परापूर्वकालमा नेपाल हिमालय वारपारका दुई छिमेकी मुलुकहरू भारत र चीनको व्यापारको माध्यम देश रहिआएको इतिहासमा उल्लेख छ । प्राचीन रेशममार्ग विस्तारसँगै यो प्रक्रियाले अझ तीव्रता लिएको र त्यही समय सो मार्गको एकओटा भँगालोमा नेपाल पनि जोडिन गएको बखतलाई नेपालको इतिहासकै स्वर्णकाल भनी वर्णित छ । गैरभन्सार अवरोधहरू शून्य रहेको, व्यापारमा उत्पत्तिको प्रमाणपत्रको व्यवस्था नभएको र कर मात्र व्यापार नियमनको अंग रहेको सन्दर्भमा रेशममार्गमा व्यापार सहज थियो । यसैकारणले भारत र चीन दुवैतर्फबाट सम्भव भएसम्मको व्यापार नेपालको माध्यमबाट हुने गर्दथ्यो । हिमालय वारपार व्यापारमा बाह्रैमास सञ्चालक गर्न सकिने नाकाहरूको नेपालमा बाहुल्य रहेको सन्दर्भ तथा सो समयमा चीन र भारतबीच व्यापारमा लागि अहिलेको जस्ता सामुद्रिक हवाई विकल्पहरू उपलब्ध नभएको सन्दर्भमा चीन र भारतबीचको व्यापार नेपालको माध्यमबाट हुनु स्वाभाविकै थियो । यस कालखण्डमा नेपाल हिमालवारपार सीमा व्यापारको केन्द्र मात्र बनेन परन्तु खनिजजन्य उत्पादनको केन्द्रसमेत बन्न पुग्यो ।
पछिल्लो कालखण्डमा पनि नेपाललाई चीन र भारतको व्यापारको माध्यम देश बनाउने विचारहरू प्रस्तुत भइरहेका छन् । यो स्वाभाविक पनि हो । परन्तु चीन र भारतबीचको व्यापारको माध्यम नेपाल बनाउने विषयमा देशभित्र जनशक्ति (राजनीतिक, आर्थिक, व्यापारिक, शैक्षिक, प्राज्ञिक, कूटनीतिक) को अनुपस्थितिका कारण यो विशाल सम्भावनालाई व्यवहारमा परिणत गर्न सकिएको छैन । बरु नेपाल र चीनबीच हुने व्यापारमा भारतीय पारवहन मार्गको अधिकाधिक प्रयोग गर्नुपर्ने अभ्यास बढ्दो क्रममा छ ।
यसरी चीन र भारतको व्यापारको केन्द्रबिन्दु नेपाल बनाउने प्राचीन रेशममार्गकै पालादेखिको स्थापित र सफल मोडलमा जानुको साटो विगत केही दशकदेखि अनौठो अभ्यास शुरू भएको छ, नेपालको निर्यात व्यापारमा । तेस्रो मुलुकमा भारतकै बाटो भएर कच्चापदार्थ आयात गर्ने र भारत निर्यात गर्ने । वनस्पति घ्यू, एक्रेलिक यार्न, जिङ्क अक्साइड, तामाको तारबाट शुरू भएको यो व्यापार हाल आएर पामतेल, सूर्यमुखी तेल र भटमासको तेलसम्म विस्तार भएको छ । अझ भारतबाट फलामको कच्चापदार्थ आयात गरेर भारतमै प्रशोधित वस्तुहरू निर्यात गर्ने अभ्यास पनि कायम नै रहेको छ । भारतीय रुपया यूएसडलरमा किनेर भुक्तानी गर्नुपर्ने बाध्यता रहेको बेला कम्तीमा कच्चापदार्थको ३० प्रतिशत मूल्ययोगयुक्त निर्यात हुँदा भारूको मागको चापमा केही कमी भए तापनि यसले दीर्घकालमा केकस्ता असरहरू पर्छन् भन्ने विषयमा गहन छलफल हुन सकेको छैन ।
उपर्युक्त चरित्रका वस्तुहरूको निर्यात वृद्धि हुँदाका प्रतिशतहरू राजनीतिक प्रयोजनमा उपयोगी हुने देखिए तापनि आर्थिक प्रयोजन खास गरी स्वस्थ्य अर्थतन्त्रको विकासमा यस्तो निर्यातले के अर्थ राख्छ भन्ने विषयमा छलफल प्रारम्भ हुन सकेको छैन । भारतको सानो नीतिगत परिवर्तनमा रातारात तासका महलझैं ढल्ने यस्ता निर्यातको अनुभव नेपालले वनस्पति घ्यूको निर्यातमा परेको प्रभावबाट प्रस्टै भइरहेको छ । त्यसैले विकसित देशहरूले आफ्नो देशको निर्यातलाई परिपक्व निर्यात र अपरिपक्व निर्यात भनी दुईओटा वर्गमा वर्गीकृत गर्ने गरेको पाइन्छ । अपरिपक्व निर्यातको ठोस आधार नहुने, क्षणिक परिवेशको लाभ लिने प्रवृत्ति रहने र छिद्रहरू खोज्दै छिद्रबाट पस्दै निर्यात गर्ने अभ्यासहरूलाई धेरै देशले हतोत्साह गर्ने गरेको पाइन्छ । यस्ता निर्यातहरू रातारात ढल्ने र त्यसले एकाएक रोजगारी कटौती, बैंकको ऋणहरूमा समस्या र स्वयम् उद्योगीहरू पनि चरम आर्थिक संकटमा पर्ने हुँदा यस्ता अपरिपक्व निर्यातलाई हतोत्साहित गर्ने गरिन्छ ।
समग्र निर्यातमा अपरिपक्व निर्यातको अंश बढी भएको अवस्थामा त्यस्तो निर्यातमा अवरोध सृजना हुँदा रातारात समग्र अर्थतन्त्र नै टाट पल्टने अवस्था आउन सक्छ जुन धेरै नै जोखिमपूर्ण हुन्छ । बनाना रिपब्लिकहरूको सृजनामा यस्तै अपरिपक्व निर्यातको भूमिका अधिक रहेको हुन्छ । निर्यातमा यस्ता वस्तुको संख्या र निर्यात गन्तव्य कम हुँदै जानु तर निर्यातमा यी वस्तुको अंश बढी हुँदै जानु भनेको निर्यात व्यापार बारुदी सुरूङमाथि रहनु जस्तै हो । गन्तव्य मुलुकले गर्ने सानो नीतिगत परिवर्तनले बारुदी सुरूङ विस्फोट भई निर्यात व्यापार शून्यमा झर्ने अवस्था सृजना हुन सक्छ । छिद्र पहिल्याउँदै गरिने निर्यात व्यापारको आयु गन्तव्य मुलुकको अर्थतन्त्र, राजस्व संकलन र स्थानीय व्यापारिक समुदायको स्वार्थमा प्रभाव नपारुञ्जेल सम्म मात्रै हो । यस्तो क्षणभंगुर निर्यातले त कुनै पनि देशको समग्र अर्थतन्त्रलाई नै क्षणभंगुर बनाइदिन सक्छ ।
विगत केही वर्षयता खाद्य तेलको निर्यात नेपालको निर्यात बास्केटमा अचम्मका रूपमा उदाएको छ । पामतेल भटमासको तेल सूर्यमुखी तेल निकासीले नेपालको समग्र निर्यातको आँकडालाई नै विस्मयकारी बनाइदिएको छ । आर्थिक वर्ष २०१८/१९ र आर्थिक २०१९/२० मा क्रमशः रू. १० अर्ब र रू. १८ अर्ब निर्यात भएको पामतेल भारतसरकारको एउटा सूचनाका कारण रातारात घट्न गई आर्थिक वर्ष २०२०/२१ मा उक्त आँकडा रू ४ लाखमा झर्न पुग्यो । हाल भटमासको तेल र सूर्यमुखी तेलको निर्यातमा प्रशस्त वृद्धि भएको अवस्था छ । भारतको सानो नीतिगत निर्णयले पामतेलमा झैं भटमासको तेल र सूर्यमुखीको तेलको निर्यातमा समस्या देखापरेमा नेपालको निर्यात ‘पुनर्मुषिको भवः’ को अवस्थामा पुग्ने खतरा रहेको छ ।
यदि गन्तव्य मुलुकमा सम्बद्ध वस्तु उत्पादन प्रविधि उपलवध नभएमा, गन्तव्य मुलुकको भन्दा निर्यातक मुलुकको प्रविधि उच्च स्तरको भएमा, गन्तव्य मुलुकले उच्च गुणस्तरको वस्तु उत्पादन गर्न नसक्ने अवस्था विद्यमान भएमा, जनशक्ति उपलब्ध नभएका तथा इकोनोमी अफ स्केलको लाभ प्राप्त हुने भएमा, प्रभुत्व स्थापित गर्ने क्षमता भएमा वा कच्चापदार्थमा निर्यातक मुलुकलाई विशेष पहुँच र सुविधा प्राप्त भएको अवस्थामा विदेशी कच्चापदार्थमा आधरित निर्यातले देशकै कायापलट गरेका उदाहरणहरू प्रशस्तै छन् । परन्तु नेपालको भारततर्फको निर्यातमा उपर्युक्त परिस्थितिभन्दा भिन्न तर विपरीतको अवस्था विद्यमान छ ।
नेपालको प्रविधि, जनशक्ति, इकोनोमी अफ स्केल, कच्चापदार्थमा पहुँच, ढुवानी खर्च आदिमा हामीभन्दा भारत नै उच्चस्थानमा रहेको छ । फेरि गन्तव्य मुुलुकको नीतिमा परिवर्तन गर्न सक्ने वा नीति अपरिवर्तनका लागि दबाब दिन सक्ने हैसियत पनि हाम्रो छैन । यस्तो अवस्थामा भारतको बाटो हुुँदै कच्चापदार्थ आयात गरी भारतमै निर्यात गर्ने र व्यापारघाटामा सुधार गर्ने लहडले निश्चय नै अर्थतन्त्रलाई खाडलतिर नै लग्ने देखिन्छ । तसर्थ यस्ता जोखिमयुक्त क्षणभंगुर निर्यातबाट नेपालको नीति निर्माण तह र स्वयम् उद्यमी व्यावसायीहरू पनि सजग हुनुपर्छ ।
उपर्युक्त पक्षहरूलाई दृष्टिगत गर्दै अपरिपक्व चरित्रका क्षणभंगुर निर्यातलाई विकसित देशमा झैं नेपालमा पनि सतर्कताका साथ हेरिनुपर्छ । यस्ता क्षणभंगुर निर्यातलाई परिपक्व निर्यातमा रूपान्तरण गर्न निजी र सरकारी दुवै क्षेत्रबाट गम्भीर प्रकृतिका व्यापार वार्ताहरू सञ्चालन गरिनुपर्छ र नेपालको आयात व्यापारलाई निर्यातका लागि नीतिगत र प्रक्रियागत सहजताको औजारका रूपमा उपयोग गर्नु आवश्यक देखिन्छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईका यी विचार निजी हुन् ।