नेपालले आफूसँग जलभण्डार रहेकाले हजारौं वाट बिजुली निकाल्न सक्ने र त्यसको निर्यात गरेर धनी बन्ने सपना देखिरहँदा बिजुलीका सम्भावित बजार भने आफ्नो आवश्यकता परिपूर्तिका लागि विभिन्न विकल्पमा जुटिसकेका छन् । नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्ने भनेको पनि कैयौं समय भइसक्यो तर तयारी भने केही पनि भएको छैन । उता बंगलादेशले भने रूपपुर न्यूक्लियर प्लान्टबाट २०२५ सम्म २ हजार ४ सय मेगावाट बिजुली निकाल्ने तयारी गरेको छ । उसले नेपालबाट ५० मेगावाट बिजुली किन्ने सम्झौता पनि गरेको छ जुन भारतको प्रसारण लाइनबाट त्यहाँ पुर्याइनेछ । यसका लागि भारत तयारसमेत देखिन्छ तर नेपालको सुस्त गतिका कारण कहिलेसम्म निर्यात थालिने हो निश्चित छैन । बंगलादेश मात्र नभई छिमेकी मुलुक भारतले पनि यतिखेर नवीकरणीय ऊर्जालाई निकै जोड दिइरहेको छ । नवीकरणीय ऊर्जा ऊर्जाको गतिलो स्रोत हो ।
संसारका कुनै पनि पनि स्रोत चिरस्थायी हुँदैनन् । त्यसैले जुन वस्तु र सेवा तत्कालीन रूपमा चाहिएको हुन्छ सोहीअनुसार नै उपयोगमा आएन भने भविष्यमा त्यस्तो वस्तुको उपयोगिता कति हुन्छ भन्न सकिँदैन । उपलब्ध स्रोतको अत्यधिक दोहन गर्ने र त्यसबाट प्राप्त आम्दानीले आय आर्जनको अर्को विकल्प तयार पार्ने काम सबैजसो देशले गरिरहेको पाइन्छ । उदाहरणका लागि साउदी अरबलाई लिन सकिन्छ । विश्वभरि नै खनिज ऊर्जाको विकल्प खोजी भइरहेकाले पेट्रोल बेचेर मात्रै हुँदैन भनी उसले आफ्नो देशलाई पर्यटनको केन्द्र बनाउन ठूलो लगानी गरिरहेको छ ।
नेपालमा अहिले जसरी नदी, खोलाबाट विद्युत् उत्पादनको सम्भावना देखिएको छ, त्यो सधैंभरि रहिरहन्छ भन्न सकिने अवस्था छैन, किनकि विश्व जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम देखिन थालिसकेको छ ।
नेपालमा अहिले जसरी नदी, खोलाबाट विद्युत् उत्पादनको सम्भावना देखिएको छ, त्यो सधैंभरि रहिरहन्छ भन्न सकिने अवस्था छैन, किनकि विश्व जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम देखिन थालिसकेको छ । नेपालका प्रमुख नदीहरू हिमालबाट उद्गम भएकाले यसको असरले नदीहरू सुक्ने सम्भावना पनि उत्तिकै छ । चिनियाँ वैज्ञानिकहरूले सन् २०५० सम्ममा सेता हिमाल काला हुने भविष्यवाणी गरेका छन् । नेपालले छिटो काम गरेमा अझै २०/२५ वर्ष यी हिमनदीको दोहन गरी लाभ लिन सक्छ । अन्यथा जलस्रोतमा धनी हौं भन्ने कुरा किताबमा मात्र सीमित हुन्छ र नेपालीहरू समृद्ध बन्ने आधार त्यसै खेर जान सक्छ । नेपालकोे काम गर्ने तौरतरीका सुधार नहुने हो भने नेपालमा एकातिर जलविद्युत्का ठूला परियोजना नबन्ने र अर्कोतर्फ पानीको समस्याको साथै बजार अभाव नआउला भन्न सकिँदैन ।
त्यसैले जलस्रोतबाट नेपालले साँच्चिकै लाभ लिने हो भने धमाधम जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न गर्न सक्नुपर्छ र निर्यात थालिहाल्नुपर्छ । भारततर्फको बजार पनि सुनिश्चित गर्नुका साथै बढाउन पनि आवश्यक छ । यी दुवै काम नगर्ने हो भने नेपालको स्रोत त्यसै खेर जान सक्छ । भारत होस् वा बंगलादेश वा अन्य कुनै देश नै किन नहोस्, नेपालको मुख ताकेर कोही पनि बस्दैनन् । उनीहरू आफ्नो ऊर्जाको आवश्यकता पूरा गर्न सम्भव भएसम्मका सबैजसो विकल्पमा गइरहेका छन् । भारतले अहिले ठूला ठूला सौर्य प्लान्टहरू लगाइरहेको छ । आणविक ऊर्जामा पनि ऊ अगाडि नै छ । ब्याट्रीमा भइरहेको अनुसन्धान र नवीन प्रविधिका कारण ब्याट्री सस्तो हुँदै गएको छ । यस्तोमा सौर्य ऊर्जा सस्तो पर्छ ।
भारत र बंगलादेश दुवै तीव्र आर्थिक विकासको गतिमा दौडिइरहेका मुलुक हुन् । तर, नेपाल भने कछुवाको गतिमा छ । यसो हुनुको कारण यहाँको राजनीतिक अन्योल हो । राजनीतिक नेतृत्वले विकासको महत्त्व नबुझ्ने र खालि राजनीतिक एजेन्डामा मात्रै काम गर्दा विकास निर्माणको गति अन्य देशका दाँजोमा निकै कम छ । अहिले पनि नेपालमा आर्थिक समृृद्धिका लागि काम गर्नुभन्दा बढी कहिले संघमा त कहिले प्रदेशमा सरकार बनाउने र भत्काउने काममा राजनीतिक दलहरूको समय बढी खर्च हुने गरेको छ । सबैजसो देशमा नेतृत्व सही हुँदा आर्थिक विकासले गति लिएको पाइन्छ भने नेपालमा राजनीतिक नेतृत्व सधैं अस्थिर र विचारमा अधीर रहेकाले अगाडि बढ्न सकेको छैन । त्यसैले जलविद्युत्को विकल्प आउनुअघि नै नेपालले आफ्नो स्रोतको अधिकतम परिचालन गरिसक्ने गरी काम गर्न ढिला गर्नु हुँदैन ।