जेठ १७, पेचिङ (चीन) । चीनले दम्पत्तिहरुलाई तीन ओटा सन्तान जन्माउन अनुमति दिने भएको छ ।
जनगणनाले जन्मदरमा तीव्र कमी आएको देखाएपछि सरकारले यस्तो घोषणा गरेको हो । चीनले सन् २०१६ मा दशकौं पुरानो एक सन्तान नीति त्यागेर दुई ओटा सन्तानसम्म जन्माउने अनुमति दिएको थियो । तर यसले पनि जन्मदर दिगो तवरले बढाउन नसकेपछि सरकारले पछिल्लो निर्णय गरेको हो ।
राष्ट्रपति सी चिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्यूरो बैठकमा यो नीतिलाई अनुमोदन गरेको सरकारी समाचार संस्था सिन्ह्वाले बताएको छ । यस नीतिले पेचिङको घट्दो जनसंख्याको प्रभाव न्यूनीकरण गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।
गत वर्ष चीनमा करीब १ करोड २० लाख बच्चा जन्मिएका यसै महीनाको शुरुमा सार्वजनिक पछिल्लो जनगणनाले देखाएको छ । एजेन्सी