निष्क्रिय कर्जा वृद्धिबाट विकास बैंकको नाफा प्रभावित: १६ विकास बैंकमध्ये तीनओटा नोक्सानीमा

काठमाडौं। चालू आर्थिक वर्ष (आव) को पहिलो ३ महीनामा सञ्चालनमा रहेका विकास बैंकहरूको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा १६ विकास बैंक सूचीकृत छन् । तीमध्ये चारओटाको नाफा अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा यसपालि बढेको छ ।  बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पोहोरको तुलनामा यसपालिको पहिलो त्रैमासमा नाफा बढाउनेमा कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंक छन् । यी चारमध्ये सबैभन्दा बढी कामना सेवा विकास बैंकको नाफा गत आवको तुलनामा झन्डै १८८ प्रतिशत बढेको छ ।  कामना सेवाले गत आवको पहिलो त्रैमासमा ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएकोमा चालू वर्ष बढेर ११ करोड ९५ लाख रुपैयाँ पुगेको छ । चालू आवमा यो बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेख्य मात्रामा घटेकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको पहिलो त्रैमासमा यसको इम्पेयरमेन्ट चार्ज २५ करोड ६५ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा घटेर ९ करोड ५२ लाख कायम भएको छ ।  त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकको पहिलो त्रैमासको नाफा गत आवको तुलनामा यो वर्ष १४८ प्रतिशत, लुम्बिनी विकास बैंकको करीब १४४ प्रतिशत र गरिमा विकास बैंकको ४ प्रतिशत वृद्धि भएको छ ।  तीन बैंक नोक्सानीमा  एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले चालू आवको पहिलो त्रैमासमा नोक्सानी बेहोरेका छन् । एक्सेल डेभलपमेन्ट बैंकले गत आवमा २ करोड १८ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा भने १३ करोड ९० लाख नोक्सानी बेहोरेको छ । चालू आवमा यो बैंकको निष्क्रिय कर्जा बढेपछि नोक्सानीमा गएको हो ।  गत आवमा बैंकको निष्क्रिय कर्जा ४ दशमलव ४८ प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा बढेर ७ दशमलव ५७ प्रतिशत पुगेको छ । सोही कारण बैंकले इम्पेयरमेन्ट चार्ज शीर्षकमा १९ करोड ८७ लाख रुपैयाँ प्रोभिजन गरेको छ । गत आवमा यो बैंकले इम्पेयरमेन्ट शीर्षकमा ३ करोड ३७ लाख रुपैयाँ प्रोभिजन थियो । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकले ११ करोड ९२ लाख र नारायणी डेभलपमेन्ट बैंक १ करोड २१ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।  गत आवको पहिलो त्रैमासको तुलनामा यो वर्ष कर्पोरेट डेभलपमेन्ट बैंकको ५४ प्रतिशत, ज्योति विकास बैंकको ४९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३२ प्रतिशत, मुक्तिनाथ विकास बैंकको २६ प्रतिशत, महालक्ष्मी विकास बैंकको २० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको १६ प्रतिशत, सिन्धु विकास बैंकको ११ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैैंकको ८ प्रतिशतले नाफा घटेको छ । सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा घटेको छ । यसको नाफा पोहोरको तुलनामा ५४ प्रतिशत घटेको तथ्यांक छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ८५ लाख ७३ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा ३९ लाख ३० हजार रुपैयाँ मात्र कमाएको छ । यो बैंकले पनि इम्पेयरमेन्ट चार्ज शीर्षकमा धेरै रकम छुट्ट्याएकाले नाफा प्रभावित भएको हो । चालू आवमा बैंकले यो शीर्षकमा १ करोड ६७ लाख रुपैयाँ छुट्ट्याएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड गत आवको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा यो वर्ष सुधारिएर ७६ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । चालू आवमा यो बैंकको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफामा गएको हो । गतवर्ष बैंकको इम्पेरयमेन्ट चार्ज ३ करोड ८३ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटेर १ करोड ५१ लाख रुपैयाँमा झरेको छ ।  विकास बैंकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले २२ करोड ८८ लाख रुपैयाँ कमाएको छ । दोस्रोमा रहेको गरिमा विकास बैंकले २० करोड १५ लाख नाफा गरेको छ । कम नाफा सिन्धु विकास बैंकको १९ लाख २९ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीका कारण बैंकका ऋणीले समयमै साँवाब्याज भुक्तानी गर्न सकेका छैनन् । यसले गर्दा बैंकहरूको निष्क्रिय कर्जा बढेसँगै सोको लागि गर्नुपर्ने प्रोभिजनसमेत बढेको देखिएको छ । सोही कारण नाफा प्रभावित भएको हो ।

सम्बन्धित सामग्री

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घट्दा निष्क्रिय कर्जा २ गुणा बढ्यो

७ वैशाख, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ६ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ …

ज्योति विकास बैंकको नाफा २४ प्रतिशत घट्यो, निष्क्रिय कर्जा बढ्यो

५ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । तेस्रो त्रैमासमा ज्योति विकास बैंकको नाफा घटेको छ । यस विकास बैंकले साउनदेखि चैत मसान्तसम्म …

ब्याजदर घटेको घट्यै, छैन कर्जा माग

बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ, कर्जा प्रवाह सुस्त छ भने भाका नाघेको कर्जा असुली नहुँदा बैंकहरूको खराब (निष्क्रिय) कर्जा बढेको छ । यसले समग्रमा बैंकको नाफा घटिरहेको तथ्यांकहरूले देखाएका छन् ।

गत वर्ष कुमारी बैंकको नाफा २४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २४ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. २ अर्ब ५७ करोड नाफा कमाएकोमा गत आवमा घटेर रू. १ अर्ब ९५ करोडमा झरेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै इम्पेयरमेन्ट चार्जमा रू. ५ अर्ब ७३ करोडभन्दा बढी छुट्याउँदा सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।   अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशलमव ११ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ७७ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा ७७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ६ अर्ब २१ करोड रहेकोमा गत आवमा बढेर रू. ११ अर्बभन्दा बढी पुगेको छ । गत आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा रहेकोमा गत आवमा घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. २६ अर्ब २२ करोड छ । कम्पनीले गत आवमा जगेडामा रू. ११ अर्ब ३७ करोड र शेयर प्रिमियममा रू. ८ करोड ८८ ला सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ८४ करोड ८३ लाख ऋणात्मक छ । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात २२ दशमलव १२ गुणा, तरलता अनुपात २४ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ४७ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

प्रोभिजनिङ बढ्दा पनि बढ्यो सिटिजन्स बैंकको नाफा

१२ असार, काठमाडौं । निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो । शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन […]

खराब कर्जा बढेपछि घट्यो सिद्धार्थ बैंकको नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ३८ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ५७ करोड नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ अर्ब १६ करोडमात्र कमाएको हो ।  चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेको र सञ्चालन नाफा घटेकोले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा २७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा शून्य दशमलव ३७ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव ८७ प्रतिशत पुगेको छ ।  त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ३ अर्ब खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. ४ अर्बभन्दा माथि पुगेको छ । १२ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब पुगेको छ । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ८ अर्ब ८२ करोड र रिटेन्ड अर्निङमा रू. ९ करोड ६५ लाख सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी रू. २२ दशलमव ३३ रहेको कम्पनीको चालू आवमा रू. १६ दशमलव ५३ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ६० गुणा, तरलता अनुपात २५ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव २९ रहेको छ ।

चैत मसान्तसम्म नबिल बैंकको नाफा रू. ३ अर्ब ३५ करोड

वैशाख ६, काठमाडौं । नबिल बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा रू. ३ अर्ब ३५ करोड नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ८ दशमलव ९ प्रतिशतले घटेको हो ।  कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ६७ करोड नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ४८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर १ दशमलव १४ प्रतिशत पुगेको हो ।  जसका कारण इम्पेरिमेण्ट चार्ज रू. ६१ करोड ५ लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८ दशमलव ७४ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । यसोत कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ अर्ब ९ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ अर्ब ५९ करोड पुगेको हो  । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।  गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ६३ रहेकोमा चालू आवमा रू. २४ दशमलव ३९ मा झरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब १७ करोड रहेको छ ।  त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ४९ करोड रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. रिर्जभमा रू. १४ अर्ब ५३ करोड, रिटेण्ड अर्निङमा रू. २ अर्ब १६ करोड र शेयर प्रिमियममा रू. ७४ हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ८२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९० दशमलव २९ रहेको छ ।

२१.३८ % पूँजी वृद्धि गरेको हिमालयन बैंकको नाफा करीब १४ % बढ्यो

माघ १२, काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण  अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष १३ दशमलव ८० प्रतिशतले वृृद्धि भएको छ । गत वर्ष रू. ६५ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ७४ करोड ३४ लाखभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा भने ७ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू. ९८ करोड ६४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६ करोड २० लाखभन्दा बढी यो नाफा गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने रू. २४ करोड ५१ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३९ करोड १३ लाखभन्दा बढी थियो । गत आर्थिक वर्षको मुनाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाखभन्दा बढी कायम गरेको छ । यो पूँजी गत असार मसान्तसम्म रू. १० अर्ब ६८ करोड ४४ लाख रहेको थियो । कम्पनीको जगेडा कोष रकम पनि ६ महीनामा रू. २१ दशमलव ७० प्रतिशत कम कायम भएको छ । गत असार मसान्तसम्म रू. ९ अर्ब ४४ करोड ८३ लाखभन्दा बढी रहेको जगेडा कोष (रिटेन्ड अर्निग ) सहित रकम पुस मसान्तसम्म रू. ७ अर्ब ३९ करोड ८३ लाखमा सीमित भएको हो । यस अवधिसम्म कम्पनीको रिटेन्ड अर्निग रू. २४ करोड ७१ लाखभन्दा बढी र जगेडा कोष रू. ७ अर्ब १५ करोड १२ लाखभन्दा बढी छ । गत असार मसान्तको तुलनामा कम्पनीले १७ दशमलव ३७ प्रतिशत बढी अर्थात् रू. १ खर्ब ६५ अर्ब ५१ करोड २६ लाख निक्षेप संकलन गरेको छ भने १९ दशमलव ५४ प्रतिशत बढी अर्थात्  रू. १ खर्ब ५० अर्ब ६७ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव शून्य ५ छ । यो पनि हेर्नुस् : हिमालयन बैंकको पाँच वर्षे लाभांश इतिहास : यसवर्ष तीन वर्ष पछिकै उच्च हिमालयन बैंकको नाफा करीब ३ अर्ब, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी १ खर्बभन्दा बढी निक्षेप संकलन गरेको हिमालयन बैंकको नाफा ४४% घट्यो हिमालयन बैंकको नाफामा ६२.५० प्रतिशतले कमी

हिमालयन बैंकको नाफा करीब ३ अर्ब, वितरणयोग्य नाफा २ अर्बभन्दा बढी

साउन २९, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले रू. २ अर्ब ९९ करोड ८० लाख खुद नाफा गरेको छ ।  शुक्रवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १५ दशमलव ९० प्रतिशतले खुद नाफा वृद्धि भएको हो । यस अवधिसम्म कम्पनीको वितरण योग्य नाफा भने ६५ दशमलव ७४ प्रतिशत बढी अर्थात् रू. २ अर्ब १६ करोड ९८ लाखभन्दा बढी रहेको छ ।  अघिल्लो वर्षभन्दा २१ दशमलव ४३ प्रतिशत कम रू. ३ अर्ब ७८ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीको इम्पेरिमेन्ट चार्ज घट्दा सञ्चालन नाफा २६ दशमलव २७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष रू. ३० करोड ५६ लाखभन्दा बढी रहेको इम्पेरिमेन्ट चार्ज गत वर्ष रू. १४ करोड ५३ लाखभन्दा बढी मात्र भएको छ । १४ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी वृद्धि गरी रू. १० अर्ब ६८ करोड ४४ लाख पुर्‍याएको कम्पनीको जगेडा कोष रकम रू. ९ अर्ब ३९ करोड ६१ लाखभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा १४ दशमलव ३५ प्रतिशत वृद्धि भएको हो । बैंकले अघिल्लो वर्षभन्दा १४ दशमलव ३५ प्रतिशत बढी निक्षेप संकलन र १२ दशमलव ५८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव शून्य १ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर शून्य दशमलव ४८ प्रतिशतमा सीमित भएको छ ।  गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २८ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. १८७ दशमलव ९४ रहेको छ ।                                                                स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण