रासायनिक मलको समस्या सम्बोधन गर

नेपालका किसानहरूले वर्षौंदेखि रासायनिक मलको समस्या झेल्दै आएका छन् । यो समस्या हिउँदे र वर्षे बाली लगाउने दुवै समयमा दोहोरिने गरेको छ । सरकारले यो समस्या थाहै नपाएको भने होइन, हरेक वर्ष यसबारेमा कृषिमन्त्रालयमा छलफल पनि हुन्छ, बेलाबेलामा कृषिमन्त्रीहरूले अब भने यस वर्ष मलको अभाव हुँदैन भनेर भाषण पनि गर्न भ्याउँछन्, तर किसानले मल पाउँदैनन् । रासायनिक मल आपूर्ति गर्ने सरकारी निकायका रूपमा रहेको कृषि विकास कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले पर्याप्त मल नल्याउँदा किसानहरू सीमापारिबाट गुणस्तरहीन मल ल्याउन बाध्य हुन्छन्, त्यो पनि नेपाल र भारतका सीमा सुरक्षा र भन्सार सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले खोसिदिन्छन् ।