सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर ७ करोड लगानी गरी सञ्चालन गरेको कृषि फार्म यतिबेला सुनसान छ । अघिल्ला वर्षहरूमा यो समय उनीहरूलाई कामको चटारो पर्ने गथ्र्यो । किवी रोप्ने, आलु खन्ने, गोलभेँडा, सागजस्ता नगदेबाली लगाउन व्यस्त रहने कृषक अहिले हात बाँधेर बसिरहेका छन् ।
‘५०० रोपनी जग्गामा फैलिएको हाम्रो फार्मले किवी खेतीलाई प्राथमिकता दिएको थियो, परिस्थिति सहज भएको भए हामी अहिले किवी रोप्ने र त्यसको स्याहार सुसारमा व्यस्त हुन्थ्यौं,’ हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लाक्पा लामाले भने, ‘आलु खन्ने, साग, गोलभेँडा लगाउने काम हुन्थ्यो । यो वर्ष केही गरिएको छैन ।’
गत असार १ गते आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रलाई तहसनहस बनाएपछि सो क्षेत्रको कृषि व्यवसाय ठप्पप्रायः छ । बाढीका कारण ककनीसम्म जोडिएको सडक अवरुद्ध भई यातायात सेवा सहज हुन नसकेकाले यो वर्ष फार्ममा बाली लगाउन नसकिएको लामाले बताए ।
बाढीपछि फार्ममा उत्पादन भएको तरकारी बेच्न नपाएको र कुहिएर गएको उनले बताए । बाढीअघिको वैशाखमा परेको असिनाले आधाभन्दा बढी किवीका बिरुवा समेत नष्ट भएको उनले सुनाए । ‘शुरुआतमा हामीले २०० ओटा किवीका बिरुवा रोपेका थियौं’, उनले भने, ‘किवी राम्रो हुँदै गएपछि त्यसलाई बढायौं । तर वैशाखमा परेको असिनाले किवीको बिरुवालाई असर पुर्यायो । अहिले ३०० हाराहारीमा मात्रै किवी होलान् ।’ केही प्रकोप नभए अर्काे वर्षदेखि किवीले पनि फल दिने र यातायात पनि सहज हुने आशा उनले गरेका छन् ।
शुरुआती चरणमा लाक्पा र उनको समूहले करीब ५०० रोपनीमा खेती शुरू गरेका हुन् । उनीहरूले ५०० वर्गमीटरको ग्रीन हाउस र १८ ओटा टनेल बनाएर खेती गरेका थिए । अनुभवको कमीको पहिलो वर्ष भने खेतीबाट घाटा लागेको लाक्पाले बताए । ‘नयाँ माटो र मलको उचित प्रबन्ध गर्न नसक्दा र नजान्दा पहिलो वर्ष लगानी पनि उठेन’, त्यसपछि कोरोना महामारी, असिना पानी, बाढी पहिरोले हामी पूरै घाटामा छौं ।’ उनीहरूले फार्ममा बालीनालीको रेखदेखका लागि एक जना जेटिए नै राखेका थिए । नियमित रूपमा ६ जनालाई र आवश्यकता अनुसार ४०–५० जनालाई रोजगारी दिएका थिए । फार्ममा स्थानीय विद्यालयका विद्यार्थीलाई पनि संलग्न गराउँदै आएका थिए ।
गाउँका युवा विदेशिने गरेको र कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र हेलम्बु सुनसान हुन थालेपछि सामूहिक खेती गरी आन्तरिक पर्यटक भित्त्याउने अभियानस्वरूप कृषि शुरू गरिएको उनीहरूको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न अग्र्यानिक कृषिसँगै रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनीहरू हेलम्बु–मेलम्ची बाढीपछि के गर्ने/नगर्ने भन्ने दोधारमा छन् ।
‘हामीले कृषिसँगै पर्यटकलाई आकर्षित गर्न रिसोर्ट पनि सञ्चालन गर्न लागेका थियौं । संरचनाहरू पनि बन्दै थिए, तर अहिले त्यो योजना पूरा गर्न पाएका छैनौं,’ लामाले भने, ‘मुख्यतः यातायात सहज भइदिए हामी पुनः यो काम शुरू गर्ने थियौं ।’ सरकारले बाढीले बिगारेको सडक तत्काल बनाइदिए र भत्किएका पुलहरूको पुनर्निर्माण गरे करोडौं लगानी गरेका आफूहरू जस्ता किसानलाई राहत पुग्ने उनले बताए ।
स्थानीय सरकारले पनि केही गर्छौं भनेर कृषि क्षेत्रमा लागेका आफूहरू जस्ता कृषकलाई महत्त्व नदिएको उनको गुनासो छ । ‘यत्रो विपद् प¥यो, हामीले गरेको यत्रो लगानी डुब्ने खतरामा छ ।