औद्योगिक वातावरण विपरीतका कानून

नेपालमा औद्योगिक वातावरण हुन नसक्नुका अनेक कारणमध्ये विद्यमान केही कानून पनि बाधक रहेको लामो समयदेखि धेरैले भन्दै आएको कुरा हो । पुन: सोही कुरालाई पुस्ट्याइँ गर्दै नेपाल उद्योग परिसंघले विद्यमान २८ ऐन संशोधन तथा पाँचओटा खारेजीको माग गरेको छ । यीबाहेक नेपालमा अन्य ऐन पनि संशोधन र खारेजी गर्नुपर्ने हुन सक्छ, किनकि कानून भनेको जनताले बुझ्ने र कार्यान्वयन गर्ने खालको हुनुपर्छ । जुन कानून जनताले राम्रोसँग बुझ्दैनन् र कार्यान्वयन गर्न सकिने खालका हुँदैनन्, त्यस्ता कानून राख्नु भनेको मौकामा अरूका विरुद्ध प्रयोग गर्ने नियतबाहेक केही पनि होइन ।  तर, नेपालमा भने कहिल्यै प्रयोगमा नआउने थुप्रै कानून देखाएर शोषण गर्ने प्रचलन छ । कसैलाई दु:ख दिनुपर्‍यो भने वर्षौंंअघिका अनेक कानून खोतल्ने तर जे कुराले अप्ठ्यारो पारेको हो त्यसलाई सम्बोधन नगर्ने कानूनको खासै उपयोगिता हुँदैन । उद्योग व्यवसाय गर्न स्थिर कानूनको मात्र आवश्यकता नभई त्यस्ता कानूनमा स्पष्टता पनि हुनुपर्छ । परिसंघले भनेझै औद्योगिक व्यवसाय, विदेशी लगानी, विदेशमा लगानी, कालोबजारी, जग्गा प्राप्ति, जग्गाको हदबन्दी, कम्पनी, वन, खानी, सार्वजनिक–निजी साझेदारी तथा लगानी, श्रमसम्बन्धी, भूमि बोनसजस्ता कानूनको अहिलेको सन्दर्भमा कुनै अर्थ देखिँदैन । यीमध्ये कतिपय यस्ता कानून छन्, जो वर्षौंअघि बनेका छन्, जुन अहिलेको सन्दर्भममा छेउ, टुप्पो केही मिल्दैन । तर पनि सरकारले यस्ता कानून संशोधन वा खारेज नै गर्छ भनेर अझै विश्वास गर्न सकिँदैन, किनकि सरकारले यिनै कानूनको आडमा मनपर्दी गर्ने गरेको छ ।  औद्योगिक वातावरणलाई सहयोग नगर्ने कानून संशोधन वा खारेज नगर्ने तर देशमा उद्योग, व्यवसायको विकास भएन भनेर रोइकराई मात्र गर्ने हो भने यसबाट केही पनि उपलब्धि हुँदैन । तर, ढिलोचाँडो औद्योगिक वातावरण बिगार्ने यस्ता कानूनको विकल्प भने खोज्नैपर्ने हुन्छ । औद्योगिक वातावरणलाई सहयोग नगर्ने कानून संशोधन वा खारेज नगर्ने तर देशमा उद्योग, व्यवसायको विकास भएन भनेर रोइकराई मात्र गर्ने हो भने यसबाट केही पनि उपलब्धि हुँदैन । सरकारले आउँदो वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेका बेला उद्योगी, व्यवसायीले औद्योगिक वातावरणमा अवरोध ठानेका कानूनको झनै औचित्य देखिँदैन । त्यसैले स्वदेशी मात्र नभई विदेशी लगानी हुन नसकिरहेका बेला कहाँकहाँ अप्ठ्यारो छ भन्ने कुराको टुंगो लगाउन कुनै बहाना गर्नु हुँदैन । वैदेशिक लगानीकै कुरा गर्ने हो भने नेपालमा लगानी किन गर्ने भन्ने कुराको चित्तबुझ्दो जवाफ लगानीकर्ताले पाउन सकेका छैनन् । त्यसकारण सरकारले लगानीकर्तालाई विश्वासमा लिन सकेको छैन । यस्तो बेला निजीक्षेत्रले अघि सारेका समस्या सम्बोधन गर्नु सरकारको कर्तव्य हो । अप्ठ्यारोलाई सहज बनाउनेतिर कदम चाले मात्र सरकारले सहयोग गरेको ठहर्छ । उद्योगी व्यवसायीले भन्दै आएका कानून निर्माणजस्तो नियमित काम वर्षौंदेखि नहुने मुलुकमा उनीहरूले कुन आधारमा लगानी गर्ने भन्ने प्रश्न उठ्नु जायज हो । वास्तवमा नेपालमा लगानी गर्न चाहने विदेशीहरू यहाँको अस्थिर राजनीति, भ्रष्ट प्रशासन यन्त्र र कमजोर कानूनका कारण लगानीका लागि विश्वस्त हुन सकेका छैनन् । नीतिगत अस्थिरता, उद्योग व्यवसायमैत्री कानूनको अभाव, करको किचलोको अवस्थामा उद्योगी, व्यवसायीलाई लगानीका लागि आकर्षित गर्न त्यति सहज हुँदैन । त्यसैले लगानीमैत्री वातावरणका लागि आवश्यक कुरा केके हुन् भन्ने विषयमा लगानीकर्ताकै कुरा सुन्नुपर्छ र तिनलाई सम्बोधन गर्नुपर्छ ।  अन्यथा सरकारमा बस्नेलाई जवाफ थाहा छ भनेर गफ दिँदैमा लगानीकर्ता आश्वस्त हुँदैनन् । सम्पत्ति शुद्धीकरणको कानून बनाउन अन्तरराष्ट्रिय समुदायले पटकपटक आग्रह गर्दासमेत नेपालका सरकारले अटेरी गर्दा पनि वैदेशिक लगानी निरुत्साही भइरहेको सन्दर्भमा स्वदेशी लगानीकर्ताले उठाएका समस्यामा पनि सम्बोधन नहुने हो भने लगानी ठप्प हुने मात्र नभई लगानीकर्ता नै पलायन हुनसक्ने खतरा हुन्छ । स्वदेशी लगानीकर्ताले लगानी गरेपछि नाफा कमाउन खोज्नु स्वाभाविक हो भने सभ्य र विकसित देशका लगानीकर्ता पारदर्शी वातावरणमा लगानी गर्न चाहने र त्यसै प्रकारले नाफा लैजान खोज्ने हुन्छन् । त्यसैले सरकारले यस्ता विविध पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरी निकासको बाटो पहिल्याउनुपर्छ । सरकारले विभिन्न कानूनको प्रयोग गरी आफूलाई नियन्त्रणमुखी बनाउने सोच राख्नुभन्दा पनि सबैलाई प्रतिस्पर्धामा छोड्ने नीति लिनु बढी उपयोगी र बुद्धिमानी हुन्छ ।

सम्बन्धित सामग्री

चौधरी पक्राउको तरंग

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदवाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा व्यवसायी अरूण चौधरीलगायत तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रक्राउ गरी अनुसन्धान गरिरहेको छ । चौधरीको पक्राउले देशभर तरंग ल्याएको छ । एकातिर उद्योगी व्यवसायीहरूले राज्यले व्यवसायी पक्रेर आतंक मच्चाउन थालेको, लगानीको वातावरण बिगार्न आँटेको आरोप लगाएका छन् भने सर्वसाधारणले सरकारी जग्गा हिनामिनाको सही जाँचबुझ हुनुपर्ने बताएका छन् । अहिले अनुसन्धानकै चरणमा रहेकाले जग्गा हिनामिना भएको हो वा होइन, हो भने कोको जिम्मेवार छन् भन्ने कुरा खुलेको छैन । तथ्य जेजस्तो भए पनि चौधरी पक्राउ प्रकरणले उद्योगी व्यवसायीले आफ्नो व्यवसाय गर्दा निकै होश पुर्‍याएर काम गर्नु पर्ने तथ्य उजागर गरेको छ । देशभर सरकारी जग्गा लिजमा लिएर व्यवसायीहरूले व्यवसाय गरिरहेका छन् । त्यस्तै मुलुकले निजीकरण अभियान शुरू गरेपछि सरकारी उद्योग र जग्गासमेत निजीक्षेत्रले लिएको देखिन्छ । बाँसबारी जुत्ता कारखानाको जग्गा हडपेको अभियोग पनि यसै सन्दर्भसँग जोडेर चौधरी परिवारले सरकारी जग्गा कानूनी प्रक्रियाअनुसार नै लिएको दाबी गरेको छ । सीआईबीले भने ३ महिनासम्म अध्ययन गरेर दोषी देखिएपछि पक्राउ गरिएको दाबी गरेको छ । दुवै पक्षको भनाइ आआफ्नो ठाउँमा सही होलान् भन्ने ठानौं । तर, यसले नेपालमा सरकारी जग्गा व्यापक रूपमा हडपिएको तथ्यलाई भने उजागर गरेको छ ।  यसअघि नै सरकारले बालुवाटारको ललिता निवासको जग्गा हड्पेको विषयमा अध्ययन गरी विभिन्न व्यवसायी र कर्मचारीलाई पक्राउ गरेको थियो । तर, त्यो मुद्दाको अहिलेसम्म किनारा लाग्न सकेको छैन । त्यसैगरी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको विषयमा पनि अध्ययन गरेर सीआईबीले अभियुक्तहरूलाई पक्राउ गरेको थियो । यो मुद्दाको पनि अझै किनारा लागेको छैन । सुन तस्करीदेखि विभिन्न भ्रष्टाचार काण्डमा प्रहरीको सक्रियता देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अनुभूतिसम्बन्धी प्रतिवेदनले व्यापक भ्रष्टाचार हुने मुुलुकको सूचीमा नेपाल परेको देखाएको सन्दर्भमा सरकारले यस्तो तदारुकता देखाउनु सही नै हो । तर, सबैजसो मुद्दा नटुंगिँदा सरकारप्रति नै औंला उठेको छ । पूर्वदेखि पश्चिम सीमासम्मका सरकारी जग्गा कति हड्पिएका छन्, त्यसको लेखाजोखा सरकारसँग छैन । कतिपय जग्गा मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिको नाममा गएको छ । तर, यसलाई नीतिगत निर्णय भनेर छानबिन गर्ने गरिएको छैन ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गर्ने सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउने र व्यवसायी, नेता तथा कर्मचारी कसैलाई पनि नछाड्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । तर, गृहमन्त्रीमाथि नै प्रश्न उठेको छ, उहाँ निकट नेताहरूलाई सरकारले कुनै कारबाही गरेको छैन । फरार भनिएका व्यक्ति खुला हिँड्दा पनि पक्राउ गरिएको छैन । यस्तो आरोप सही हो भने अहिलेको धरपडक सही नियतले भएको छैन ।  सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको छ । तर, यस्तो घटनाले लगानीकर्तालाई आश्वस्त तुल्याउला कि आशंकित तुल्याउला ? आरोप प्रमाणित भए पनि नभए पनि सम्भावित लगानीकर्तामाझ जाने सन्देश भने नकारात्मक नै हुने देखिन्छ । नेपालको ठूलो व्यावसायिक घराना नै यसरी सरकारी जग्गा हडप्ने कार्यमा संलग्न हुन्छ वा आरोप लाग्छ भने नेपालको कानूनी व्यवस्था र कार्यान्वयनमा प्रश्न उठ्छ । प्रश्न चौधरी पक्राउले होइन, तीन दशकभन्दा बढी ढिलो गरी छानबिन हुनु र आरोप लगाउनुले उठेको हो । यसो भन्नुको अर्थ नेपालको कानून कार्यान्वयन पक्ष निकै फितलो छ र त्यो व्यक्ति वा दलको प्रभावअनुसार हुन्छ भन्ने देखिन्छ । अर्को, सरकारी जग्गा हिनामिनाको घटना यो मात्र होइन, अन्य धेरै छन् । पूर्वदेखि पश्चिम सीमासम्मका सरकारी जग्गा कति हड्पिएका छन्, त्यसको लेखाजोखा सरकारसँग छैन । कतिपय जग्गा मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिको नाममा गएको छ । तर, यसलाई नीतिगत निर्णय भनेर छानबिन गर्ने गरिएको छैन । त्यसैले सरकारले सरकारी जग्गा निजीको नाममा गएका सबै घटनाको अनुसन्धान गर्नुुपर्छ र यो समस्यालाई सदाका लागि सल्टाउनुपर्छ । कहिले को व्यवसायी, कहिले को कर्मचारी पक्रिनेमात्र होइन सम्पूर्ण जग्गाको व्यापक अनुसन्धान गरिनु आवश्यक देखिएको छ । अनि मात्र बेथिति कम हुँदै जान्छन् । सरकारले ‘छोरी कुटेर बुहारी तर्साउने’ मनसाय राखेको होइन/छैन भन्ने कुरा अनुसन्धानको व्यवहारबाट देखिनुपर्छ । कुत्सित मनसाय मात्र हो भने सरकारका यस्ता कदमले औद्योगिक वातावरण बिगार्दै लैजान्छ ।

औद्योगिक वातावरणमा २ दर्जनभन्दा बढी नियम कानून बाधक

काठमाडौं । विद्यमान कानून समयसापेक्ष नहुँदा औद्योगिक वातावरण र लगानी प्रोत्साहनमा बाधा पुगेको बताउँदै आएको निजीक्षेत्रले त्यसमा सुधार गर्न सरकारलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघले औद्योगिक व्यवसाय, विदेशी लगानी, विदेशमा लगानी, कालोबजारी, जग्गा प्राप्ति, जग्गाको हदबन्दी, कम्पनी, वन, खानी, सार्वजनिक–निजी साझेदारी तथा लगानी, श्रमसम्बन्धी, भूमि बोनससम्बन्धी लगायत २८ ओटा ऐन र नियमावली संशोधन गर्न, ५ ओटा ऐन खारेज गर्न र ३ ओटा नयाँ ऐन ल्याउन सरकारलाई सुझाव दिएको हो ।  परिसंघले प्रचलित कानूनमा भएका अवस्था, सुधार गर्नुपर्ने विषय र त्यसबाट पर्ने प्रभाव समेटिएको तीनमहले सुझाव पुस्तिका प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई बुझाएको छ । परिसंघले ‘कानूनमा सुधार, समृद्ध अर्थतन्त्रको आधार २०८०’ बनाएर सरकारलाई सोमवार बुझाएको हो । मौखिक रूपमा कानूनका कारण असहज भएको बताउँदै आएका व्यवसायीले लिखित रूपमा दफागत संशोधन र सुधारका लागि सुझाव दिएका हुन् ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले व्यवसायसँग सम्बद्ध सबै कानून, नियमावलीमा भएका व्यवस्था सम्बन्धमा कानूनविद्, पूर्वप्रशासक, चार्टर्ड अकाउन्टेन्ट र व्यवसायीहरूसँग विस्तृत छलफल गरेर तीनमहले सुझाव दिइएको बताए । ६ महीनाको गृहकार्यपछि सुझावलाई अन्तिम रूप दिइएको तथा संशोधन, खारेजी र थप कानून आवश्यक रहेको निष्कर्ष निकालिएको उनको भनाइ छ । यसअघि २०७५ मा पनि यस्तै सुझाव दिइएको अग्रवालले बताए । ऊबेला अहिले जस्तो बृहत्तर क्षेत्र नसमेटिएको उनको भनाइ छ । ‘सुझावअनुसार सुधार, संशोधन हुनेमा आशावादी छौं,’ अग्रवालले भने, ‘यसले आसन्न लगानी सम्मेलनलाई पनि सघाउनेछ ।’ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । उक्त सम्मेलनअघि नै लगानीका बाधक ऐन, कानून र नियमावली संशोधन गर्ने सरकारले बताउँदै आएको छ । मुलुकको विद्यमान कानूनी व्यवस्थाको सुधारबाट समग्र आर्थिक विकासमा टेवा पुग्ने अग्रवालको भनाइ छ । परिसंघको सुझावअनुसारको कानूनी व्यवस्था भए समग्र आर्थिक विकासमा टेवा पुग्ने बताइएको छ ।  तीव्र गतिमा लगानीको वातावरण बन्न र औद्योगिकीकरण हुन जरुरी रहेको भन्दै परिसंघले लगानी आकर्षित गर्न औद्योगिक विकासका लागि अनुकूल कानूनी व्यवस्थाको खाँचो औंल्याएको छ । संशोधन गर्नुपर्ने  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली–२०७७  सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन–२०७५ . सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली–२०७७  नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली–२०७८  औद्योगिक व्यवसाय ऐन–२०७६  औद्योगिक व्यवसाय नियमावली–२०७८  विशेष आर्थिक क्षेत्र ऐन–२०७५  राजस्व न्यायाधिकरण ऐन–२०३१  राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२  मूल्य अभिवृद्धिकर ऐन–२०५२ र नियमावली–२०५३  आयकर ऐन–२०५८  कम्पनी ऐन–२०६३  भूमिसम्बन्धी ऐन–२०२१  जग्गा प्राप्ति ऐन–२०३४  जग्गा हदबन्दी छूट दिनेसम्बन्धी आदेश–२०७८  श्रम ऐन–२०७४  श्रम नियमावली–२०७५  बोनस नियमावली–२०३९  सार्वजनिक खरीद ऐन–२०६३  वातावरण संरक्षण ऐन–२०७६ तथा नियमावली–२०७७  वन ऐन–२०७६  वन नियमावली–२०७९  विद्युत् ऐन–२०४९  संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि–२०८०  खानी तथा खनिजजन्य पदार्थ ऐन–२०४२  खानी तथा खनिजजन्य पदार्थ नियमावली–२०५६  संयुक्त आवासको स्वामित्वसम्बन्धी ऐन–२०५४ खारेज गर्नुपर्ने  विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१  क्षतिपूर्ति ऐन–२०१९  कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२  नेपाल एजेन्सी ऐन–२०१४  पेटेन्ट, डिजाइन र टे्रडमार्क ऐन–२०२२ नयाँ ल्याउनुपर्ने विदेशी विनिमय (नियमित गर्ने)  ऐन–२०१९ को दफा १० (क)  बमोजिम नेपाल राष्ट्र बैंकको सार्वजनिक सूचना  पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन  भुक्तानी सुरक्षण ऐन

अर्थतन्त्र उकास्न सरकार अलमलियो : पूर्वअर्थमन्त्री खतिवडा

विराटनगर। मुलुकको अर्थतन्त्र उकास्न सरकार अलमलिएको, तर अर्थतन्त्र संकटमा भने नरहेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । अर्थतन्त्र संकटउन्मुख भए पनि अहिलेको अवस्थाभन्दा तल नजाने उनको भनाइ छ । सूचकांकहरू सकारात्मक देखिएकाले अर्थतन्त्र संकटमा छ भन्न नमिल्ने उनले बताए । आइतवार मोरङ व्यापार संघको नवौं शृखंलाको ‘बिज टक’मा खतिवडाले व्यवसायी, उद्योगी र व्यापारीको मनोबल खस्कनुमा एउटा मात्रै कारण नभएको बताए । यद्यपि एउटा महत्त्वपूर्ण कारण भने लागत बढ्नु रहेको उनको भनाइ छ । निर्यातमूलक उद्योगको स्थापना गरेर व्यापार घाटामा सन्तुलन कायम गर्नुपर्ने सुझाव उनले दिए । करको नीति र मौद्रिक नीतिमार्फत पनि धेरै समस्या समाधान गर्न सकिने उनले बताए । ब्याजदरमा धेरै तलमाथि गर्दा आउने समस्याका बारेमा बैंकहरू र केन्द्रीय बैंकले पनि धेरै कुरा सिकेकाले अब त्यस किसिमको गल्ती नदोहोरिने अपेक्षा उनले गरे । ‘सरकारले कित्ताकाट रोकेपछि घरजग्गामा लगानी घट्यो, घरजग्गामा लगानी घटेपछि त्यसले निर्माण क्षेत्रमा असर गर्‍यो । निर्माणमूलक उद्योगको उत्पादनमा त्यसले असर गर्‍यो, उत्पादन घट्यो । बैंकहरूले लगानी नगर्दा उधारोमा दिएको सामग्रीको रकम उठेन, होलसेलरले उद्योगलाई रकम दिन सकेन, यो एउटा शृंखलामा समस्या आएकै हो,’ पूर्वअर्थमन्त्री खतिवडाले भने, ‘बैंकहरूले हौसिएर लगानी गरेकाले पनि समस्या आएको हो ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री मीनेन्द्र रिजालले ३० वर्षको समग्र मुलुकको उपलब्धिको मूल्यांकन गर्दा मुलुकमा परिवर्तन भएको महसूस हुने बताए । यद्यपि नेपालको शासन प्रणाली ८–९ वर्षदेखि सही ढंगले चल्न नसकेको टिप्पणी उनले गरे । अर्थतन्त्र चलायमान बनाउन विगतका गल्तीहरू दोहोरिन दिन नहुने उनले बताए । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकको चर्काे ब्याजदर, बजारमा मागमा आएको कमी, निजीक्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक नहुनु र औद्योगिक वातावरण नबन्नुले निजीक्षेत्रको मनोबल खस्किएको बताए । सरकारले अथतन्त्र सुधार्न दीर्घकालीन नीति लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सरकारको आर्थिक सुशासन कायम नभएको औंल्याए । निजीक्षेत्रको ढाड सेक्ने १९ ओटा कानून रहेकाले सरकारले त्यस्ता कानून खारेज गरी निजीक्षेत्रले निर्बाध लगानी गर्ने वातावरण बनाउनुपर्ने धारणा उनले राखे ।

सेजमा भएका गल्ती

सरकारले निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्न विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गरी सञ्चालनमा ल्याए पनि ती राम्ररी सञ्चालनमा आउन सकेनन् भने तिनले निर्यातमा पनि खासै योगदान दिन सकेनन् । सेज प्राधिकरणले गत वैशाख र असारमा दुईदुईपटक सेजका प्लटमा उद्योग स्थापना र सञ्चालन गर्न भाडामा दिने सूचना जारी गर्‍यो तर कुनै पनि उद्योगले यसका लागि आवेदन दिएनन् । त्यसैले सेजमा उद्योगीहरू आकर्षित नभएको तथ्य हालै अनुमति रद्द भएको २० ओटा प्लटले समेत पुष्टि गर्छ । चीनले पाएको उपलब्धिबाट प्रभावित भई भारतलगायत देशले सेज स्थापनाबाट उल्लेख्य सफलता पाए पनि नेपालमा भने सेज असफल भएको देखिन्छ । किन नेपालमा चाहिँ सेज प्रभावकारी बन्न सकेन त ? सेज असफल हुनुका कारणबारे अध्ययन गरेर हालै नीति अनुसन्धान प्रतिष्ठानले प्रतिवेदन सार्वजनिक गर्‍यो । यसले त्यसमा सेजका लागि छानिएको ठाउँ नै गलत भएको निष्कर्ष निकालेको छ । सेजलाई सफल बनाउने प्रमुख कारक तत्त्वहरूमा स्थान चयन विशेष महत्त्वपूर्ण हुन्छ । तर, भैरहवा र सिमरा दुवै सेजका लागि चयन गरिएका स्थानहरू अन्तरराष्ट्रिय अभ्याससँग नमिल्दो देखिन्छ । सेजको स्थापना द्रुतगतिको सडक र रेल्वे नेटवर्कसँग जोडिएको, सुक्खा बन्दरगाहसँग गाँसिएको, नजिकको सामुद्रिक बन्दरगाहसँग यातायात र पारवहन सम्झौताले आबद्ध भएको र हवाई कार्गोका दृष्टिले अन्तरराष्ट्रिय विमानस्थलको शीघ्र पहुँच भएको स्थान चयन गरिनुपर्छ । तर, दुवै सेज भारतको सीमाबाट नजिक भए पनि न रेल्वे नेटवर्कसँग जोडिएका छन् न द्रुतमार्गबाट नै । हवाई कार्गोका लागि पनि ती ठाउँ उपयुक्त छैनन् । नेपालमा यस्तो कनेक्टिभिटी नै नभएका कारण सेज स्थापनाको औचित्य पुष्टि हुन सकेको छैन ।  सेजको स्थापना द्रुतगतिको सडक र रेल्वे नेटवर्कसँग जोडिएको, सुक्खा बन्दरगाहसँग गाँसिएको, नजिकको सामुद्रिक बन्दरगाहसँग यातायात र पारवहन सम्झौताले आबद्ध भएको र हवाई कार्गोका दृष्टिले अन्तरराष्ट्रिय विमानस्थलको शीघ्र पहुँच भएको स्थान चयन गरिनुपर्छ । उत्पादन केन्द्रित विशेष आर्थिक क्षेत्र, अग्र र पृष्ठ सम्बन्ध भएका उद्योग तथा सेवा उत्पादन गर्ने उद्योग स्थापनार्थ विशेष आर्थिक क्षेत्रमा अनुमति दिनुपर्छ । तर, सिमरामा गार्मेन्टस् विशेष आर्थिक क्षेत्र भनेर तोकिँदा गार्मेन्टस् उद्योगका सहयोगी उद्योगहरू जस्तै टाँक, धागो, कपडा, इम्ब्रोइडरी, डाइङ जस्ता उद्योगहरू, फेशन डिजाइनिङ सेवा, अर्ध र पूर्णदक्ष कामदार उत्पादन गर्ने शीपमूलक स्कूल आदिलाई सिमरा विशेष आर्थिक क्षेत्रमा प्रवर्द्धन गरेको देखिएन । त्यसैले यो असफल भयो । सेजको प्रभावकारिताका लागि ऐन कानून पनि त्यसैअनुसारको हुनुपर्छ । तर, यस्तो समन्वय नेपालमा देखिएको छैन । विदेशी लगानी ल्याउँदा र फिर्ता लैजाने विद्यमान प्रक्रिया सरलीकरण गर्न र औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ३७ ले व्यवस्था गरेको उद्योग विभागमा रहने ‘एकलविन्दु सेवा केन्द्र’ लाई मात्रै चिनेको पाइयो । अर्थात्, विदेशी लगानी ल्याउने र फिर्ता लैजाने व्यवस्थालाई सेज प्राधिकरणमा रहने विशेष आर्थिक क्षेत्र ऐनको दफा ३३ ले सृजना गरेको एकद्वार एकाइलाई नचिन्ने देखिन्छ । यसबाट विदेशी लगानी ल्याउने लगानीकर्ताले विशेष व्यवहार र प्राधिकरणमा रहने एकद्वार एकाइबाट सेवा नपाउने स्थिति उत्पन्न गरेको छ । त्यसैले लजिष्टिक सम्भाव्यताको आधारमा अन्तरराष्ट्रिय सिमानाबाट नजिकको दूरी, यथासम्भव द्रुत राजमार्ग वा रेलमार्गको सुविधा पुगेको तथा पुर्‍याउन सकिने स्थान, विद्युतीकरण र सञ्चारजस्ता अत्यावश्यक पूर्वाधारहरूलाई दृष्टिगत गरेर मात्रै विशेष आर्थिक क्षेत्रहरूको विकास गर्ने नीतिगत व्यवस्था गरिनुपर्दछ । त्यसैगरी औद्योगिक नीतिसँग देशको समग्र आर्थिक नीतिहरू र सहयोगी हुनुपर्ने क्षेत्रगत नीतिहरूबीच नीतिगत तालमेल कमजोर रहेकाले त्यसमा सुधार गर्नुपर्ने देखिन्छ । विशेष आर्थिक क्षेत्रमा संसारभर देखिने अर्को विशेषता एकलविन्दु सेवा नेपाली विशेष आर्थिक क्षेत्रमा उपलब्ध भएको छैन । यी कारणहरूले गर्दा लगानीकर्ता विशेष आर्थिक क्षेत्रमा लगानी गर्न इच्छुक नभएकाले उक्त समस्या एवम् मुद्दाहरूको सम्बोधन गर्नु आवश्यक देखिएको छ । सेजको आवश्यकता औद्योगिक जगत्ले देखे पनि नेपालमा यसका लागि आवश्यक चक्र तयार नभएकाले नै यो असफल भएको देखिन्छ । औद्योगिक वातावरण नहुँदा नयाँ उद्योग खुल्न गाह्रो भइरहेको अवस्थामा निर्यातमूलक उद्योग नखुल्नु कुनै अनौठो होइन । नेपालको निर्यातमा परम्परागत वस्तुहरूको वर्चस्व रहेकाले नयाँ वस्तुमा सम्भावना नदेख्दा निजीक्षेत्र यसतर्फ आकर्षित नभएको देखिन्छ । त्यसैले निर्यात सम्भावना भएका उत्पादनको खोजी गरी उत्पादन विशेषका आधारमा सेज स्थापना गर्दा बढी व्यावहारिक हुन सक्छ ।

बजेटमा कस्ता योजना समेट्दै छन् उद्योगमन्त्री बडू ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी आर्थिक वर्षदेखि नेपालमा औद्योगिक वातावरण बन्ने बताएका छन् । आयात प्रतिस्थापन तथा निर्यात वृद्धि र रोजगारी वृद्धिका लागि उत्पादनमूलक उद्योगको छुट्टै महत्व रहेकाले यस्तो उद्योगको प्रोत्साहनमा लाग्ने उनले बताएका हुन् ।उत्पादन वृद्धि गर्नका लागि चाहिने कानून र नीति बनाउन सरकार तयार रहेको समेत उनले बताए । यसका लागि उद्योगीले भनेअनुसार कानून निर्माणमा हदैसम्मको लचकता अपनाउने उनको योजना छ । बजेटको पूर्वसन्ध्यामा सरोकारवालाहरू निकायसँगको भे

उत्पादनमूलक क्षेत्रमा कर्जा

बैंकहरूमा तरलताको समस्या लम्बिँदै गएपछि नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा नियन्त्रण गर्ने उद्देश्यका साथ आफ्नो नीतिमाथि पुनर्विचार गर्न थालेको छ । बिहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उसले अनुत्पादक क्षेत्रमा गइरहेको कर्जामा कडाइ गर्ने र उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाहका लागि प्रोत्साहन गर्ने बताएको छ । व्यापारघाटाको डरलाग्दो अंक र उत्पादनमूलक क्षेत्रको सुस्त प्रगतिका कारण राष्ट्र बैंक यस्तो निर्णयमा पुगेको देखिन्छ । तर, केन्द्रीय बैंकले लिएका धेरै नीति निस्प्रभावी देखिइरहेको अवस्थामा उसको नीतिबाट सकारात्मक परिणाम आउने अपेक्षा कमै गर्न सकिन्छ । उत्पादन बढाउन सस्तो कर्जा उपलब्ध गराएर मात्र पुग्दैन । अन्य औद्योगिक वातावरण पनि सँगसँगै आवश्यक हुन्छ । कृषिक्षेत्रका लागि ब्याजमा अनुदान दिने केन्द्रीय बैंकको नीतिपछि यस क्षेत्रमा ठूलो लगानी भइसक्दा पनि अपेक्षित लाभ नदेखिनु यसैको उदाहरण हो । कोरोना महामारीपछि बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५९ अर्ब रुपैयाँ बराबर पुनर्कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराएका छन् । कोरोनाबाट थलिएको अर्थ अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुर्‍याउन केन्द्रीय बैंकले यस्तो कर्जाको व्यवस्था गरेको थियो । कोरोनाबाट थलिएको अर्थतन्त्रलाई यस्तो सहयोग अझै आवश्यक रहेको निजीक्षेत्रको माग भए पनि राष्ट्र बैंकले आफ्नो नीतिमा पुनर्विचार गर्ने बताएको छ । उसको विचारमा यो कर्जाको दुरुपयोग भएको छ । उद्योग व्यवसाय जोगाउन लिएको रकमको ऋणीले थोरै हिस्सा यस क्षेत्रमा प्रयोग भएको र ठूलो अंश शेयर तथा घरजग्गामा लगानी गरेको निष्कर्ष राष्ट्र बैंकको देखिन्छ । घरजग्गामा देखिएको ठूलो कारोबार तथा वृद्धिले यसलाई पुष्टि गर्ने आधार दिएको छ । घरजग्गाको कारोबारबाट अनौपचारिक अर्थतन्त्र झनै बढेको विश्लेषण पनि अर्थशास्त्रीहरूको रहेको छ । मुलुकभरि नै जग्गाको भाउ बढेको र प्लटिङ गरेर जग्गा विक्री बढी नै हुन थालेपछि राष्ट्र बैंक सतर्क भएको अनुमान छ । घरजग्गाको भाउ अत्यधिक वृद्धिले नयाँ उद्योग खोल्नसमेत समस्या थपिदिएको छ । त्यसैले यस क्षेत्रमा कडाइ गरी उत्पादनमूलक उद्योगलाई तुलनात्मक रूपमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउँदा उत्पादन बढ्छ भन्ने अनुमान राष्ट्र बैंकको देखिन्छ । नेपालमा प्रभावकारी अनुगमन संयन्त्र नहुँदा तथा अनुगमन यथार्थपरक तथा पारदर्शी नहुँदा नीतिगत तथा कानूनी छिद्रको प्रयोग गरी छिटो लाभ लिने प्रवृत्ति पाइन्छ । कोरोना प्रभावितलाई राहत प्रदान गर्न दिएको यो सुविधाको दुरुपयोग भएको सन्दर्भमा नयाँ नीति पनि त्यस्तै नहोला भन्न सकिँदैन ।  साथै, शेयर, घरजग्गा, सवारीसाधन आदिमा जाने कर्जाले अर्थतन्त्रमा योगदान नपुर्‍याएको निष्कर्षसहित निक्षेपको ब्याजदर बढ्न दिने नीति लिइएको छ । राष्ट्र बैंकले १९ प्रतिशत कर्जा विस्तार गर्ने नीति लिए पनि कर्जा विस्तारको ६ महीनाको अवस्था हेर्दा २७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कर्जा विस्तार गर्नुको अर्थ अर्थतन्त्र विस्तार हुनु हो । तर, उत्पादन वृद्धि नहुँदा तरलतामा चाप परेको छ र आयात तीव्र बढेको छ । त्यसो त नेपालीहरूको हातमा पुगेको पैसा बचत र लगानी गर्नुभन्दा उपभोगमा बढी खर्च भइरहेको छ । उपभोग्य वस्तु स्वदेशी उत्पादन नभई विदेशी हुने गरेको छ । त्यही कारण व्यापार घाटाको आँकडा निरन्तर बढ्दो छ । विश्व अर्थतन्त्रको गति हेर्दा कृषि, उत्पादनमूलक उद्योग हुँदै सेवाक्षेत्र फस्टाएको देखिन्छ । तर, नेपालमा कृषिक्षेत्रको जनशक्ति सेवाक्षेत्रतर्फ लाग्दा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान बढी देखिन थालेको छ । उत्पादनमूलक क्षेत्रमा प्रगति नगरी सेवा क्षेत्रमा प्रवेश गर्दा अर्थतन्त्रको गति अस्वाभाविक देखिन्छ । त्यसैले उत्पादन बढाउन आवश्यक छ । अर्धवार्षिक समीक्षामा उत्पादनमूलक क्षेत्रका लागि सस्तो ब्याजदरको कर्जा उपलब्ध गराउने नीति लिइएको छ । तर, उत्पादन बढाउन सस्तो कर्जा उपलब्ध गराएर मात्र पुग्दैन । अन्य औद्योगिक वातावरण पनि सँगसँगै आवश्यक हुन्छ । कृषि क्षेत्रका लागि ब्याजमा अनुदान दिने केन्द्रीय बैंकको नीतिपछि यस क्षेत्रमा ठूलो लगानी भइसक्दा पनि अपेक्षित लाभ नदेखिनु यसैको उदाहरण हो । नेपालमा प्रशासनिक, राजनीतिक र अन्य कारणले आद्यौगिक वातावरण बन्न सकिरहेको छैन ।   त्यसैले कर्जाका साथै अन्य औद्योगिक वातावरण पनि बनाइनुपर्छ । कानून संशोधन, लगानीकर्ताले बेहोर्नुपरेका विविध झन्झट हटाउने, कच्चा पदार्थ र औद्योगिक वस्तुको आयातमा रहेको करसम्बन्धी विवाद समाधन गर्नुपर्नेलगायत समस्या समाधान गरी उत्पादनमूलक उद्योगहरू खोल्न प्रोत्साहित गर्नु अहिलेको आवश्यकता हो ।