अपांगतामैत्री वित्तीय सेवाका लागि स्पष्ट नीतिगत व्यवस्था गर्न सरोकारवालाको सुझाव

काठमाडौं । वित्तीय सेवालाई अपांगगतामैत्री बनाउँनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना तथा नेपाल नेत्रहीन संघको समन्वयमा भएको अपांगतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले अपांगतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्था गर्नुपर्ने बताएका हुन् । नेपालको संविधानले सबै नेपाली नागरिकलाई समान सेवा–सुविधाको व्यवस्था गरे पनि बैंक तथा वित्तीय संस्थासँगै शेयर कारोबारका लागि समान सेवा–सुविधा नपाएको दृष्टिविहीनहरूले गुनासो गरे । नेपाल नेत्रहीन संघका उपाध्यक्ष खोमराज शर्माले बैंकको ढोकादेखि नै आफूहरूले नेपाली नभएजस्तो व्यवहार भोग्दै आएको बताए । वित्तीय क्षेत्र प्रविधिमैत्री भएको अवस्थामा दृष्टिविहीनले प्रविधिको प्रयोगका लागि अन्य सामान्य व्यक्तिसरह सुुविधा पाउनबाट वञ्चित भएको शर्माको भनाइ छ । कतिपयले त्यो सुविधा पाए पनि धेरै पहल गर्नुपरेको उनले बताए । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति, कानुनको आ–आफ्नै व्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भइरहेको शर्माको धारणा छ । साधारण व्यक्तिसरह वित्तीय क्षेत्रमा विकास गरिएका प्रविधिलाई सहजै प्रयोग गर्न सक्ने क्षमता आफूहरूमा पनि रहेको र कतिपयले प्रयोग गर्दै आएकाले यो सेवा लिन सहज वातावरण हुनुपर्ने माग उनको छ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेदेखि अन्य सेवा लिन अन्य व्यक्तिसरह सहज वातावरण नहुँदा समस्यामा परेको भन्दै सहज वातावरणको बनाइदिन उनको आग्रह छ । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अहिलेको नीतिगत व्यवस्थाले वित्तीय क्षेत्रमा भएका सबै सेवा–सुविधामा नेपालीको समान हक रहेको प्रस्ट पारे । अपांगता भएकै आधारमा नीतिगत कारण देखाई सेवाबाट वञ्चित गराउनु कारबाहीकै विषय भएको उनको भनाइ छ । वित्तीय सेवा प्रवाह गर्ने कुनै पनि निकायले अपांगता भएकालाई कमजोर सावित गरी नीतिगत अस्पष्टताको कारण देखाई सेवाबाट वञ्चित नगराउन उनले निर्देशन दिए । अपांगतामैत्री सेवामा पूर्णता नभएको कुरालाई स्वीकार्दै आगामी दिनमा आवश्यक नीतिगत व्यवस्थासहित अघि बढ्नुपर्ने विचार बैंकर संघका अध्यक्ष भुवन दाहालको छ । यसका लागि कार्यदल नै बनाएर समय तालिकासहित आवश्यक काम गर्नुपर्ने सुझाव उनले दिए । अहिले प्रविधि प्रयोगमा सबलभन्दा पनि अपांगता भएकाहरू अगाडि रहेकाले यो सेवामा उनीहरूको सहभागीता बढाउनुपर्नेमा उनले जोड दिए । डेभलपमेन्ट बैंकर संघका अध्यक्ष प्रद्युमन पोखरेलले ग्राहकलाई सेवा दिने क्रममा धेरै कुरा सुधार गर्दै जानुपर्ने आवश्यकता औंल्याए । यसमा पनि अपांगता भएकालाई सेवा दिने क्रममा नियामकको नीतिगत व्यवस्थासँगै आफ्नै आन्तरिक नीतिगत व्यवस्थालाई पनि सुधार गर्न सकिन्छ भन्नेमा ध्यानपूर्वक काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । शेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्दै आएका धितोपत्र दलाल व्यवसायीले पनि अस्पष्ट नीतिका कारण अपांगता भएकालाई चाहेर पनि ढुक्कसँग सुुविधा प्रदान गर्न नसकेको गुनासो गरे । त्यस्ता प्रकारका व्यक्तिलाई अझ विशेष प्रकारको सेवा दिनुपर्ने भए पनि सम्झौतामा कतिपय नीतिगत अस्पष्टताका कारण सबैलाई ढुक्क भएर सेवा दिन नसकेको जानकारी उनले गराए । नीतिगत स्पष्टतासँगै प्रविधिका प्रयोगका लागि वेब एक्सिबिलिटी गाइडलाइन र आर्थिक सुरक्षाका लागि बायोम्याट्रिक्स प्रणाली विकास भए शेयर बजारमा अपांगता भएकालाई सहजै सेवा प्रदान गर्न सकिने भनाइ मैनालीको छ । मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले आफूहरूले दिने सेवा प्रवाहलाई अपांगतामैत्री बनाउन आन्तरिक छलफलमा जुट्ने र आगामी दिनमा छुट्टै कार्यक्रम आयोजना गर्न सकिने बताए । कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अपांगता भएका व्यक्तिका लागि प्रविधि सहज बनाउन नीतिगत व्यवस्थाअनुसारको सिस्टम विकासमा जोड दिए । अहिले पनि अपांगता भएकाहरूले प्रविधि प्रयोगमै शेयर कारोबार गरिरहेको अवस्थामा समस्या र समाधानका विषय प्रस्ट पारिदिए सिस्टम विकासमा कुनै समस्या नहुने अधिकृत साउदको तर्क छ । शेयर बजार अपांगता भएकाहरूका लागि उपयुक्त व्यावसायिक क्षेत्र भएको प्रतिक्रिया आइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्र्डले पनि आगामी नीति तथा कार्यक्रममा आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पुँजी बजारको कारोबारका लागि सूचना सबैभन्दा महत्वपूर्ण कुरा हो । यसर्थ अपांगता भएकाहरूले तस्बिर, डाटाका सूचना कसरी पढ्न सक्छन् भन्नेमा ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याए । शेयर कारोबार राफसाफका लागि बैंकिङ क्षेत्र पनि जोडिने भएकाले सबै वित्तीय क्षेत्रमा आवश्यक सुधार गर्नुपर्नेे ढुंगानाको भनाइ छ ।