वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाएका छन् । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक थियो । होलीका परम्परागत लोकभाका र गीतसङ्गीतसँगै नाच्दै होली पर्व मनाइएको थियो । फागु विजयको हर्षोल्लासका रूपमा एक–आपसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रङ्ग्याउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोलछिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।