विकासमा अलमल

नेपालले सहस्राब्दी लक्ष्य प्राप्त गर्न मात्र नभई प्रगतिको तीव्र प्रतीक्षामा रहेका नागरिकका लागि समेत यतिखेर विकास निर्माण दु्रत गतिमा अघि बढाउनु पर्नेछ । विकसित देशको दाँजोमा पुग्न नेपालले गर्नुपर्ने थुप्रै काम बाँकी छन् । यथार्थमा भन्ने हो भने नेपालले एकाधबाहेक उदाहरणीय र ठूला आयोजना गर्नै सकेको छैन । राजनीतिक दलका नेताहरूका कुरामा भने नेपालले विकासका अनेक चरण पार गरिसकेको छ । पूर्वपश्चिम रेलदेखि नारायणी र कोशी नदीमा पानी जहाज चलाउने तथा नेपाललाई भारत र चीनसँग रेलले जोड्ने कुरा सबै नेपालीले सुनेकै हुन् । चासो दिने हो भने संकटका बेला पनि लक्ष्य प्राप्त गर्न सकिँदो रहेछ भन्ने उदाहरण राजस्व प्राप्तिको उदाहरणले देखाउँछ । कोरोना महामारीका कारण कमजोर आर्थिक अवस्थामा पुगेका जनतासँग जसरी हुन्छ राजस्व संकलन गरेको सरकारले विकास बजेट खर्च गर्न नसक्नु निकै लाजमर्दो हो । हरेक सरकारले जनतालाई विकासका कुनै न कुनै आश्वासन बाँड्दै आएको छ । तर, ती आश्वासन केवल जनताका लागि सपना मात्र भइरहेका छन् । यो क्रम वर्षौंदेखि चल्दै आएको छ । विडम्बना जति समय बित्दै जान्छ, उति नै सुधार हुनुको साटो झन् अवस्था बिग्रँदो छ । चालू आर्थिक वर्षको चैत १ गतेसम्मको पूँजीगत खर्चको अवस्था पनि उस्तै छ । अघिल्लो वर्ष कोरोना महामारीले चरम रूप लिएका बेला भन्दा पनि चालू वर्षको ८ महीनामा विकास बजेट ७८ अर्ब ३६ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । अहिलेसम्म खर्च भएको विकास बजेट कूल पूँजीगत बजेटको २० दशमलव ७३ प्रतिशत मात्र हो । पहिलो कुरा त विकास बजेट नै न्यून छुट्ट्याइनु र अर्कोतर्फ छुट्ट्याइएको बजेट पनि खर्च हुन नसक्ने हो भने नेपाल कहिले विकसित बन्ला र कहिले यो देशका नागरिकले विकासको अनुभूति गर्न पाउलान् भन्ने प्रश्न अहम् रूपमा आएको छ । देशको अवस्थाअनुसार यतिखेर विकास निर्माणका कार्य भ्यागुते उफ्राइमा हुनुपर्ने हो । तर, विनियोजित पूँजीगत बजेट नै खर्च हुन नसके पनि शासन सत्ताको बागडोर सम्हालेका व्यक्तिहरूलाई भने यस्तो अवस्थाको कुनै चिन्ता भएको देखिँदैन । यदि पूँजीगत बजेट खर्च नभएकोमा शासन सत्ताको बागडोर सम्हालेकालाई चिन्ता हुन्थ्यो भने यो विषय राष्ट्रिय प्राथमिकतामा परिसक्थ्यो । पूँजीगत खर्च नभएको विषयमा अर्थमन्त्रीले यसो बेलाबेला धेरै बजेट विनियोजन गरिएका मन्त्रालयका अधिकारीहरूलाई बोलाएर सामान्य छलफल गरेको देखिए पनि यसमा राष्ट्रिय स्तरमा पहल नहुनुले सरकार विकासमा त्यति चासो दिँदैन भन्ने पुष्टि हुन्छ । विकास निर्माणका कार्यलाई जोड दिने हो भने गर्न नसकिने भन्ने पनि होइन । आज विकास निर्माणका लागि विश्वमा प्रविधिको व्यापक प्रयोग भइसकेको छ । तिनै प्रविधिको सिको गर्ने हो भने धेरै प्रगति हात पार्न सकिन्छ । दुई छिमेकी मुलुक भारत र चीनले विकासमा निकै फड्को मारेकाले नेपाललाई ती मुलुकबाट सिको गर्न सकिने अवसर पनि छ । यसका लागि नेपालले सबभन्दा पहिला चासो दिनुपर्छ । चासो दिने हो भने संकटका बेला पनि लक्ष्य प्राप्त गर्न सकिँदो रहेछ भन्ने उदाहरण राजस्व प्राप्तिको उदाहरणले देखाउँछ । कोरोना महामारीका कारण कमजोर आर्थिक अवस्थामा पुगेका जनतासँग जसरी हुन्छ राजस्व संकलन गरेको सरकारले विकास बजेट खर्च गर्न नसक्नु निकै लाजमर्दो हो । भन्सार विभागले फागुन महीनामा ४५ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४१ अर्ब १९ करोड रुपैयाँ प्राप्ति गरेको छ । त्यस्तै आन्तरिक राजस्व विभागले सोही महीनामा २८ अर्ब ७२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा २८ अर्ब ३७ करोड रुपैयाँ उठाएको छ । यी उदाहरणबाट सरकार विकासप्रति संवेदनशील छैन भन्ने पुष्टि मात्र हुँदैन, यसले सरकार जसरी पनि जनतालाई शासकीयपन देखाउन चाहन्छ भन्ने देखिन्छ । २१ औं शताब्दीको प्रजातान्त्रिक शासन पद्धतिमा यस्तो प्रवृत्ति अँगाल्दा कुनै पनि देशको प्रगति नहुने भएकाले नेपालको वर्तमान सरकारको साथै मुख्य राजनीतिक दलहरू अब गम्भीर हुने बेला आएको छ । लक्ष्यअनुसार विकास निर्माण गर्न नसक्ने हो भने सरकारको बागडोर सम्हाल्ने अधिकार कसैलाई पनि हुँदैन । अहिलेको आवश्यकता कम्तीमा विनियोजित पूँजीगत बजेट खर्च गर्न सक्नु हो । सरकारलाई विनियोजित बजेट खर्च नगर्ने छूट हुँदैन ।

सम्बन्धित सामग्री

कर्मचारीको अवकाश उमेर बढाउन आवश्यक : क्रमिक रूपमा ६५ वर्ष पुर्‍याउनु उचित

निजामती सेवा देशको स्थायी सरकार हो । यसले सार्वजनिक नीतिनिर्माणमा सल्लाहकारको र नीति कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्छ । यस्तो महत्त्वपूर्ण सेवामा रहने कर्मचारीहरू स्थायी हुनुपर्ने मान्यता रहेको छ । स्थायीको अर्थ आजीवन सेवामा रहने भन्ने होइन । त्यसैले सेवा गर्न पाउने उमेरको हद तोकिएको हुन्छ । ६०–६५ वर्षको उमेरपछि व्यक्तिको उत्पादकत्वमा पनि कमी आउने गरेको पाइन्छ । सेवामा उच्च उत्पादकत्व भएका कर्मचारीहरूलाई मात्र राख्न नेपालमा निजामती कर्मचारीको अवकाशको उमेर ५८ वर्ष कायम गरिएको छ । अरू सरकारी बेतनधारीभन्दा निजामती कर्मचारीको अवकाश उमेर कम रहेको छ । कम उमेरमा अवकाशमा जाँदा उनीहरूलाई पेन्सन दिनुपर्ने र नयाँ नियुक्त हुनेलाई तलब पनि दिनु पर्दा राज्यकोषमा दोहोरो भार पर्ने भएकाले अवकाशको उमेर बढाउन उपयुक्त देखिन्छ । अवकाश हुने उमेरले राज्यले बेहोर्नुपर्ने पेन्सनबापतको वित्तीय दायित्व र नयाँ भर्ना हुने कर्मचारीको सरकारी सेवाको पहुँचलाई पनि असर गर्छ । सामान्य सत्य के हो भने सरकारको खर्च कम हुने गरी र नवप्रवेशीलाई विज्ञापन रोकेर हतोत्साहित नगर्ने गरी अवकाशको उमेर तोकिनुपर्छ । नेपालीको औसत आयु बढेकाले कर्मचारीको अवकाशको उमेर बढाउन उपयुक्त हुने दाबी पनि गरिएको छ । यसरी उमेर बढाउँदा एकैचोटि बढाउन नहुने तर्क प्रमाणमा आधारित छ । विगत केही वर्षदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयकमा कर्मचारीको निवृत्त हुने उमेर ५८ वर्षबाट ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ । यस्तो विधेयकको मस्यौदामा विगत ४–५ वर्षमा सहमति हुन नसक्दा विधेयक संसद्मा पेश हुन सकेको छैन । विगतमा अमुक व्यक्तिलाई फाइदा हुने गरी दबाबमा कानूनी व्यवस्था गर्ने नीति–निर्मातालाई देशले भोगेको छ र प्रभावितहरूले सरापेका पनि छन् । असहमतिको विषय अवकाशको उमेर नभएर प्रदेशको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति र सरुवा कसले गर्ने भन्ने रहेको बताइन्छ । यो विषय प्रशासनिक संघीयताको कार्यान्वयनसँग सम्बद्ध रहेकाले पनि पेचिलो बनेको स्पष्ट छ । तर, संघीय ऐन नआउँदा प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा अलमल भएको र स्थायी सरकार अस्थिर बनेकाले यो ऐन शीघ्र जारी हुनुपर्ने माग रहेको छ । निजामती कर्मचारीको अवकाशको उमेर बढाउँदा देशलाई नै फाइदा हुन्छ । नेपालीको औसत आयु बढेको सन्दर्भमा कर्मचारी पनि ढिलो उमेरसम्म सक्रिय रहने भएकाले ५८ वर्षमा नै अवकाश गर्दा उनीहरूले निष्क्रिय जीवन बिताउनु पर्दा देशको उत्पादनशील जनशक्तिको अनुपयोग हुन्छ । अनुभवी र खारिएका कर्मचारीको सेवाबाट देश वञ्चित हुनुपर्छ । कम उमेरमा अवकाशमा जाँदा उनीहरूलाई पेन्सन दिनुपर्ने र नयाँ नियुक्त हुनेलाई तलब पनि दिनु पर्दा राज्यकोषमा दोहोरो भार पर्ने भएकाले पनि अवकाशको उमेर बढाउन उपयुक्त हुने देखिन्छ । त्यसो त २०४९ सालअगाडि २०१३ र २०२१ सालको निजामती सेवा ऐनमा अवकाशको उमेर ६० वर्ष नै थियो । त्यतिबेला ५८ वर्षमा झार्न राजनीतिक पक्षको भूमिका रहेको बताइन्छ । व्यावसायिकता र राज्यकोषको सदुपयोगलाई यस्ता निर्णयको आधार बनाउनुपर्नेमा अरू नै आधारको सहारा लिँदा देशले अनावश्यक आर्थिक भार बोक्नु परेको यो अर्को उदाहरण हो । नीति र कानून बनाउँदा आर्थिक पक्षलाई ध्यान नदिँदा देशको वित्त प्रणालीमा भ्वाङ परेको स्पष्ट छ । त्यसैले अवकाशको उमेर बढाउन अब सबैको सहमति भएको अवस्था छ । तर, २ वर्ष मात्र बढाउने र एकैपटकमा बढाउने काम बेहोसी हुनेतर्फ कसैको ध्यान गएको देखिँदैन । दीर्घकालीन सोचका साथ अब अवकाशको उमेर ७ वर्ष थपेर ६५ वर्ष पुर्‍याउनुपर्छ । औसत आयु ७२ वर्ष पुगेको र सन् २०३० सम्म ७४ वर्ष पुग्ने अनुमान रहेकाले कर्मचारीहरूले ६५ वर्षसम्म मज्जाले काम गर्न सक्छन् । विश्वभर अवकाशको उमेर ६५ वर्षकै हाराहारी रहेको छ । विकसित देशमा यस्तो उमेर ७५ वर्षसम्म पनि रहेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नेपालबाहेक सबै मुलुकमा कर्मचारीको अवकाश उमेर ६० भन्दा माथि नै रहेको छ र यस्तो उमेर थप बढाउने चर्चा पनि चलेको छ । त्यसो त संवैधानिक निकाय र सर्वोच्चका न्यायाधीशहरूको क्रमश: नियुक्ति हुन पाउने र अवकाश हुने उमेर ६५ वर्ष रहेको छ । शिक्षक र स्वास्थ्यकर्मीहरू ६० वर्षमा सेवानिवृत्त हुने गरेका छन् भने उच्च अदालतका न्यायाधीशहरू ६३ वर्षमा अवकाश हुने व्यवस्था छ । अब सबै सरकारी बेतनधारीको अवकाशको उमेर ६५ वर्ष बनाउनु नै न्यायपूर्ण हुनेछ । तर, यसरी ६५ वर्ष बनाउँदा एकैचोटि बनाउनु हुँदैन । बढ्ने ७ वर्षलाई १२ महीनाले गुणा गर्दा ८४ महीना हुन्छ । यसलाई चारले भाग गर्दा २१ हुन्छ । यसको मतलब अवकाश हुने उमेर आगामी २१ वर्षसम्म प्रतिवर्ष ४ महीनाका दरले बढाएर ६५ वर्ष पुर्‍याउनुपर्छ । जर्मनीमा अवकाश उमेर ६५ बाट ६७ पुर्‍याउँदा १८ वर्ष लागेको थियो । यसमा पहिलो १२ वर्ष प्रतिवर्ष १ महीनाको दरले र पछिल्लो ६ वर्ष प्रतिवर्ष २ महीनाको दरले अवकाश उमेर बढाइएको थियो । होश र सुझबुझले बनाउने नीतिको यो शायद मानक नै होला । यसमा सेवामा रहेका र सेवा प्रवेश गर्न चाहने सबैको हितलाई सन्तुलन गरिएको छ । यसमा कोही बेखुशी हुनुपर्ने अवस्था छैन । अवकाश हुने १–२ महीना ढिलो गरेर अवकाशमा जान्छ र सेवामा प्रवेश गर्ने पनि १–२ महीनाले मात्र ढिलो गरी सेवामा प्रवेश गर्न पाउँछ । नवप्रवेशीलाई पनि यसले घात गर्दैन । यसमा सबैको जित–जितको अवस्था रहन्छ । कसैले कसैलाई सराप्नुपर्ने अवस्था रहनेछैन । राज्यको वित्तीय भार पनि क्रमश: घट्दै जान्छ । त्यसैले हामीले अवकाशको उमेर ७ वर्ष बढाउन २१ वर्ष लगाउनु सर्वथा जायज हुनेछ । यसमा नेतृत्वको पाकोपन प्रदर्शन हुनेछ । अध्ययनहरूले पनि युवा कामदार र स्वस्थ बूढा कामदारको उत्पादकत्वमा फरक नहुने देखाएका छन् । त्यसैले यस्तो व्यवस्था गर्ने सरकारलाई सबै कर्मचारी र लोक सेवा आयोगको तयारी गरिरहेका युवाहरूले धन्यवाद दिनेछन् । अन्त्यमा, प्रस्तावित संघीय निजामती सेवा ऐन अविलम्ब जारी गरी सबै तहको सार्वजनिक प्रशासनलाई व्यवस्थित गरिनु जरुरी छ । ऐन जारी नगरेर स्थायी सरकारलाई स्वविवेकमा चलाउने गलत बाटो लिनु हुँदैन । यस्तो ऐनमा अवकाशको उमेर ६० होइन ६५ वर्ष बनाउनुपर्छ । यसबाट अवकाश उमेरमा रहेको विभेदको पनि अन्त्य हुनेछ र लामो समय काम गर्ने पाउने लोभले योग्य युवा निजामती सेवामा आकर्षित हुनेछन् । यसरी बढ्ने ७ वर्षका लागि प्रतिवर्ष ४ महीनाका दरले २१ वर्षको लामो समयावधि लगाउनु पर्नेछ । अमुक व्यक्तिलाई लक्षित गरेर गरिने निजामती सेवा ऐनको संशोधनबाट निजामती सेवाले धेरै चोट खाएको छ । सबैको सचेतनाको स्तर बढेको समाजमा अब जर्मनीलगायत देशले अभ्यास गरिसकेको विधिसम्मत र वैज्ञानिक आधार लिनुको विकल्प छैन । खारिएका कर्मचारीको सेवाबाट देशलाई वञ्चित गरी राष्ट्रिय उत्पादकत्वमा कमी आउन दिनु हुँदैन । निजीक्षेत्रले पनि यसबाट सिक्नेछ र सबैले ढिलो उमेरसम्म काम गरी अर्थतन्त्रको विकासमा योगदान गर्नेछन् । अस्थिर राजनीति र शासन प्रणालीलाई केही हदसम्म स्थिर बनाउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसमा सबैको विजय हुनेछ । नेतृत्वले पनि सबैको भरोसा जुटाउनेछ । शासनमा सुशासनको उदय हुनेछ । लेखक योजना आयोगका कार्यरत छन् ।

खप्तडको विकासमा सधैं अलमल

‘भूस्वर्ग’ उपमा पाएको खप्तड क्षेत्रको विकास गर्न सके समग्र सुदूरपश्चिमको आर्थिक विकासमा कोसेढुंगा सावित हुने कुरा उठेको झन्डै आधा शताब्दी पुग्न थाल्यो । ०३२ सालतिरदेखि सार्वजनिक रूपमा खप्तडमा पर्यटन विकासको कुरा उठ्न थालेको हो । त्यसयता तत्कालीन राजा वीरेन्द्रसहित उच्चपदस्थ सरकारी अधिकारीले बर्सेनि खप्तडको भ्रमण गरे ।

ब्रोकर लाइसेन्सको अस्पष्टता

वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिने योजना लामो समयदेखि अलपत्र छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई छुट्टै सहायक कम्पनी स्थापना गरी शेयर ब्रोकरको कारोबार गर्न पाउने व्यवस्था गरेको थियो  । वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजार र समग्र लगानीकर्ताको हितमा हुन्छ भने ढिला गर्नुको कुनै अर्थ छैन । साथै, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा थप समस्या आउँछ भने उनीहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने होइन । सोही नीति अनुसार राष्ट्र बैंकबाट डेढ दर्जन बैंकहरूले अनुमति लिएका छन् । लगत्तै बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि–२०७६’ पनि जारी गर्‍यो जसअनुसार ११ बैंकहरूले सहायक कम्पनी दर्ता गरेर आवेदन दिएका छन् । यति भइसक्दा पनि बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने विषय टुंगोमा पुगेको छैन । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले पनि वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिए पहुँच राम्रो हुने बताएका छन् । उनले बैंकहरूको कर्पोरेट गभर्नेन्स सिस्टम राम्रो भएको धारणा राखेका छन् । तैपनि वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिँदा रोजगारी घट्ने र विकास बैंक तथा अन्य वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिनेबारे के गर्ने भन्नेमा उनी अन्योलमा देखिएका छन् । बैंकहरूको आवेदनमा नेप्सेले अध्ययन गरिरहेकै बेला साढे एक वर्षअघि व्यवस्थापिका संसद्अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया स्थगित गर्न निर्देशन दिँदै ‘मुद्रा तथा पूँजी बजार’ को अध्ययनका लागि सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमितिसमेत गठन गरेको थियो । समितिले एक वर्ष लगाएर अध्ययन गरी इन्साइडर ट्रेडिङ नहुने लगायतका विषयहरू सुनिश्चित गरी बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको थियो । हरेक सिक्काका दुई पाटा हुन्छन् भनेझैं बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा र नदिँदा पनि नाफा/घाटा हुने भइहाल्यो । त्यसैले यस विषयमा शुरूदेखि नै आआफ्ना धारणा रहँदै आएका छन् । यहाँनेर महत्त्वपूर्ण कुरा सरकारी तवरबाट हुने निर्णय बहुसंख्यकको हितमा हुन्छ वा हुँदैन भन्ने हो । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजारको विकास हुन्छ भने त्यस्तो निर्णय गर्नु हुँदैन भन्ने केही छैन । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ हुँदैन भन्ने अवस्था नभएको सत्य हो  किनकि विद्यमान संरचनाले इन्साइडर ट्रेडिङका लागि ठूलै प्वाल छाडेको छ । विकसित मुलुकका बैंकहरूले नाफा र घाटाको प्रक्षेपण वर्षको शुरूमै गर्छन् । कथम्कदाचित् लक्ष्य पूरा हुन नसक्ने भयो भने तत्काल सर्वसाधारणलाई सूचना दिने गरिन्छ । तर, नेपालमा अझै यस्तो अभ्यास हुन सकेको छैन । त्यस्तै आन्तरिक रूपमा अन्य क्षेत्रभन्दा पारदर्शी र संरचनात्मक प्रणालीको विकास भए पनि नेपालका बैंक तथा वित्तीय संस्था विकसित मुलुकका वित्तीय संस्थाहरूको तुलनामा पारदर्शी छैनन् । प्रविधिको उच्चतम लाभ लिन नसकेको अवस्था छ जसले गर्दा वाणिज्य बैंकहरूप्रति आशंका गरिएको होला । अहिलेको मुख्य समस्या लाइसेन्स प्रक्रिया अघि बढाएको लामो समय भइसक्दा पनि त्यस्तो प्रक्रियामा कुनै निर्णय हुन नसक्नु हो । वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजार र समग्र लगानीकर्ताको हितमा हुन्छ भने ढिला गर्नुको कुनै अर्थ छैन । साथै, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा थप समस्या आउँछ भने उनीहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने होइन । त्यसैले जतिसक्दो चाँडो प्रक्रिया अघि बढेको बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिने वा नदिनेबारेको विवाद टुंगिनुपर्छ । निर्णयमा अलमल हुँदा यसले ब्रोकर लाइसेन्स लिन खोज्नेलाई मात्र नभई समग्र पूँजी बजार नै अन्योलमा परेको देखिन्छ । कुनै पनि देशको अर्थतन्त्र सबल हुन जसरी नीति, नियममा स्थायित्व आवश्यक हुन्छ, त्यसरी नै सरकारी तवरबाट हुने निर्णयमा पनि अलमल हुनु हुँदैन । यति मात्र नभई वर्षौंदेखि कमोडिटिज एक्सचेन्जको पनि छिनोफानो हुन सकेको छैन । यसको पनि प्रक्रिया अघि बढेर बीचमै रोकिएको छ । नेपाल विकासको क्रममा अघि बढ्दै गरेकाले पूँजी बजारको विस्तार हुने सम्भावना निकै छ । तर, सरकारी निकायबाट बेलाबेला हुने सानातिना लापरबाहीले यसको विकासमा अवरोध सृजना हुने गरेको छ । विगतका पाठ सिकेर कम्तीमा अब सरकारी निकायले गर्ने निर्णय छिटोछरितो, पारदर्शी र पूँजीबजारको हित गर्ने खालको हुनुपर्छ । यसका लागि सबैभन्दा पहिला कुन काम गर्ने र नगर्ने भन्ने प्रष्ट हुनुपर्छ । अहिले देखिएको अन्योल यही विषयमा प्रष्ट हुन नसक्नुको उपज हो ।

कृषि कर्जामा प्रणालीगत सुधारको खाँचो

नेपालमा कृषिक्षेत्रमा कर्जा विस्तारको संस्थागत प्रयास भएको निकै भयो । खास गरेर २०२४ सालमा विशेष ऐनअन्तर्गत आएको कृषि विकास बैंकको स्थापनापछि यो क्षेत्रमा संस्थागत कर्जा लगानीको आरम्भ भएको हो । त्यसअघि स्थापित सहकारी बैंकले पनि यो क्षेत्रमा कर्जा प्रवाह गर्थ्यो । त्यो बैंक पछि कृषि विकास बैंकमा गाभियो । अहिले त्यही कृषि विकास बैंक वाणिज्य बैंकमा परिणत भएको छ । अब उक्त बैंकबाट कृषिक्षेत्रमा हुने लगानी भनेको प्राथमिकताप्राप्त क्षेत्रका तोकिएको सीमाको लगानीबाहेक उसले चाहेमा मात्र हुने हो । त्यसरी विगतमा कृषि कर्जा लगानीका लागि गरिएको गतिलो संस्थागत प्रयास नै वाणिज्य बैंकिङमा परिणत भएपछि यो क्षेत्रमा दीर्घकालीन कृषि कर्जा लगानीका लागि ढोका थुनिएको छ । कृषि कर्जा प्रवाहका क्षेत्रमा यो एउटा गम्भीर नीतिगत त्रुटि थियो । कृषि कर्जाको विस्तारमा पनि प्रशस्त जोखिम हुने भएकाले त्यसको बन्दोबस्ती पनि सोहीअनुसार हुनुपर्छ । त्यसैले मौजुदा कृषि कर्जा प्रणालीमा व्यापक सुधार नगरी एकोहोरो नीतिगत रटानले मात्र यो क्षेत्रको विकास सम्भव देखिँदैन । वाणिज्य बैंकहरूबाट यो क्षेत्रमा कर्जा प्रवाहको थालनी भने २०३१ सालदेखि हुन थालेको हो । त्यस बेलादेखि थालिएको वाणिज्य बैंकहरूमार्फत यो क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था हाल प्रथमिकता प्राप्त क्षेत्रका नाममा कायमै छ । यसअन्तर्गत कुल कर्जा लगानीको ११ प्रतिशत कर्जा प्रवाह कृषिक्षेत्रमा गर्नुपर्छ । यसलाई आगामी २०८२ असारसम्म्ममा १५ प्रतिशत पुर्‍याउने गरी नीतिगत व्यवस्था गरिएको छ । कृषि अर्थतन्त्रलाई सबल बनाउने हो भने कृषितन्त्रका विद्यमान प्रणालीगत विकृतिहरूमा तत्काल सुधार गर्नुपर्छ । कृषिक्षेत्रमा लाग्नेहरूलाई जहिल्यै प्रोत्साहित गरेर लैजानुपर्छ भन्ने आवश्यकता बोध हुन सकेको देखिँदैन । साथै, यो क्षेत्रमा संरक्षणको आवश्यकता पनि पर्छ । यो क्षेत्रमा जोखिम भए पनि यो रोजगारीको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । कहिल्यै बजार अभाव नरहने अनि गार्हस्थ्य उत्पादनमा जहिल्यै सहयोग गरिरहने क्षेत्र भएकाले यसलाई अघि बढाएर लैजानु ज्यादै महत्त्वपूर्ण हुन्छ । जोखिम भएकैले सरकारी संरक्षण लगायत विविध कुराहरूमा ध्यान दिनपरेको हो । खेतीपातीमा लाग्नेहरूका लागि मल, बीउ, सिँचाइ, सिँचाइका लागि आवश्यक पर्ने विद्युत्को उपलब्धता, बजार, भण्डारण, बीमा, सहुलियत कर्जा, उत्पादनलाई बजारसम्म पु¥याउने ग्रामीण सडकको सुविधा, न्यूनतम समर्थन मूल्यको प्रत्याभूति, कृषि प्राविधिकहरूको निरन्तर र गुणस्तरीय सहयोग, कृषि औजारको समुचित प्रबन्ध, औषधिहरूको उपलब्धता, अनुदान आदि एकीकृत र प्याकेजकै रूपमा उपलब्ध गराइनुपर्छ । ती चीजको बन्दोबस्तीको प्रत्याभूत भयो भने मात्र यो क्षेत्र फस्टाउन सक्छ । कृषिक्षेत्रमा लाग्नु भनेको जोखिम उठाउनु पनि हो । परम्परागत रूपमा जीविकोपार्जनका लागि त जसोतसो कृषि प्रणाली घस्रिरहेकै छ । तर, साँच्चीकै यो क्षेत्रमा कायापलट गर्ने हो भने माथि भनिएका कुराहरूलाई सरोकारीहरूले इमानदारीपूर्वक कार्यान्वयन गनैपर्छ । कृषिमा स्नातक वा उच्च उपाधि लिएकाहरूलाई यो क्षेत्रमा प्रोत्साहित गरेर लाने कार्यक्रमहरू आउन सकेका छैनन् । कृषिक्षेत्रमा भएका गरिएका अध्ययन अनुसन्धानले पनि कृषिको आर्थिक वृद्धिमा सघाउन सकेको देखिँदैन । माथि उल्लेख गरिएका कृषिक्षेत्रका विकृतिहरू नै कृषि कर्जाको विस्तार र विकासमा वाधक हुन् । कृषि कर्जा व्यवस्थित गर्न ती कुराको अध्ययन आवश्यक छ । कृषि कर्जाको विस्तारमा पनि प्रशस्त जोखिम हुने भएकाले त्यसको बन्दोबस्ती पनि सोहीअनुसार हुनुपर्छ । त्यसैले मौजुदा कृषि कर्जा प्रणालीमा व्यापक सुधार नगरी एकोहोरो नीतिगत रटानले मात्र यो क्षेत्रको विकास सम्भव देखिँदैन । सामान्यतया वित्तीय संस्थाहरूको कर्जा लगानी हरेक वर्ष बढ्दै जाने अपेक्षा गरिएको हुन्छ । तर, कोरोना महामारीका कारण अरू कर्जा लगानी विस्तारित नभएको अवस्थामा यो क्षेत्रमा पनि कर्जा विस्तार हुनसकेको छैन । कोरोनाका कारण यसमा लगानी नपुगे पनि हर्जाना लाग्ने व्यवस्थालाई आगामी वर्षसम्मको राहत दिइएको छ । तोकिएको सीमाभन्दा सामान्यतया यस्तो लगानी बढ्न नसकेको यथार्थलाई दृष्टिगत राखी अब सीमाभन्दा बढी लगानी गर्ने वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंक वा सरकारले विशेष किसिमको प्रोत्साहन दिएर तेस्तो लगानीलाई अगाडि बनाउने वातावरण बनाउनुपर्छ । अहिले कम लगानी गर्नेलाई बैंकहरूको तत्काल कायम उच्चतम ब्याजदरका आधारमा हर्जाना लगाउने व्यवस्था छ । त्यस्तो हर्जाना केन्द्रीय बैंकको आम्दानी हुने गरेको छ । कृषिमा लगानी नगर्दाको अवस्थामा वित्तीय संस्थाहरूलाई हर्जाना लगाई केन्द्रीय बैंकले आम्दानी बाँध्नु न्यायिक देखिन्न । बरु, कसरी यो क्षेत्रमा वित्तीय संस्थाहरूलाई प्रोत्साहित गरेर लैजान सकिन्छ भन्ने नीति हुनुपर्छ । यो क्षेत्रमा कुनै बेग्लै वित्तीय संस्था नभएकाले भइरहेकै वित्तीय संस्थाहरूबाट लगानी परिचालन गर्ने केन्द्रीय बैंकको नीतिगत अभीष्ट नराम्रो त होइन तथापि यो व्यवस्था मात्र पर्याप्त वा अन्तिम विकल्प होइन । करीब ५ दशकको अनुभवले यसै भनिरहेको छ । अब यस व्यवस्थाको पुनरवलोकनको खाँचो देखिएको छ । उदाहरणका लागि प्रोत्साहनको एउटा उपाय कृषिमा तोकिएको सीमाभन्दा बढी लगानी गर्ने वित्तीय संस्थालाई कर्पोरेट ट्यासमा सरकारले निश्चित प्रतिशत छूट दिएर ( हालको ३५ प्रतिशतलाई ३० वा २५ प्रतिशतमा ल्याएर ) पनि लगानी बढाउन सकिन्छ । साथै, केन्द्रीय बैंकले लिने हर्जानालाई उक्त बैंकले आम्दानी नबाँधी त्यसलाई अत्यन्त न्यून बैंक दरमा लगानी गर्न चाहने वित्तीय संस्थाहरूलाई नै स्रोतका रूपमा उपलब्ध गराउन सक्छ । वाणिज्य बैंक, विकास बैंकहरू वा वित्त कम्पनीहरू कृषिक्षेत्रमा भरसक लगानी नै गर्न नपरे हुन्थ्यो भन्ने मानसिकतामा जहिल्यै देखिएका छन् । कृषिमा हुने लगानी जोखिमयुक्त मात्र नभएर प्राविधिक किसिमको पनि हुने भएको साथै एसमा लगानीकर्ता बैंकको प्रयासलाई थप बलियो बनाउने काममा अन्य सरकारी निकायहरू समेतको समन्वयको आवश्यकता पर्ने हुन्छ । कृषि कर्जाको वर्तमान व्यवस्थामा प्रणालीगत सुधारकै खाँचो छ । त्यो भनेको अब कृषि कर्जाका लागि मात्र भनेर एउटा बेग्लै वित्तीय संस्था ( कृषि बैंक) कै स्थापना गर्नु हो । यो क्षेत्रमा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन कर्जा लगानी गर्ने हाल कुनै पनि संस्था छैनन् । वाणिज्य बैंकहरूबाट हालको प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी गर्ने नीतिगत व्यवस्थाबाट यो क्षेत्र खासै खगाडि बढ्न सक्दैन । किनभने तिनले लगानी गर्ने भनेको निश्चित सीमामात्र हो र त्यो माथि उल्लेख गरिएको अवस्थामा बढ्न सक्दैन । वाणिज्य बैंकहरूले दीर्घकालीन कर्जा लगानी गर्दैनन् । चिया, कफी र फलफूल खेतीमा दीर्घकालीन लगानीको आवश्यकता पर्छ । यसैले अब कमसेकम पनि ५० अर्बको चुक्ता पूँजी भएको कृषि बैंक खोलिनुपर्छ । त्यसमा हालका बैंक वित्तीय संस्थाहरूले गर्नुपर्ने प्राथमिक क्षेत्रअन्तर्गतको कृषिक्षेत्रमा लगानी गर्नुपर्ने रकम यसको शेयरमा लगानी गर्ने व्यवस्था गर्न सकिन्छ । त्यसो भयो भने ती बैंकले हाल गरेजस्तो अलमल र ढलपलको कृषि कर्जा लगानी प्रणालीको पनि अन्त्य हुन्छ । प्रस्तावित कृषि बैंकले आफ्नो कार्य बढाउँदै लैजान थालेपछि बैंकहरूको कृषि कर्जा व्यवस्थालाई अनिवार्य नगर्न पनि सकिन्छ । कृषिक्षेत्रले गार्हस्थ्य उत्पादनमा अझैपनि करीब ३० प्रतिशत अंश ओगटेको देखिन्छ भने अधिकांश नेपालीको जीविकोपार्जनको क्षेत्र पनि यही हो । तर, बिडम्बना यतिका बैंक वित्तीय संस्थाहरू हुँदा पनि सरकारले कहिल्यै कृषि कर्जा व्यवस्थाका लागि बेग्लै बैंक आवश्यक पर्छ भन्ने कुरा ठम्याउनै सकेन । प्रस्तावित बैंक स्थापना हुनसके अहिलेका लघुवित्तीय संस्थाहरू, जसका कार्यसञ्जाल ७७ ओटै जिल्लामा पुगेका छन् र यससित करीब ५० लाख सदस्य आबद्ध छन्, तीमार्फत पनि यो क्षेत्रमा कर्जा विस्तार गर्न सकिन्छ । हाल करीब ३५ हजारको संख्यामा रहेका सहकारी संस्थामध्ये संस्थागत सुशासन भएका संस्थाहरूलाई सरीक गराएर लैजान नसकिने पनि होइन । मूलकुरो, सरकार, केन्द्रीय बैंक र सरोकारवाला संस्थाहरू कृषि कर्जाको आवश्यकतालाई प्रणालीगत सुधार गरेर लाने विषयमा इमानदारीका साथ कटिबद्ध भएर अगाडि अउनसक्नुपर्छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

ऐन नआउँदा अलमल

२० वर्षपछि सम्पन्न स्थानीय चुनावले विकासमा आमूल परिवर्तन हुने सर्वसाधारणको अपेक्षा छ। नवनिर्वाचित जनप्रतिनिधिमा पनि निकै जोस, जाँगर र उत्साह देखिन्छ।