प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : चन्द्रप्रसाद ढकाल [अन्तरवार्ता]

नयाँ दिल्ली   । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । प्रतिनिधिमण्डलमा यसअघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ । हिजो साँझ नेपाल र भारतीय उद्योगी, व्यवसायीको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको महत्व र विशिष्टताको प्रशंसा र आवश्यकता दर्शाउनुभएको छ । भ्रमणका क्रममा बिहीबार केही महत्वपूर्ण सहमति वा समझदारीपत्रमा हस्ताक्षर पनि भएका छन् । त्यसले नेपालको दीर्घकालीन विकास र समृद्धिका लागि भारतीय लगानीको मार्गप्रशस्त पनि गरेको छ । यसपटकको प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घले नै समग्र निजी क्षेत्रलाई भ्रमणको क्रममा प्रतिनिधित्व गराएको थियो ।            महासङ्घ र भारतीय उद्योग परिसङ्घको आयोजनामा हिजो साँझ भएको नेपाल बिजनेस समिटका क्रममा दुवै देशका उद्योगी व्यवसायीले नेपालमा लगानीका सम्भावना र क्षेत्रका बारेमा पनि चर्चा गरेका थिए । समिटमा ठूलो सङ्ख्यामा दुवै देशका उद्योगी व्यवसायीको सहभागिता थियो । प्रधानमन्त्री प्रचण्ड, नेपालबाट भ्रमणमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत तथा भारतीय सङ्घीयमन्त्री पियुस गोयललगायत नेपाली उच्च सरकारी अधिकारीको पनि सहभागिता रहेको समिट आफैँमा उदाहरणीय नै बन्न पुगेको थियो । यस भ्रमण, निजी क्षेत्रको अपेक्षा र नेपालमा भारतीय लगानीको आयाममा केन्द्रित रहेर नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग नयाँ दिल्लीमा राससका समाचारदाता रमेश लम्सालले गरेको अन्तरवार्ताको सम्पादित अंश :            प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्षको तर्फबाट कसरी हेर्नुभएको छ ?            प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा निजी क्षेत्रको तर्फबाट सबैभन्दा ठूलो प्रतिनिधिमण्डल यसपटक सहभागी छ । यो आफैँमा पनि महत्वपूर्ण छ । निजी क्षेत्रलाई महत्व दिएर सहभागी गराउनुभएकामा प्रधानमन्त्रीज्यूलाई हामी निजी क्षेत्रका प्रतिनिधिहरूले धन्यवाद दिन चाहन्छौँ । भ्रमणमा भएका केही सहमतिहरू आफैँमा पनि महत्वपूर्ण रहेका छन् । भारत सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली लिने निर्णय स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभयो, यो आफैँमा महत्वपूर्ण छ । यसले निजी क्षेत्रलाई पनि थप लगानीका लागि मार्गप्रशस्त गरेको छ भन्ने हाम्रो बुझाइ हो । यसले नेपालको समग्र क्षेत्रको लगानीलाई थप विविधिकरण गर्ने छ भन्ने हामीले अनुमान गरेका छौँ । यसले लगानीको सुनिश्चितता पनि गर्नेछ । समग्र अर्थतन्त्रमा यसले ठूलो सहयोग गर्नेछ ।            सँगसँगै भ्रमणका क्रममा भएका अन्य सहमति तथा समझदारीले नेपालको विकास र समृद्धिको प्रक्रियालाई पनि गति दिनेछ । नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनाम अभिव्यक्त भएका धारणा आदिबाट पनि यो भ्रमण सफल भयो भन्ने मेरो ठहर छ । पत्रकार सम्मेलनका क्रममा उहाँहरूमा देखिएको आत्मविश्वासले पनि आगामी दिनमा द्विपक्षीय हितका विषयमा थप सहजता देखिँदै जाने अपेक्षा गर्न सकिन्छ । यसले आमरूपमा प्रष्ट सन्देश दिएको छ भन्ने मेरो बुझाइ छ । जलविद्युत् क्षेत्रको विकासका कुरा, सडक सञ्जालको विकास, डिजिटल भुक्तानीको विषयका अलावा रेल्वे लाइन विस्तार, एकीकृत जाँचचौकीको निर्माण, सञ्चालनलगायतका विषयले पनि थप स्पष्ट पारेको छ । यी विविध कारणले गर्दा भ्रमण सफल भयो भन्ने मेरो ठहर छ ।            उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको विजनेश समिटको अन्तर्य के थियो ? प्रधानमन्त्रीको भ्रमणको क्रममा यस्तो कार्यक्रमको आयोजना गरेर यहाँहरूले के सन्देश दिन खोज्नुभएको हो ?            प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नै हामीले यस खालको उद्योगी–व्यवसायीको साझा प्रयासबाट नेपाल बिजनेस समिटको आयोजना गर्यौँ । यो आफैँमा महत्वपूर्ण अवसर पनि हो । यसबाट दुवै देशका उद्योगी व्यवसायीको साझा मत, साझा चासोलाई एकै ठाउँमा राख्ने अवसर पनि पायौँ । भारतका उद्योगी व्यवसायीलाई पनि एकै स्थानमा भेला गरायौँ । सो समिटमा हाम्रा प्रधानमन्त्रीका अलावा भारतका उद्योगमन्त्री पियूष गोयलको पनि सहभागिता रह्यो । उहाँले सो कार्यक्रममा दिनुभएको अभिव्यक्ति पनि हाम्रा लागि महत्वपूर्ण रहेको छ । नेपालमा लगानीका लागि भारतीय निजी क्षेत्रलाई उहाँले गर्नुभएको आग्रह निकै सकारात्मक र अर्थपूर्ण छ । भारतीय व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उहाँले सार्वजनिकरूपमा अभिप्रेरित गर्नुभएको विषय हामी नेपाली व्यवसायीहरूका लागि पनि महत्वपूर्ण छ ।            सोही अवसरमा प्रधानमन्त्रीले नेपालमा लगानी गर्ने अवसर छ, त्यसमा सरकारले जुन खालको सहयोग गरेको छ र सहजीकरण गरेको छ भनेर प्रस्तुत गर्नुभएका धारणाले मलाई लाग्छ भारतीय साथीहरूलाई केही न केही प्रभावित पारेकै होला । सरकारले निजी क्षेत्रलाई लगानीका लागि अभिप्ररित गरेको छ र निजी क्षेत्रबिना विकासको प्रक्रिया अगाडि बढ्न सक्दैन भनेर हामीलाई उत्साहित गर्ने काम पनि प्रधानमन्त्रीज्यूले गर्नुभएको छ । यो पक्ष दुवै देशका व्यवसायीका लागि खुसीको विषय हो । निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी जुन योगदान छ, त्यसले पनि हाम्रो भूमिका के–कति हदसम्म महत्वपूर्ण छ भन्ने देखाएको छ । आन्तरिक र बाह्य लगानीलाई थप सहजीकरण नगर्दासम्म मुलुकको विकास र समृद्धिले अपेक्षित गति लिन सक्दैन भन्ने कुरा त स्पष्ट नै छ र यो बुझाइ आमरूपमा नै सतहमा आएकै छ । यसबाट हामी उत्साहित पनि छौँ र देश निर्माणमा हामीले आफूलाई जिम्मेवार महसुस पनि गरिरहेकै छौँ । प्रधानमन्त्री प्रचण्डले बिजनेस समिटमा भारतीय लगानीकर्तालाई जसरी खुल्ला हृदयका साथ नेपालमा लगानी गर्न आउनुहोस् भन्नुभयो, त्यसले मलाई लाग्छ पक्कै पनि केही न केही प्रभावित पारेको छ भन्ने लागेको छ । कतिपय भारतीय व्यवसायी साथीहरूले यस विषयमा हामीसँग पनि जिज्ञासा राखेका छन् र हामीले पनि विश्वस्त तुल्याउने प्रयास गरिरहेका छौँ ।            यहाँले हिजो समिटमा सम्बोधनका क्रममा नेपालमा लगानी गरेका भारतीय कम्पनीले राम्रो नाफा कमाएको दृष्टान्त प्रस्तुत गर्दै नेपालमा लगानीका लागि आमन्त्रण गर्नुभयो । यसबाट भारतीय लगानीकर्ता कत्तिको आश्वस्त हुनसके भन्ने ठान्नुहुन्छ ?            पक्कै पनि नेपालमा लगानी गरेका भारतीय कम्पनीले गरेको प्रगति सबैले थाहा पाएकै विषय हो । मैले त यहाँका उद्योगी, व्यवसायीहरूलाई त्यो उदाहरण प्रस्तुत गरेर नेपालमा आउनुहोस् र लगानी गरेर नाफा कमाउनुहोस् भनेको हो । निजी क्षेत्रको छाता सङ्गठनको हिसाबले पनि यो विवरण हामी आफैँमा पनि उदाहरणीय छ र हुनुपर्छ । सबैभन्दा बढी कर तिर्ने नेपालका पाँच ठूला कम्पनीमध्ये तीनवटा भारतीय लगानीकै छन् । भारतीय लगानीका कम्पनीले राम्रो प्रतिफल दिएका छन्, नेपालमा ठूला करदाता नै भएका छन् । त्यसमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, डाबर नेपाल, युनिलिभरलगायत छन् । कुल राजस्वमा योगदान गर्नेमा पनि विदेशी कम्पनी छन् । यसबाट के देखिन्छ भने नेपालमा लगानीका लागि अवसरै अवसर छन् । यो भावना त हिजोको कार्यक्रममा भारतीय उद्योगमन्त्रीले दिनुभएको अभिव्यक्तिमा पनि देखिन्छ ।            मलाई के लाग्छ भने नेपालमा अवसरै अवसर, धेरै सम्भावना छ । हरेक क्षेत्रमा सहजै लगानी गर्न सकिन्छ भन्ने स्पष्ट छ । जलविद्युत्, पर्यटन, सेवा क्षेत्र, भौतिक पूर्वाधार जहाँ लगानी गरे पनि हुन्छ । कृषि वा सेवा क्षेत्र जताततै लगानी गर्न सकिन्छ । वास्तवमा भन्ने हो भने हाम्रोमा जलविद्युत् क्षेत्रमा जुन खालको लगानीको अवसर छ, त्यसमा हालसम्म एक प्रतिशत पनि काम भएको छैन । हाम्रो वातावरणमा पनि उत्तिकै विविधता छ । प्रकृतिले दिएको अवसर पनि उत्तिकै महत्वपूर्ण छ । धार्मिक तथा सांस्कृतिकरूपमा पनि हामी उत्तिकै सम्पन्न छौँ । पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनीजस्ता क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउन सकिन्छ । अर्कातर्फ भारतबाट नेपालमा सामान बिक्री गर्ने हिसाबले हेर्दा पनि ११औँ ठूलो देशका रूपमा हामी छौँ । नेपाल र भारतबीचको जुन व्यापार तथा पारवहन सम्बन्ध छ, त्यो अर्को विशिष्ट पाटो छ । नेपालमा सामान उत्पादन गरेर भारतमार्फत निर्यात गर्दा पनि विश्वबजारमा प्राप्त भएका अनेकन लाभका हिसाबले पनि सहज छ । ड्युटी फ्रिका हिसाबले पनि उत्तिकै विशिष्ट छ । भारतीय लगानीकर्ताले नेपालमा लगानी गरे भने त असाध्यै ठूलो अवसर छ नि । यो कुरा हामीले उनीहरूलाई पनि बुझाउन सक्नुपर्छ । यी सम्भावनाका कुरा यहाँका लगानीकर्ताहरूलाई पनि थाहा दिनुपर्छ । यस्तै कार्यक्रमहरूबाट नै वातावरण बन्दै जान्छ भन्ने मलाई लाग्छ ।            प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा उद्योगी व्यवसायीका के–कस्ता अपेक्षा थिए, ती विषय सम्बोेधन भए कि भएनन् ?            सबैभन्दा ठूलो विषय भनेकै व्यापार घाटाको विषय थियो । जुन विषयलाई पछिल्लो भएको सहमतिले ठूलो राहत दिन्छ । यस्तै जलविद्युत् क्षेत्रमा जुन खालको सहमति भयो त्यसले अन्तत: निजी क्षेत्रको माग सम्बोधन गर्छ भन्ने लाग्छ । भारत सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली ल्याउने जुन सहमति गरेको छ, त्यसले समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको छ । अन्तरदेशीय प्रसारण लाइनको निर्माणका हिसाबले एकदमै राम्रो भयो । यस्तै हवाई सञ्जाल र मार्गका विषयमा पनि कुरा राम्रैसँग उठान भएको मैले बुझेको छु र त्यसको परिणाम पनि राम्रै निस्किएला भन्ने नै लाग्छ । त्यसमा दुवै देशका प्रधानमन्त्री सहमत हुनुभएको सूचना मैले पाएको छु । यस्तै डिजिटल पेमेन्टका सम्बन्धमा भएको सहमतिले अर्को आयाम स्थापित गरिदिएको छ । एकीकृत जाँचचौकी, रेलमार्ग, पाइप लाइन, झुलाघाटमा पुल बनाउने सहमतिले धेरै राम्रो परिणाम दिन्छ र निजी क्षेत्रको मागलाई पनि यसले सम्बोधन गर्छ भन्ने लाग्छ ।            नेपालको विद्युतीय भुक्तानी सेवा प्रदायक र भारतीय कम्पनीबीच भएको सहमतिले विद्युतीय भुक्तानीमा के–कस्तो सहयोग पुग्छ भन्ने यहाँलाई लाग्छ ?            अन्तरदेशीयरूपमा भुक्तानीमा जुन खालको जटिलता थियो, त्यसलाई यस खालको सहमतिले सहज बनाइदिएको छ । यसभन्दा पहिले निजी क्षेत्रका अन्य कम्पनीसँग यस खालको सहमति भए पनि सरकारीस्तरमा नहुँदा त्यसले गति लिनसकेको थिएन । आगामी दिनमा निजी क्षेत्रका अन्य कम्पनीलाई पनि यसमा थप काम गर्न सहज बनाएको छ । समग्रमा डिजिटल भुक्तानीका लागि सहज भएको छ । भारतमा अध्ययन गर्न आउने विद्यार्थी, उपचारका लागि आउने बिरामी, भ्रमणमा आउने नेपाली तथा यहाँ काम गरिरहेका नेपाली नागरिकलाई थप सहज बनाउने छ । हाम्रो प्रधानमन्त्री र भारतीय मन्त्रीले समेत यसको महत्वका बारेमा स्पष्ट पार्नुभएको छ । यसले पनि समग्ररूपमा सीमानाकामा नगद लिएर हिँड्दा भोग्नुपर्ने जटिलता हटाइदिएको छ । यो सहमतिले ठूलो भूमिका प्रदान गर्छ । प्रधानमन्त्रीज्यूको भ्रमणको यो अर्काे महत्वपूर्ण उपलब्धि हो भन्ने मलाई लाग्दछ ।            प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा निजी क्षेत्रको स्थान तथा सरकारले निजी क्षेत्रलाई दिएको महत्वलाई कसरी लिनुहुन्छ ?            नेपालका प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा नेपाली उद्योगी व्यवसायीलाई पनि राख्ने त पहिलेदेखि नै गरिएकै हो । हामी पनि कैयौँपटक आएका छौँ यस्ता भ्रमणमा । तर मलाई लाग्छ यसपालि सम्भवत: पहिलोपटक यति ठूलो प्रतिनिधिमण्डल सहभागी भएको हो । यो सबै प्रक्रियाको नेतृत्व नेपाल उद्योग वाणिज्य महासङ्घका तर्फबाट हामीले गरेका थियौँ । यो हिसाबले पनि जति पनि निजी क्षेत्रका छाता सङ्गठन छन्, त्यसलाई संयोजन गरेर निजी क्षेत्रको प्रतिनिधिमण्डलका रूपमा लिएर आउनु पनि आफँैमा महत्वपूर्ण छ । हामीले यहाँ राखेको धारणा, हामीले प्रस्तुत गरेका योजना र एजेण्डाका हिसाबले पनि यो भ्रमण दीर्घकालीन सोचसहितको छ र भयो भन्ने लाग्छ । अर्काे कुरा हामी आफैँले पनि यहाँका उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूसँग भेटेरै प्रत्यक्ष अन्तक्र्रिया गर्न पाउँछौँ र आफ्ना तर्फबाट लगानीका कुरा पनि गर्न पाउँछौँ । उहाँहरूसँग बसेर नेपालमा लगानीका लागि आवश्यक सूचना तथा वातावरण सेयर गरेर आश्वस्त पनि पार्न सक्छौँ । यो सब आखिर हामीले देशमै लगानीका लागि गरिरहेको प्रयास न हो । त्यसैले प्रतिनिधिमण्डल ठूलो भएर के फरक पर्छ र ? म त झनै राम्रो हुन्छ भन्ने ठान्छु ।            नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि आह्वान त गरियो, तर हामीले लगानीको वातावरण बनाउन आन्तरिकरूपमा के–कस्ता विषयमा सुधार गर्नुपर्ने छ ? निजी क्षेत्रको नेतृत्वको रूपमा के भन्नुहुन्छ ?            हेर्नुहोस् हामीकहाँ धेरै ठूलो झन्झट कागजी प्रक्रियामै छ । यो प्रक्रियागत झन्झटलाई तत्काल हटाइहाल्नुपर्छ । प्रक्रियामा अल्झिएर बस्दा हामी कहीँ पनि पुग्न सक्दैनौँ । हामीले बाहिर नभने पनि केही निश्चित जटिलता छन्, अप्ठ्यारा छन् । त्यसलाई सच्याउनुपर्छ । हाम्रो समग्र व्यवस्थामा सुधार गर्नुपर्छ । लगानीकर्ताले सहजरूपमा वातावरण बनोस् र बिनाझन्झट काम होस् भन्ने चाहन्छ । सरकारका निकायले पनि स्पष्टसँग बुझ्नुपर्छ । सरकारको पूर्ण संयन्त्रले धारतलीय यर्थाथलाई बुझ्नुपर्छ । तीनवटै तहका सरकारले लगानीका लागि अभिप्ररित गर्नुपर्छ, सहयोग गर्नुपर्छ । त्यसो भएमात्रै मुलुकको समग्र प्रगति हुनसक्छ । हाम्रोमा लगानीको अवसर पनि छ, निजी क्षेत्र तयार पनि छ । वैदेशिक लगानी पनि ल्याउन सकिन्छ भनेपछि त सहजीकरण त हुनुपर्यो नि । त्यसैले हाम्रो सरकारी संयन्त्र सहज र सहयोगी बन्नुपर्छ । यसबाट छोटो समयमा धेरै काम गर्न सकिन्छ । जस्तो कि हेर्नुस् न हामीले कुनै संरचना निर्माण गर्दा नै भोगेका छौँ कि हामीले भौतिकरूपमा निर्माण थालेपछि वर्ष दिन, दुई वर्षमा सकिने कामका लागि कम्तीमा पाँच–सात वर्ष प्रक्रियागत झन्झटमै समय खेर फाल्नुपर्छ । हामीले वैदेशिक लगानीलाई आकर्षित गर्ने हो भने हो यस्ता प्रावधान हटाउनै पर्छ । यस्तो उनीहरू सहन सक्दैनन्, जुन हामीले सहीरहेका छौँ ।            यतिबेला मुलुकको अर्थतन्त्र सङ्कटमा छ । यस्तो बेला निजी क्षेत्रको साझा सङ्गठनको प्रमुखको हैसियतले भन्नुपर्दा अब हाम्रा प्राथमिकतालाई कसरी निर्धारण गर्नुपर्ला भन्ने ठान्नुहुन्छ ?            हाम्रो अर्थतन्त्रमा समस्या देखिनुको पछाडि कोभिड, रसिया युक्रेन युद्धजस्ता समस्या प्रमुख कारणका रूपमा रहेको छ । नीति निर्माणमा रहेको समस्याका कारण पनि जटिलता छ । यसबाट बाहिर निस्कनका लागि सरकार, निजी क्षेत्र दुवैले सहकार्य गर्नु जरुरी छ । निजी क्षेत्र र सरकारका तर्फबाट, नियामक केन्द्रीय बैंक सबैले ध्यान दिनुपर्छ । कुनै एउटा संस्था राम्रो भएर मात्र भएन, समग्र क्षेत्रले यसमा ध्यान दिनुपर्छ । समग्र प्रणालीले इमान्दार प्रयास गर्नुपर्छ । समग्र क्षेत्र ठीक भए मात्र मुलुक ठीक दिशामा अगाडि बढ्छ । साझा समस्या हो भन्ने ठानेर अगाडि बढे मात्र समस्याको समाधान छोटो समयमा गर्न सकिन्छ भन्ने लाग्छ । यो सङ्कटबाट मुक्ति पाउनका लागि हामीले महासङ्घमार्फत केही भिजन अघि सारेका पनि छौँ । निजी क्षेत्रको आत्मबल थप उकास्नका लागि हामीले भिजनमार्फत काम गरिहेका पनि छौँ । त्यसमा सरकारको अझै धेरै साथ र सहयोग अपेक्षित छ । रासस

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैङ्कको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

ग्लोबल आइएमई बैङ्क लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्।

‘एकै पटक ब्रेक लगाए अर्थतन्त्र दुर्घटनामा’

नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्य समितिले एक सय दिनमा गरेका कामको प्रगति सार्वजनिक गरेको छ।...

चन्द्रप्रसाद ढकाल : व्यवसायमा लागेको ४० वर्षपछि व्यवसायीको सर्वोच्च पदमा

काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् । उनी व्यवसायिक यात्राको ४ दशकपछि उद्योगी व्यवसायीको ठूलो जिम्मेवारीमा पुगेका हुन् । अध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गोपनीयाको सपथ ग्रहण खुवाएका छन् । अब गोल्छा निवर्तमान अध्यक्ष बनेका छन् । ढकालले बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत सहमति गरेकोमा प्रदेश र केन्द्रीय सदस्यलाई आभार प्रकट गरेका छन् । सर्वसम्मतिको लागि वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारको उदार सोचले सम्भव भएको उनले बताए।  निजीक्षेत्रको योगदानका बावजूद यसलाई हेर्ने दृष्टिकोण राम्रो नरहेको र आम दृष्टिकोण परिवर्तन गर्ने उनले विश्वास दिलाए।  अध्यक्ष बनेपछि ढकालले आइतवार २ बजे नयाँ कार्यसमितिको पहिलो बैठक डाकेका छन् ।  को हुन् ढकाल ? अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायी हुन् । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीपछि अहिले अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करीब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका उनले विसं २०४५ बाट आफ्नो व्यवसाय शुरू गरेका थिए । विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ सालमा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरी अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका थिए । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठान नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।  ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् ।  ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको हिस्सेदारी छ ।  पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय  योगदान छ । औपचारिक माध्यममार्फत ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाललाई नेपाल सरकारले पटक–पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित गरेको छ । यस्तै रेमिट्यान्स व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिरेका आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ । यसरी आइएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको  आर्थिक–सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ । कोभिड–१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौँ रकम सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो । ढकालका तीन मन्त्र र पाँच प्राथमिकता महासङ्घको नव–निर्वाचित अध्यक्षका रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन् । अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानीगर्दा तीनवटा सिद्धान्तलाई सधैँ प्राथमिकतामा राख्छन् । पहिलो, आम जनतालाई सिधै फाइदा वा सेवा पुर्याउने, दोस्रो सरकारले प्राथमिकतामा राखेको क्षेत्र र तेस्रो, व्यवसायको रुपमा अघि बढाउन सम्भावना भएको क्षेत्रका रुपमा रहेको उनको भनाइ छ । महासङ्घ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन  प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य समेत अध्यक्ष ढकालको छ । ढकालले अध्यक्षका रुपमा पाँच वटा कामलाई प्राथमिकतामा राख्नुभएको छ । वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने पाँच कामलाई प्राथमिकतामा राखेको ढकालको भनाइ छ । राससको सहयोगमा

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल

महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभा मार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन्।...

अब हाम्रो बैंकिङ क्षेत्रमा १० प्रतिशत हिस्सा हुनेछ : चन्द्रप्रसाद ढकाल

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् । शनिवार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुसीयालीमा दुवै बैंकका कर्मचारीहरूले गरेको

व्यावसायिक आइडिया भए लगानीको समस्या छैनः चन्द्रप्रसाद ढकाल

काठमाडाैँ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्। बुटवलमा शनिबार आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए। ‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने […]

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ बाट सम्मानित

बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन्।...

चेक हस्तान्तरण

आइएमई डबलको डबल अफरको बम्पर भाग्यशाली विजेतालाई चेक हस्तान्तरण गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

पर्यटनमा पूर्वाधार

चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ काेभिड– १९ का कारण विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । कोभिडले पुर्‍याएको असरका विषयमा विश्वका विभिन्न संस्थाले प्रक्षेपण पनि गरिरहेका छन् । जोखिमपूर्ण व्यवसाय...

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले