महिला उद्यमशीलताको विकासमा मेटलाइफ फाउन्डेसनले सघाउने

काठमाडौं । मेटलाइफ फाउन्डेसनले वित्तीय साक्षरतासम्बन्धी परियोजना सञ्चालन गर्न स्वावलम्बन विकास केन्द्र (सीएसडी) नेपालसँग सम्झौता गरेको छ । महिला उद्यमीको आर्थिक अवस्था सुदृढ गर्ने तथा डिजिटल ज्ञान दिने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको बताइएको छ । विभिन्न लघुवित्तमा आबद्घ महिला उद्यमीलाई सञ्जाल विकासको अवसर, विशेषज्ञबाट व्यवसायिक सुझाव तथा प्रशिक्षण दिई उद्यमशीलतामा दक्षता बढाउन सीएसडीले सघाउने सम्झौतामा उल्लेख छ । यस सहकार्यले नेपालमा उदीयमान महिला उद्यमीका लागि समावेशी व्यावसायिक वातावरण सृजना गर्ने लक्ष्य राखिइएको मेटलाइफको भनाइ छ । उद्यमशीलता र नवप्रवर्तन तालीम, वित्तीय तथा डिजिटल ज्ञानसम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पहुँच तथा देशैभर सञ्जाल विकास जस्ता कार्य गरिने मेटलाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले जानकारी दिए । करीब पाँच हजार महिला उद्यमीको उत्थानका लागि यस परियोजनाअन्तर्गत कुल ५० हजार अमेरिकी डलर खर्च गरिने बताइएको छ ।