सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता : शुक्रबहादुर राई बने च्याम्पियन

काठमाडौं (अस) । सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगितामा धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई च्याम्पियन बनेका छन् । उनी ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २६९ को नतीजा निकाल्दै ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन’ बनेका हुन् । शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करीअरको सातौं उपाधि हात पारे । उपाधिसँगै उनले २ लाख ५० हजार नगद पुरस्कार पाएका छन् । उनी पहिलोपटक नेपालको नम्बर एक गल्फर बनेको आयोजकले बताएको छ । प्रतियोगितामा १३ अन्डर २७५ सहित निरज दोस्रो भएका थिए । समग्रमा १२ अन्डर २७६ सहित भुवन तेस्रो भए । एमेच्योर वाङचेन ढोन्डुपले १ ओभर ७३ सहित समग्रमा ११ अन्डर २७७ सहित एमेच्योरतर्फ उपाधि जिते । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १० अन्डर २७८ सहित एमेच्योरतर्फ दोस्रो भए । चारदिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता थियो । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको थियो । प्रतियोगिताका विजेताले २ लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख ५५ हजार र १ लाख १० हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार हस्तान्तरण गरेका थिए ।