वाह ! वाह !! शेयर बजार

देशमा अहिले दुईओटा बजार गुल्जार छन्, एउटा राजनीतिको बजार र अर्काे शेयर बजार । दुवैमा एउटा समानता के छ भने दुवै बजारमा ‘इन्साइडर ट्रेडिङ’ हुन्छ । फरक ? राजनीतिको बजारमा हुने खरीद–विक्रीको तथ्यांक बाहिर त्यति आउँदैन । तर खास कुरा के भइरहेको हो भन्ने सबै जनतालाई थाहा हुन्छ । तर शेयर बजारका धेरै तथ्यांक बाहिर आए पनि भित्र के भइरहेको छ, त्यसबारे केही मानिस बाहेक सबै रनभुल्लमा हुन्छन् । अनि राजनीतिमा लगानी नगरी प्रतिफल पाइन्छ, अझ अविश्वास प्रस्तावमा हस्ताक्षर गरे तत्कालै मन्त्री बन्न पाइन्छ । तर शेयर बजारमा नाफा कमाउन चैं लगानी गर्नैपर्छ । पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार । चौबाटामा क्यारेमबोर्ड, लुडो, चेस र कलब्रेक खेल्ने जमात पनि हालै आएर शेयरतिरै लागेको छ क्यारे । सकारात्मक परिवर्तन नै मान्नुपर्छ यसलाई, हैन ? जुवामा सोह्र कौडाले बनाउने चारवटा दाउ कौडा झरेको एकै निमेषमा राम्ररी गनिसक्न जान्नुपर्छ । तासको खेलमा ५२ पत्ती कण्ठ गर्नुपर्छ । यता भने हरियो र रातो दुई रङ कण्ठ भए पुग्छ । जुवाभन्दा सजिलो भएर त होला अहिले ठूलै जमात कस्सिएर शेयरमा लागेको छ । जिन्दावाद मूर्दावाद गर्दै सडक तताउने बेरोजगार युवाहरू शेयरतिर लागेपछि सिंहदरबारका काजीहरूलाई थोरै भए पनि हाइसञ्चो भएको छ । अचेल बेरोजगार गृहिणी र तिनका पति परमेश्वरहरूलाई पनि आनन्दै भएको छ । किनकि गृहिणीहरू टेलिसिरियल हेर्न छाडेर शेयर शेयर भन्दै टेलिफोन र धितोपत्रका शब्दावली कण्ठ पार्न अभ्यस्त हुन थाले । यसले गर्दा पतिहरूलाई अफिसबाट घर पुग्नुअघि नै श्रीमतीको मुड कस्तो होला भन्ने अनुमान गर्न सजिलो भएको छ । आजको शेयर बजार रातो छ भने घरको आधा आकाश पक्कै ठुस्स परेको पाइनेछ भन्ने जान्नुस् । शेयरमा हरियो छ भने घरमा पनि चमकधमक हुनेछ । शेयरले सबैभन्दा हाइसञ्चो त सरकारी कर्मचारीहरूलाई भएको छ । युनियनका कोठामा बसेर नानाभाँती गफ दिने झुण्ड अचेल कम्तीमा ३ बजेसम्म शेयर बजारको राता र हरिया आँकडा हेर्नमै व्यस्त हुन थाले  । त्यसैले १० देखि ३ सम्म त सरकारी अफिस शेयरकै कारण शान्त देखिन्छन् । अघि पछि टेबुलमा टोपी मात्र राखेर टाप कस्ने कर्मचारीहरू अचेल कुर्सीमै टाँसिइरहनुमा शेयर खरीद–विक्रीका सफ्टवेयर नै कारक हुन् । सेवाग्राहीका नजरमा देश र जनताको काममा घोत्लिएको भान पार्ने गजबको अवसर पनि यही शेयर बजारले दिलाएको छ । कम्प्युटरमा के काम गरिरहेको छ भन्ने कुरा सेवाग्राहीले थाहा नपाओस् भन्दै कम्प्युटरको स्क्रीनमा सेवाग्राहीको आँखा कतैबाट पनि नपर्नेगरी सेटिङ मिलाइएकै हुन्छ । हाकिम पनि शेयरमा लागेको थाहा पाए भने चाकरीबाज कर्मचारीहरू वारेन बफेटका अवतार जस्तो गरी सल्लाह दिन हाजिर भइहाल्छन् । गजब छ है यो शेयर भन्ने चिज ! सेवानिवृत्त कर्मचारीहरूका लागि त झन् काइदा भएको छ शेयर बजार । बिहान चौबाटाका निःशुल्के सल्लाहकारको कुरा सुन्यो, ब्रोकर अफिसतिर अड्डा जमायो । दुई चार हजार फाइदा भए राम्रै भयो । घाटा भए उही एक महीनाको पेन्सन त हो भन्यो, चित्त बुझायोे । अचेल ज्योतिषीकहाँ ग्रह, गोचर, विवाह, सम्बन्ध, रोजगारी, विदेश आदि प्रश्न पनि फाट्टफुट्ट मात्र आउँछन् क्यारे । ‘गुरु, शेयरमा आज मेरो कस्तो छ, कुन दिन र कुन शेयर किन्दा फाइदा हुन्छ ?’ भन्ने मानिसको लर्को लाग्न थालेको छ । ‘फलानो औंठी लाउनुस्, शेयरमा मालामाल भइन्छ’ भन्दै पत्थरको व्यापार गर्नेहरू पनि फस्टाएकै छन् । पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार । १० कित्ता शेयर लिएर करोडौंको कथा कथ्ने ठाउँ पनि हो शेयर बजार । त्यसैले के वामपन्थी, के रामपन्थी, के हामपन्थी हिजोआज सबै सबै शेयर बजारमै झुम्मिरहेका भेटिन्छन् । जे होस् शेयर बजार यस्तै हो । कोही भुट्ने छन्, कोही भुटिने छन् । कोही लुट्ने छन्, कोही लुटिने छन् । केही कमाउने छन्, केही गुमाउने छन् । तर भुट्ने र भुटिनेहरू, लुट्ने र लुटिनेहरू सधैं एकै हुँदैनन् । कहिले भुट्नेहरू भुटिनेमा पर्छन् । कहिले भुटिनेहरू भुट्नेमा आइपुग्छन् । राजनीतिमा पनि यस्तै हो ।  दुवैमा भुट्ने र भुटिनेहरूको लुकामारी गजबले चलिरहन्छ । तर अचेल भुट्ने भन्ने शब्द पुरानो भयो भन्दै मुग्र्याउने भन्ने नयाँ शब्द शेयर खेलाडीहरूले आविष्कार गरेका छन् । यो शब्द पनि राजनीतिबाटै आएको हो क्यारे । मुग्र्याउने पनि कस्ता कस्ता ! हकप्रदको हल्ला फिँजाएर बजार हल्लाउने कम्पनी पनि छन् । किन्ने र बेच्ने दुवै एकअर्कालाई मुर्ग्याएँ अर्थात् मुर्गा बनाएँ भनेर मख्ख पर्ने पनि छन् । वास्तविक मुर्गा को बन्यो भन्ने त समयले बताउँछ नै । जे होस् कम्पनी खोल्ने, आईपीओ निकाल्ने र सारा नेपालीलाई शेयरमा आबद्ध गरेर रोजगार बनाउने मोडेलको विकास गजबले भइसकेको छ नेपालमा । विज्ञान, प्रविधि, सृजना आदिमा धेरै आविष्कार पश्चिमी गोलाद्र्धमा भए पनि शेयर बजारको विकासमार्फत आम रोजगारीको मोडल चाहिँ नेपालमा विकसित भइसकेको छ । यसैले अब भन्नैपर्छ वाह ! वाह !! शेयर बजार ।

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेको छ । बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । हिजो/अस्ति सोमबार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अंकमा झरेको छ । बजार घटेको दिन दुई सय ५२ वटा […]

शेयर बजार हरियो

काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे । वाणिज्य बैंक, विकास बैंक, […]

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाण्डौँ । शेयर बजार परीसूचक नेप्से आज (बुधवार) दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज ११.२२ अङ्कले बढेर एक हजार आठ सय ४८.८२ अङ्कमा पुगेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से […]

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द […]

भोलि आइतबार शेयर बजार बन्द रहने

३ पुस, काठमाडौं । भोलि आइतबार शेयर कारोबार खुला नहुने भएको छ । सरकराले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिने भएकाले आइतबार शेयर बजार पनि बन्द रहने भएको हो । शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेकहरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि […]

शेयर बजार करिब स्थीर

काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो । कारोबार सुरु भएसंगै उकालो […]

सर्किट ब्रेकपछि फर्कियो शेयर बजार

नेप्सेमा नकारात्मक सर्किट ब्रेकपछि शेयर बजार पुनः फर्किएको छ ।  बजार खुलेको दुई घण्टाभित्र नेप्से ५.०३ प्रतिशतले घटेपछि बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।  १४७.३१ अंक तल झरेको शेयर बजार अहिले १ बजेर ५५ मिनेट जाँदा ६४.५२ अंक मात्रै तल छ । नेप्से सूचक २८६२.४८ छ ।

आइतबार र सोमबार शेयर बजार नखुल्ने

काठमाडौं, ६ भदौ । आइतबार र सोमबार शेयर बजार बन्द हुने भएको छ । हप्तामा ५ दिन सुचारु हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको हो । आज र भोली सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेप्सेले जनाएको छ । आज जनै पुर्णिमा तथा जनै पुर्णिमा र […]