निकायबाट तयार पारिने नीति र नियमबाट हस्तकला क्षेत्रमा सुधार ल्याउन सकिने बताए । नेपाली हस्तकलाको प्रवर्द्धनका लागि विशेष पहल गरिदिन उनले योजना आयोगलाई आग्रह समेत गरे । सेमिनार सत्रको अध्यक्षता गरेकी राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंले हस्तकलाको प्रवर्द्धन विदेशमा मात्र होइन, आन्तरिक बजारमा पनि पर्याप्त मात्रामा गर्नुपर्ने आवश्यकता औंल्याइन् । यस्तो विषयमा पनि पर्याप्त अनुसन्धान गरी व्यवसायीले राष्ट्रिय नीतिमै समावेश गर्न पहल गर्नुपर्नेमा उनले जोड दिइन् । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयश खनालले व्यापार प्रवद्र्धनका लागि ट्रेड पोर्टलको उपयोग विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै नेपाल खुला विश्वविद्यालयका प्रा.डा. अरहन स्थापितले कोभिड १९ प्रभावित कालमा हस्तकला उद्योगको दिगो विकास अवसर र चुनातीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल हस्तकला महासंघका प्रतिनिधि, निर्यात परिषद्, स्वच्छ व्यवसायी समूह नेपाल, विभिन्न जिल्ला, प्रदेश तथा वस्तुगत संघका प्रतिनिधि एवं प्राज्ञहरू लगायत ६५ जनाको सहभागिता थियो ।

सम्बन्धित सामग्री

गति लिँदै पर्यटन व्यवसाय

हाम्रो देश प्राकृतिक दृष्टिले विश्वमा नै अतुलनीय सौन्दर्यले भरिपूर्ण भएकाले यहाँ पर्यटन व्यवसायको ज्यादा सम्भावना रहेको छ । हावापानीमा विविधता, उचाइमा विविधता, वनस्पति तथा जीवजन्तुमा विविधताजस्ता कारणले गर्दा नेपालमा पर्यटन व्यवसाय ज्यादा फस्टाउने क्षेत्र हो । यसले हाम्रो अर्थतन्त्रमा समेत महत्त्वपूर्ण टेवा दिँदै आएको छ । विश्वमा रहेका अग्ला चौधमध्ये आठओटा त नेपालमानै रहेका छन् । त्यसैगरी निकुञ्ज आरक्षणका दर्जनां क्षेत्र पनि रहेका छन् जसले पर्यटकलाई आकर्षित गरेको छ । कोरोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्वपूर्ण पनि छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नराम्ररी थलिएको यो व्यवसायले अब भने केही गति लिन थालेको सरोकारवालाहरू बताइरहेका छन् । अझै पनि हामीले पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन सकेका छैनौं । उनीहरूले चाहेअनुसारका सुविधा, सेवा र सुरक्षा दिनुका साथै अन्य नवीन गन्तव्यको खोजीमा समेत जोड दिनुपर्ने देखिन्छ । नेपालमा पर्यटक दृश्यावलोकन, पदयात्रा, मनोरञ्जन तथा साहसिक खेलका लागि आउने गर्छन् । मानव जाति स्वभावैले भ्रमणशील हुन्छ । उनीहरूले घुमफिर गर्दै अनेकौं चालचलन तथा रहनसहनसमेत अवलोकन गर्दै आएको वास्तविकता सबैका सामु छँदै छ । हाम्रा हिमनदीमा पर्यटक जलविहार गर्न औधी रुचाउँछन् । साथै बन्जिजम्पिङ, हात्तीपोलो जस्ता रोमाञ्चक खेलका लागि समेत पर्यटक नेपाल भ्रमण गर्न आउँछन् । यहाँको प्राकृतिक तथा जैविक विविधतामा आफूलाई भुलाउन पनि विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको तथ्यांकले देखाउँछ । खासगरी पदयात्राका लागि अन्नपूर्ण, धवलागिरि र खुम्बुक्षेत्र निकै चर्चित रहेका छन् । यसबाहेक काठमाडाैं उपत्यका नगरकोट धुलीखेलसहित पोखरा, चितवन, लुम्बिनी, जनकपुर, गोर्खा, पाल्पा आदि क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा पर्यटक ज्यादा रमाइरहेका हुन्छन् । नेपालमा मनाइने विविध खालका चाडपर्व जात्रा तथा महोत्सवका बारेमा विदेशी पर्यटक अध्ययन र अनुसन्धानसमेत गर्न रुचाउँछन् । हाम्रो जातीय संस्कृति वेशभूषा आदिले पनि उनीहरूको मन लोभ्याउने गरेको पाइन्छ । पर्यटन उद्योगले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करीब ५ प्रतिशत अंश ओगटेको पाइन्छ । पर्यटन व्यवसाय वा उद्योग नेपालीहरूका लागि वैदेशिक मुद्रा आर्जनको राम्रो माध्यम पनि हो । यति मात्र नभई रोजगारीको मुख्य आधारसमेत बनेको यस क्षेत्रको महत्त्व ज्यादा रहेको छ । पर्यटकलाई घुमाउने पथ प्रदर्शक, भरिया, होटेल तथा लजका कामदार, पर्यटक बोक्ने सवारीसाधन, उनीहरूलाई आवश्यक सामान बेच्ने व्यापारीलगायत हजारौंले रोजगारी प्राप्त गर्ने क्षेत्र पर्यटन नै हो । हस्तकला, चित्रकला, मूर्तिकला, काष्ठकला आदिबाट पनि धेरैले रोजगारी पाएका छन् । पर्यटन व्यवसायबाट घरेलु उद्योगलाई पनि टेवा पुगेको छ । पर्यटकलाई आकर्षित गर्ने कञ्चनजंघादेखि सैपाल हिमालसम्मका क्षेत्रलाई हिमालयन ट्रेल भनिन्छ । यसअन्तर्गत पूर्वी नेपालमा कञ्चनजंघा सरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्छन् । मध्यक्षेत्रका लाङटाङ, गोसाइकुण्ड र गौरीशंकर हिमाली क्षेत्रलाई पनि यसै ट्रेलअन्तर्गत समावेश गरिएको छ । यसैगरी पश्चिमका मनाङ, मुस्ताङ, मुगु, डोल्पाका पर्यटकीय क्षेत्रहरू यसअन्तर्गत पर्छन् । यस क्षेत्रको पर्यटनबाट ५ हजार मीटरमाथिको क्षेत्रमा हिमाली जनावर र वनस्पतिहरूको अवलोकन गर्न सकिन्छ । नेपाल पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिश गरेको छ । नेपाल ऐतिहासिक तथा धार्मिक स्थलका लागि पनि प्रसिद्ध रहेको छ । लुम्बिनी, जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, मनकामना, पशुपतिनाथ आदि मुख्य धार्मिक स्थलहरू हुन् । साथै काठमाडाैं उपत्यकाका प्राचीन दरबारहरू पर्यटकीय गन्तव्यका दृष्टिकोणबाट ज्यादै महत्त्वपूर्ण मानिन्छन् । यहाँ प्रयोग भएका काष्ठकला तथा वास्तुकला ऐतिहासिक र अतुलनीय रहेका छन् । यस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूले पर्यटकलाई सहजै आकर्षित गराउँछ । यहाँ भिन्न संस्कृति र परम्परा भएका १ सय २५ जातजातिका मानिसहरू बसोवास गर्छन् । प्रत्येक जातिको आफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्यमान्यता रहेका छन् । यही सांस्कृतिक विविधता अवलोकन गर्न ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गर्छन् । साहसिक पर्यटनअन्तर्गत र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जिजम्पिङ हिमाल आरोहण पर्छन् । पर्यटनबाट हामीले धेरै फाइदा लिन सफल पनि भएका छाैं । विदेशी मुद्राको आर्जन, रोजगारीको अवसर, घरेलु तथा साना उद्योगको विकास, राजस्वमा वृद्धि, व्यापार तथा कला संस्कृतिको प्रवर्द्धन र विश्वमा देशको प्रचारप्रसारजस्ता फाइदा हुन्छन् । हामीले थप गन्तव्य स्थलको पहिचान गरी यस क्षेत्रको विकासमा अझै प्रभावकारी पहल गर्नुपर्ने देखिन्छ । यो क्षेत्र हाम्रो आर्थिक विकासका लागि ज्यादै महत्त्वपूर्ण रहेको छ । निजीक्षेत्रको सहकार्यमा पर्यटन प्रवद्र्धनमार्फत पर्यटकको संख्या र राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्नुपर्छ । नेपालीका आत्मीयता, मैत्रीभाव, उदारता र विश्वास नै पर्यटकलाई पस्किने व्यञ्जन हुन् । पर्यटकहरूले अझै पनि आफू सुरक्षित अनुभूति गर्न सकेका छैनन् । उनीहरूले चाहेअनुसारका सेवासुविधा उपलब्ध गराउन पनि सकेका छैनाैं । सरकारी कार्यालयबाट प्राप्त गर्ने सेवा पनि झन्झटिलो र प्रक्रियामुखी हुँदा पर्यटकले समस्याको सामना गर्नु परेको वास्तविकता हामीले भुल्नु हुँदैन । पर्यटक लुटिने, ठगिने र उनीहरूका सामान हराउने घटनाहरू पनि यदाकदा घटने गरेका छन् जसले नकारात्मक सन्देश प्रवाह हुने खतरासमेत हुन्छ । नेपालमा धार्मिक पर्यटनको सम्भावना ज्यादा रहेको छ किनभने यहाँ अनेकौं देवदेवीका मन्दिर तथा देवस्थलहरू छन् । मूलतः भारतीय पर्यटक पशुपतिनाथको दर्शन गर्न हजारौंको संख्यामा आउने गर्छन् । त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देशबाट पर्यटक आउने गर्छन् । हाम्रो अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको पर्यटनको विकासका लागि सरकार तथा अन्य सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्छ । कारोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्त्वपूर्ण पनि छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

सम्भावना बोकेको हस्तकला उद्योग

कुनै पनि देशका कला र संस्कृति त्यस देशका अमूल्य निधि हुन् । यिनीहरूको संरक्षण संवर्द्धन गर्नु राष्ट्रको दायित्व हो । नेपालको ललितकला शताब्दीऔंदेखि विश्वमा प्रचलित छ । कुनै पनि व्यावसायिक संघसंस्थाको अस्तित्व तब मात्र सिद्ध हुन्छ, जब त्यस संघसस्ंथाले आफ्ना सदस्यहरूको सामूहिक व्यावसायिक हक, हित, प्रवर्द्धनमा आत्मसात् गरी समयानुकूल पहल, लवी गरी सम्बद्ध पक्षहरू, राज्य, सरकार, निकाय, राष्ट्रिय तथा क्षेत्रीय, महादेशीय, अन्तरराष्ट्रिय मञ्चहरूमा पुर्‍याई समग्र उद्योगको विकासमा प्रतिबद्ध रहन्छ । त्यसकारण नेपाल हस्तकला उद्योग महासंघबाट समग्र उद्योग, पेशा र व्यवसायको उत्थानका लागि परिणाममुखी पहल हुनुपर्छ । जिम्मेवारपूर्ण व्यवसाय, जसमा वातावरणमैत्री, कामदारमैत्री, पेशाकर्मीमैत्री जस्ता विशेषता विद्यमान रहन्छन् । जहाँ हस्तकलाको उत्पादन तथा निर्माणबाट वातावरणमा प्रतिकूल प्रभाव तथा असर नहुने, हस्तकलामा आबद्ध कलाकर्मीहरूको उचित सम्मान, समायानुकूल जीविकोपार्जनका लागि श्रमको उचित ज्याला प्रदानका लागि निश्चितता अनिवार्य शर्त रहन्छ । यो विषय अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली हस्तकलाको विक्री प्रवर्द्धनमा महत्वपूर्ण पक्ष हो । नेपालले हस्तकलाको विक्रीका लागि नयाँ मुलुकहरू पहिचान गर्नुपर्छ र निर्यात गरिरहेका देशहरूबाट पनि उपभोक्ताहरूको रोजाइ, छनोट, चासो र गुनासोहरू संकलन गरी अनुसन्धान तथा सर्वेक्षण गर्नुपर्छ । हस्तकला निर्माण र सृजनाका क्रममा स्थानीय क्षेत्रमा उपलब्ध प्राकृतिक, जैविक, खनिज, वनस्पति आदि कच्चा पदार्थका रूपमा प्रयोग गरीने भएकाले स्थानीय स्रोतसाधनको सहज उपलब्धतामा महासंघको पहल महत्त्वपूर्ण हुन्छ । हस्तकला उत्पादनमा यदाकदा प्रविधिको पनि प्रयोग गर्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै उत्पादन गर्न सहयोग हुने औजार, मेशिन प्रविधिको आयातमा सहुलियतका लागि सरकारसँग पहल गर्न जरुरी छ । यसको उत्पादनका लागि चाहिने कच्चापदार्थ, रसायनको आयातमा पनि सहजता हुनुपर्छ र विदेशतर्फ निर्यात गर्दा हस्तकला उद्योगले पाउने छुट तथा सहुलियतका लागि सरकार, नेपाल राष्ट्र बैंक, भन्सार विभागसँग निरन्तर समन्वय गर्नुपर्छ । रसरकारसँग संगठित रूपमा माग प्रस्तुत गर्न कुल उत्पादन, आयात, निर्यात, रोजगारी, कर, श्रमबजारमा योगदान, उद्योगमा महिलाहरूको संलग्नता, स्थानीय साधनस्रोतको प्रयोग, वस्तुनिष्ठ सत्य, तथ्य तथ्यांक प्रस्तुत गर्नु महत्त्वपूर्ण हुन्छ । कुनै पनि क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन, संरक्षण र संवर्द्धनका लागि सही तथ्यांक, नेटवर्क, आदान प्रदान, सहकार्य, समन्वय हुन जरुरी छ । यसअनुसार हस्तकला निर्माता, स्थानीय विक्रेता र निर्यातकर्ताबीचमा गहिरो सहकार्य, समन्वय तथा सञ्चार हुनुपर्छ जसमा महासंघले सेतुको काम गर्छ । यसको विकास र प्रवर्द्धनका लागि पर्यटन उद्योगको विकाससमेत जोडिएको हुन्छ । तसर्थ पर्यटन उद्योग र हस्तकला उद्योगबीचमा सहकार्य, समन्वय आवश्यक छ । महासंघले हस्तकला उद्योग व्यवसायसँग प्रत्यक्ष परोक्ष सरोकार राखी विद्यमान ऐनकानूून, उद्योग व्यवसाय ऐन, वैदेशिक लगानी तथा प्रविधि, हस्तान्तरण ऐन, भन्सार ऐन, बीमा ऐन, आयकर ऐन, कम्पनी ऐन, विदेशी विनिमयसम्बन्धी ऐन, विद्युतीय कारोबार ऐन आदिमा राखिएका प्रावधानबाट पर्ने असरको समीक्षा गर्दै संशोधनका लागि पहल गर्नुपर्छ । युवा उद्यमी तथा व्यवसायीहरूलाई आकर्षित गर्न तालीम, गोष्ठी सेमिनार, कार्यशाला, प्रदर्शनीको आवश्यक छ । राष्ट्रिय सञ्चारमाध्यमहरूका लागि हस्तकलासम्बन्धी चेतनामूलक वृत्तचित्र, श्रव्यदृश्य सामगी्रहरू प्रकाशन प्रसारण गर्ने कार्यले आम जनमानसमा हस्तकलाको योगदान, अवस्था पहिचान आदिको बारेमा सचेत गराउँछ । एक्काइसौं शताब्दी प्रचारप्रसारको युग भएकाले नेपाली हस्तकलाको व्यापक रूपमा प्रचार गरी उत्पादन, प्रयोग, खरीद, विक्रीमा आकर्षित गर्न जरुरी छ । व्यापार, मेला तथा प्रदर्शनीमा सहभागी हुँदा प्रवर्द्धन, प्रचार, प्रसार, जनसम्पर्क, हस्तकलाको माग, निर्यातमा वृद्धि तथा नयाँ ग्राहकसमेत प्राप्त गर्न सकिने हँुदा यसका लागि महासंघबाट वार्षिक क्यालेन्डर तय गरी जुट्नु आवश्यक छ । नेपाली हस्तकला उद्योग तथा व्यापारमा देखिएका वर्षौंदेखिका समस्याहरू शिक्षा तथा तालीमको अभाव, प्रवर्द्धनको कमी, युवाहरूमा हस्तकलाप्रति निरुत्साही भावना, सरकारी सहयोगको अभाव तथा हस्तकला निर्यातमा राज्यले दिएको नगण्य प्रोत्साहनलाई छलफल, विचार र विमर्श गरी समाधानमा जुट्नु आवश्यक छ । नेपालले हस्तकलाको विक्रीका लागि नयाँ मुलुकहरू पनि पहिचान गर्नुपर्छ र निर्यात गरिरहेका देशहरूबाट पनि उपभोक्ताहरूको रोजाइ, छनोट, चासो, दुःखेसो, गुनासोहरू संकलन गरी अनुसन्धान तथा सर्वेक्षण गर्नुपर्ने हुन्छ । तथ्यांक र अनुसन्धानबाट उद्योग तथा व्यवसायका मूल समस्याहरूको जरोसम्म पुग्न सकेमात्र यसलाई दिगो, सक्षम, आकर्षक बनाउन सकिन्छ । यसका लागि सामूूहिक पहल जरुरी छ । सन् १९७२ देखि २००५ सम्मको आँकडा हेर्दा नेपाली हस्तकला उद्योगको निर्यात उल्लेखनीय देखिन्छ । सन् २००५ पश्चात् मुलुकमा आएको विभिन्न परिवर्तन, महामारी, नाकाबन्दी आदिका कारणले गर्दा नेपाली हस्तकलाको बजार खस्केको देखिन्छ । गुणस्तर कच्चापदार्थ, डिजाइन, मूूल्य, प्याकेजिङ, प्रचारप्रसार, तालीम, बजार अनुसन्धान, प्रविधि, शीप, भौतिक पूर्वाधार, कानूनी संरचना, हौसला तथा प्रोत्साहनको अभावजस्ता कारणले नेपाली हस्तकलाको उद्योग तथा व्यापारमा असर गरिरहेको छ । त्यस्तै वनजन्य, धातुजन्य, कृषिजन्य, माटोजन्य, पशुजन्य, ऊनजन्य कच्चा पदार्थहरूको सहज, सरल, पहुँच भएमा नेपाली हस्तकलाको उत्पादनको क्षेत्रमा मनग्य विकास हुन सक्छ । विश्व बजारमा जाने नेपाली हस्तकलाको महत्त्वपूर्ण अंश रहेको नेपाली पश्मिनाका लागि चाहिने कच्चा पदार्थ हिमाली बाख्रा अर्थात् च्याङ्ग्राको पालनमा सरकारले हिमाली क्षेत्रमा प्रोत्साहन गरेमा उद्योगलाई सहज हुने तथा सँगसँगै किसानको जीवनस्तर पनि वृद्धि हुने दोहोरो फाइदा हुनेछ । नेपालमा रहेको वनपैदावारबाट उत्पादन गरिने हस्तकलाका लागि चाहिने कच्चापदार्थको सहजताका लागि उद्योग प्रयोजनमा प्रयोग गर्ने बनजन्य कच्चा पदार्थको ढुवानी, ओसारपसार आदिमा स्थानीय निकाय, समुदाय, प्रहरी, प्रशासनबाट हुने अवरोध, व्यवधान, हैरानीलाई कम गर्न आवश्यक छ । नेपालबाट विदेशतर्फ निर्यात गरिने हस्तकलामा सरकारबाट दिइने नगद प्रोत्साहनलाई बढाउन जरुरी देखिन्छ । नेपाली हस्तकला बजारका मूूलभूूत समस्याहरूमा विदेशी तयारी हस्तकलाको नेपाली बजारमा आयात, नेपाली हस्तकलाको प्रचारप्रसार, विज्ञापन प्रवर्द्धनको अभाव, उचित बजार मूूल्यको अभाव, प्रभावकारी ऐन नियमावलीको अभावजस्ता कारणले गर्दा स्थानीय बजार प्रभावित रहेको छ । त्यस्तै हस्तकलाको मुख्य समस्याका रूपमा देखिएको ढुवानी हो । उत्पादन विन्दुबाट सीधै उपभोक्ताबिन्दुसम्म नपुग्नु तथा उत्पादनको बारेमा स्पष्ट प्रमाणित लिपिबद्ध लिखतहरू उपलब्ध नहुनु पनि समस्या हो । विश्व इ–कमर्शतर्फ बढिरहेको अवस्थामा नेपाली हस्तकला उद्योगहरूले पनि यो अवधारणालाई अवलम्बन गर्न आवश्यक छ । त्यस्तै हस्तकलात्यसको प्याटेन्ट राइट नहुँदा सृजनाको अनाधिकृत नक्कल, चोरी आदिबाट कलाकर्मीहरूमा रहेको उदासीनता तथा पीडाबाट नव सृजनामा असर परिरहेको छ । सरकारले मूूल्य अभिवृृद्धि कर ऐन २०५२ को जारीसँगै हस्तकलालाई कर छूटमा राखेको छ । तथापि पूर्णरूपमा लागूू हुन नसकेको अवस्था छ । नेपालबाट विदेशमा प्रतिनिधित्व गर्ने अवैतनिक महावाणिज्य दूूतहरूबाट र राजदूतहरूबाट ती देशहरूमा स्थानीय बजारमा नेपाली हस्तकलाको प्रवर्द्धन, प्रचारप्रसार गर्न जरुरी छ । यूरोपेली संघका १५ राष्ट्र तथा अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, बेलायत, रसिया, दक्षिण अमेरिकी राष्ट्रहरू तथा दक्षिण पूूर्वएशियाली राष्ट्रहरूमा पहल गर्न सके नेपाल हस्तकला बजारल विस्तार हुन सक्छ । डिजिटल अर्थतन्त्रमा प्रभावकारी रहेको सामाजिक सञ्जालमा नेपाली हस्तकलाहरूको ब्रान्डिङ गर्न जरुरी छ । समग्र हस्तकला उद्योगी तथा हस्तकला निर्यातकर्ता व्यवसायी, स्थानीय हस्तकला व्यापारीहरूले सामूहिक सोचको विकास गरी समग्र हस्तकलाको पाई अर्थात् बजार बढेमा सबैले धेरथोर फाइदा पाउने सोच विकास गर्न जरुरी छ । उद्योग बढाउने, बजार विस्तृतीकरण गर्ने, बजारलाई विभिन्न विशेषताका आधारमा विविधीकरण गर्ने, बजार विस्तार गर्ने, गुणस्तरमा र विश्वसनीयतामा बढावा दिने कुरामा अग्रसर हुनुपर्छ । प्रविधि, गुणस्तर, जनशक्ति र बजारको विकास आजको आवश्यकता हुन् । हस्तकला उद्योगमा हस्तकलाका उत्पादनहरूमा निखार र एकरूपता ल्याउन प्रविधिको प्रयोग गर्नुपर्छ साथै प्याकेजिङ, उत्पादित सामानहरूको विवरण तथा जानकारी आदि विषयमा सचेत हुन जरुरी छ । नेपाली हस्तकलाका कालिगढहरूका लागि देश विदेशमा क्षमता अभिवृद्धि तथा त्यसपश्चात् पेशामा निरन्तरता, प्रतिबद्धताको निश्चितता एवं जागीर छाड्ने तथा तलबमा मोलमोलाइ गरी एकबाट अर्कोमा सर्ने वातावरणको कमी गराउनुुपर्छ । नेपालबाट विदेश निर्यात हुने ७० किसिमका हस्तकलाहरूमा वर्गीकरण गरी खास समस्याको पहिचान गरी त्यस क्षेत्रमा आबद्ध निर्यातकर्ता तथा उत्पादकहरूको बीचमा गहन अन्तरक्रिया छलफल गरी निर्यातका बेला उपभोक्ताबाट आएका प्रतिक्रिया, गुनासा र सुझाव निर्यातकर्ताहरूबाट संकलन गरी हस्तकला उत्पादकहरूले उत्पादनसँग सम्बन्धी समस्याहरू हल गर्न सामूूहिक पहल गर्ने तथा उत्पादकहरूले पनि निर्यातकर्ताबाट लिइएका सुझाव कालिगढसम्म पुर्‍याई गुणस्तरमा सुधार गर्न जरुरी छ । साथै ऐन, नियम, कार्यविधि, नीतिहरूबाट सृजित समस्याको समाधानका लागि प्रश्नावली तयार गरी आम सदस्यमाझ पठाउने र संकलन गर्ने तत्पश्चात् उक्त विषयलाई लिपिबद्ध गरी समयसमयमा पत्रकार सम्मेलन गरी राजनीतिक, कर्मचारी, नीति निर्माण तथा जनमानस तहमा सुसूचित गराउन जरुरी छ । प्रविधि हस्तान्तरण, क्षमता हस्तान्तरण, पुस्तान्तरण गर्न परिष्कृत सोच जरुरी छ । मुलुकमा सबै क्षेत्रमा ज्ञान हस्तान्तरणको सोच संस्कारको कमी छ,  जसलाई हस्तान्तरण गरिने हो त्यो वर्ग पनि सिक्न, जान्न र बुझ्नका लागि सचेत, गम्भीर र उद्यत हुन आवश्यक छ । नेपाली हस्तकला क्षेत्रको विकास र विस्तारका लागि हस्तकला उद्योग निर्यात आदि विषयबाट समग्र मुलुकमा हुने प्रभावलाई उजागर गर्नुपर्छ । हस्तकलाबाट रोजगारी सृजना, निर्यात तथा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गरी राष्ट्रिय आयमा योगदान, विदेशी मुद्रा आर्जन, नेपाली मूूल्य बराबरको स्थानीय कच्चा पदार्थको प्रयोगबाट स्थानीय जनतामा लाभ, स्थानीय बजारमा हस्तकला विक्रीबाट सरकारलाई राजस्व तथा निर्यातबाट नेपाल र अन्य देशबीच हुने व्यापारघाटा कटौतीमा योगदान मिल्छ । नेपालमा वातावरण तथा पर्यटनको विकासमा यो उद्योगको योगदान अर्को उदाहरणीय पक्ष हो । धूवाँरहित उद्योगका रूपमा परिचित हस्तकला उद्योगले वातावरण जोगाउन योगदान गरेको छ । यति नै बराबरको निर्यात गर्न अन्य उद्योगले वातावरणमा असर गर्छ । तर, वातावरणलाई कुनै हानि नगरी स्वच्छ तथा सफा किसिमबाट उत्पादन गर्ने उद्योगको पहिचान तथा बढावा जरुरी छ । साथै नेपालमा आउने पर्यटकलाई आकर्षणको केन्द्र बनेको नेपाली कलाकृतिको प्रतिबिम्ब नेपाली हस्तकलाबाट पर्यटन उद्योगको विकास तथा प्रचार प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुगेको छ जसमा नेपालमा आउने अधिकांश पर्यटकले नेपालबाट भ्रमणपश्चात् स्वदेश फर्कंदा उपहारका रूपमा लैजाने मुुख्य वस्तु नेपाली हस्तकला हो । हस्तकला उद्योगको विकास, प्रवर्द्धन र उत्थानलाई राज्यले प्राथमिकतामा राखेर यस क्षेत्रलाई सहुलियत दिँदै नेपाली हस्तकला विदेश निर्यातका लागि दूतावासको पहलमा निर्यात प्रवर्द्धन योजना बनाउनुपर्छ । उत्पादक, सरकार, बजार, निर्यातकर्ता, स्थानीय विक्रेता तथा ग्राहकसँग नियमित सम्पर्क संवाद, अन्तरक्रिया हुनुपर्ने भएकाले महासंघबाट वार्षिक कार्यक्रम तालिका बनाएर अगाडि बढ्नुपर्छ । यसका लागि हस्तकला उद्योगमा गर्नुपर्ने कार्यहरूलाई प्राथमिकताको आधारमा विभाजन गर्नुपर्छ । उत्पादकहरूका समस्या र अपेक्षा पहिचान गरी ती समस्या समाधान गर्न तत्काल र आगामी दिनमा गर्न सकिने कदम केके छन् छुट्ट्याउनुपर्छ । सबै कार्य एकैपटक गर्न चुनौतीपूर्ण हुन्छ । हस्तकला व्यवसायको समग्र समस्या समाधानका विषयमा सोच, विचार, चेतना, प्रतिबद्धता र प्रतिज्ञाबाट विनापैसा गर्न सकिने पहल तत्काल थाल्नुपर्ने हुन्छ । उद्योगमा देखिएको जनशक्तिको अभावलाई कम गर्न केकस्ता कदम अगाडि बढाउन सकिन्छ भन्ने विषयमा तालीम, शीप विकास, क्षमता अभिवृद्धि, वृत्ति विकास, ज्याला, जीवनस्तर उठानजस्ता गम्भीर विषयहरूमा सूक्ष्म अध्ययन गरी वास्तविक यथार्थ समस्यालाई क्रमबद्ध रूपमा समाधान गर्नुपर्छ । साथै, कार्यरत कालिगढ, कलाकर्मीहरूको तलब, ज्याला, सुविधा र वृत्ति विकासका योजनालाई सर्वे गरी महासंघबाट सबै सदस्यका लागि एकरूपता ल्याउनुपर्छ । निर्यात, रोजगारी, राजस्व, दक्ष जनशक्ति, स्थानीय कच्चापदार्थ प्रयोग तथा आयातित कच्चा पदार्थ, आयातित प्रविधि, मेशिन, प्रविधिलाई स्पष्ट रूपमा तथ्यांकमा निकाल्नुपर्छ । हामीले हाम्रा सबल, सकारात्मक, दूरगामी, महत्त्वपूर्ण योगदानहरूलाई खुलस्त रूपमा बाहिर ल्याउन सकेका छैनौं । यसबाट हाम्रो योगदानमा राष्ट्र अनभिज्ञ छ । विश्वबजारमा वातावरण ‘निष्पक्ष व्यापार, जिम्मेवार व्यापार’ तथा कामदारको वृत्ति विकास बारम्बार उठ्ने विषयहरू भएकाले यसमा सचेत र गम्भीर हुन जरुरी छ । आफ्नो उद्योग व्यवसायको सुधार आफैबाट थाल्नुपर्छ । लेखक नेपाल विज्ञापन संघका कार्यकारी निर्देशक हुन् ।