काठमाडौं । परम्परागत ऊर्जा र आयातित इन्धनको खपत न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र क्लिन कुकिङ एलायन्स (सीसीए)को संयुक्त पहलमा कार्ययोजना तयार गरिएको हो । सो कार्ययोजनामा सरकारले लिएका लक्ष्य पूरा गर्न सरोकारवाला निकायले गर्नुपर्ने कामबारे उल्लेख छ ।
शनिवार आयोजित कार्यक्रममा राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्दै विद्युतीय चुलोको विकास र विस्तारमा क्रियाशील विभिन्न निकायका प्रमुखले विद्युतीय चुलोको माग, आपूर्ति, उपयुक्त वातावरण र वित्तीय क्षेत्रका प्राथमिकताबारे प्रकाश पारिएको थियो ।
कार्यक्रममा सहभागीहरूले नेपालमा विद्युतीय ऊर्जाको उत्पादन बढ्दै गएको सन्दर्भमा विद्युत् खपत बढाउन र आयातित इन्धनको निर्भर कम गर्न विद्युतीय चुलो महत्त्वपूर्ण विकल्प रहेको बताएका थिए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले नेपालले सन् २०३० सम्ममा सम्पूर्ण परम्परागत ऊर्जा र आयातित इन्धनको खपत न्यून गरी स्वच्छ भान्छाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको सन्दर्भमा विद्युतीय चुलोको विस्तार गर्दै लैजानुपर्ने बताए ।
सीसीएका राष्ट्रिय प्रतिनिधि करुणा वज्राचार्यले वातावरण संरक्षण, स्वास्थ्य र महिला सशक्तीकरणमा विद्युतीय चुलोको प्रयोग निकै उपयोगी हुने बताइन् । यसको प्रवर्द्धनका लागि सरोकारवाला निकायलाई नीति योजना र कार्यक्रम तर्जुमा गर्न सहयोग पुर्याउन कार्ययोजना तयार गरिएको उनले बताइन् ।
वीनरक इन्टरनेशनलका राष्ट्रिय प्रतिनिधि बद्री बरालले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेका प्रतिबद्धता र राष्ट्रियस्तरमा गरिएका नीतिगत व्यवस्थाअनुसार वातावरण संरक्षण र आयातित इन्धन खपतको न्यूनीकरणका लागि विद्युतीय चुलोको प्रयोगलाई विस्तार गर्नुपर्ने बताए । अजम्बरी विकास फाउण्डेशनका कार्यकारी निर्देशक सुवर्ण कपालीले विद्युतीय चुलोको निर्माण र बजारीकरणमा निजीक्षेत्रको भूमिकालाई पनि आत्मसाथ गरी नीति निर्माण र कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए ।
सामुदायिक विद्युत् उत्पादक राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले भरपर्दो, गुणस्तरीय र विपन्न जनताले पनि खपत गर्नसक्ने विद्युत् आपूर्तिको सुनिश्चित भएमा प्रत्येक घरधुरीमा विद्युतीय चुलो पुर्याउन सकिने सम्भावना रहेको बताए । नेपालका लागि नर्वेको राजदूतावासका काउन्सिलर जान इरिक स्टुडस्र्डले नेपालको आर्थिक समृद्धिका लागि स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिन आवश्यक रहेको बताए । रासस