काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।
स्थानीयका लागि विक्रीमा आएको आईपीओ खरीदका लागि लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका (साविकका घनपोखरा गाविस वडा नं. १ र २, खुदी गाविस वडा नं. ३, ताघ्रिङ गाविस वडा नं. ४, घेरमु गाविस वडा नं. ५, बाहुनडाँडा गाविस वडा नं. ६, भुलभुले गाविस वडा नं. ७ र ८ तथा सिमपानी गाविस वडा नं. ९) का बासिन्दाले आवेदन दिन सक्नेछन् ।
पहिलो चरणको आईपीओ निष्कासनपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । अधिकतम कित्ताका लागि भने आयोजना प्रभावित स्थानीयले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
आयोजन प्रभावित स्थानीयमा यो आईपीओ विक्री अवधि छिटोमा जेठ १६ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र स्थानीयबाट मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ३० गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ १६ गतेभित्र आवेदन दिनुपर्ने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीयय बासिन्दाले विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले लमजुङ जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्