भारतमा बस्ने नेपालीहरूले त्यहाँ भएको स्वतन्त्रता आन्दोलनलाई नजिकबाट हेरिरहेको अवस्थामा बीपी कोइरालाले २००३ असोज १८ गते नेपालमा राणा शासन समाप्त पारेर प्रजातन्त्र स्थापना गर्ने उचित अवसर आएको भन्दै सबै नेपालीलाई एकजुट भएर सङ्घर्ष गरौँ भन्ने अपील प्रकाशित गर्नुभयो । यसअघि २००२ को मङ्सिर–पुसमा काशीमा बस्ने केही युवा मिलेर अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेका थिए । यसको प्रारम्भिक अवस्थामा देवीप्रसाद सापकोटा सभापति हुनुहुन्थ्यो भने विश्वेश्वरप्रसाद कोइरालाको सक्रिय भूमिका थियो । १२ र १३ माघ २००३ मा भएको सम्मेलनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय काँगे्रस बनायो । विभिन्न कारणले नेपाली राष्ट्रिय काँग्रेसमा फाटो आएकाले कार्यकर्तालाई समेट्ने उद्देश्यले २००४ सालमा मोहनविक्रम शाह, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर, सुवर्णशमशेर आदिले नेपाल प्रजातन्त्र काँग्रेस स्थापना गरेका थिए ।