असारदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय, शिक्षक महासङ्घ पर सार्ने पक्षमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ ।   शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न आज मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिनुभएको हो । कोभिड–१९ का कारण चालु शैक्षिकसत्र जेठसम्म लम्ब्याइएपछि नयाँ सत्र असार १ गतेदेखि हुने पूर्व निर्धारण गरिएकामा यस वर्षको दोस्रो लहरको कोरोना रोकथामका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा कुन मितिदेखि शैक्षिकसत्र गणना गर्ने भन्ने केन्द्र सरकारले तय गर्दै आएको छ ।     नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले चालु शैक्षिकसत्रमा कात्तिकदेखि मात्रै सामुदायिक विद्यालयमा राम्रोसँग पढाइ शुरु भएकाले कोर्स पूरा गरी, वार्षिक परीक्षा र परीक्षाफल प्रकाशनपछि नयाँ भर्ना गर्दा साउन–भदौ पुग्ने सक्ने भएकाले सोअनुसार गर्न सरकारलाई आग्रह गर्नुभयो । अध्यक्ष थापाले रासससँग भन्नुभयो, ‘‘स्थितिको समग्र विश्लेषणविना हतारहतार असारदेखि कक्षा सञ्चालन गर्नुले निजी विद्यालयलाई मात्रै प्रोत्साहन हुन्छ । सबै सामुदायिक विद्यालयमा वैकल्पिक माध्यमको पढाए प्रभावकारी नभएको पक्षलाई पनि भुल्न हुँदैन ।’’ विद्यालय शिक्षामा ८० प्रतिशत हिस्सा सामुदायिक विद्यालयको छ ।

सम्बन्धित सामग्री

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीचको वार्ता सकियो, के भयो छलफल ?

काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ ।  नेपाल शिक्षक महासङ्घ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए […]