पुस २८, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीले यस वर्ष ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएपछिको पहिलो वार्षिक साधारण सभा बुधवार सम्पन्न गरी कम्पनीले ५० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।
कर प्रयोजनका लागि नगद लाभांशसमेत कम्पनीलेनै व्यवस्थापन गर्ने जानकारी दिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को खुद मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । नर्भिकले हाल कायम चुक्तापूँजी रू. १५ करोडको आधारमा ५० प्रतिशत बोनस शेयर वितरणपछि चुक्तापूँजी रू. २२ करोड ५० लाख पुग्नेछ । कम्पनीले साधारण सभाबाटै हाल रू. ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर रू.१ अर्ब पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ मा रू. ८ करोड ५६ लाख खुुद मुनाफा आर्जन गरेको थियो । सभाले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ । सभामा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेलासमेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको बताए ।
महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले बताएका छन् । उनले अस्पतालमा हालै आईभीएफ सेन्टर सञ्चालनमा आएकाले निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको समेत बताए ।
उनले हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि शेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने योजनासमेत रहेको बताए ।
सभामा कम्पनीका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा सञ्चालक र शेयरधनीको सहभागिता रहेको थियो ।