चैत मसान्तसम्म नबिल बैंकको नाफा रू. ३ अर्ब ३५ करोड

वैशाख ६, काठमाडौं । नबिल बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा रू. ३ अर्ब ३५ करोड नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ८ दशमलव ९ प्रतिशतले घटेको हो ।  कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ६७ करोड नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ४८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर १ दशमलव १४ प्रतिशत पुगेको हो ।  जसका कारण इम्पेरिमेण्ट चार्ज रू. ६१ करोड ५ लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८ दशमलव ७४ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । यसोत कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ अर्ब ९ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ अर्ब ५९ करोड पुगेको हो  । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।  गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ६३ रहेकोमा चालू आवमा रू. २४ दशमलव ३९ मा झरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब १७ करोड रहेको छ ।  त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ४९ करोड रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. रिर्जभमा रू. १४ अर्ब ५३ करोड, रिटेण्ड अर्निङमा रू. २ अर्ब १६ करोड र शेयर प्रिमियममा रू. ७४ हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ८२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९० दशमलव २९ रहेको छ ।