बागलुङ र बर्दियामा चौथो पटक निषेधाज्ञा थप

जेठ २२, गलकोट/बाँके । बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनका अनुसार यसअघि बन्द बैंक तथा वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक तथा वित्तीय संस्था बुधवार र आइतवार बिहान ७ देखि १० बजेसम्म खुला रहने छ । बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  कोरोना संक्रमण र मृत्यु दर नघटेको जनाउँदै बर्दियामा पनि स्थानीय प्रशासनले चौथो पटक निषेधाज्ञा थपेको छ ।  जिल्ला प्रशासन कार्यालयले शुक्रवार सूचना जारी गर्दै  १० दिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।