कालीगण्डकी नदीमा जलयात्रा ठप्प

पर्वत । कोरोना संक्रमणको जोखिमका कारण कालीगण्डकी नदीमा जलयात्रा (¥याप्mटिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा बहाव घटेलगत्तै शुरू हुने जलयात्रा २ वर्षदेखि ठप्प बनेको हो । योे जलयात्राको पहिलो याम हो भने अर्काे याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना संक्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा सञ्चालन हुन नसकेको सम्बद्ध व्यवसायीले बताएका छन् । कालीगण्डकीमा सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यस वर्ष जलयात्राका लागि पर्यटक नआएको कालीगण्डकी ¥याप्mटिङ कम्पनीका सञ्चालक होमबहादुर पुनले जानकारी दिए । उनका अनुसार गतवर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको संख्या शून्यजस्तै भएको छ । अहिले केही आन्तरिक पर्यटकले जलयात्राका गर्न बुकिङ गरे पनि एक–दुई दिनका लागि मात्र भएको पुनको भनाइ छ । विदेशी पर्यटक नेपालमै भित्रिन नसकेकाले जलयात्रा ठप्पप्रायः छ । कोरोना संक्रमण घट्दै गएकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिए पनि कुनै पनि देशका पर्यटक नआएको पुनले बताए । सलोन ¥याप्mटिङ एण्ड ट्रेकिङ एक्सपिडिसन कम्पनी काठमाडौंका प्रबन्ध निर्देशक देव रेग्मीले  बाह्य पर्यटक नआउँदा ¥याप्mटिङ व्यवसाय धराशयी बनेको बताए । दुई वर्षअघि लामो समय वर्षा भएकाले एक–दुई साता मात्र जलयात्रा सञ्चालन भएकोमा अहिले कोरोनाले ठप्पजस्तै बनेको उनको भनाइ छ । पर्यटकको संख्या नबढेसम्म जलयात्रा व्यवसायले गति लिन नसक्ने उनले बताए । कालीगण्डकी नदीमा छोटो र पारिवारिक जलयात्राका लागि आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक सिजनमा २ हजारदेखि ३ हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए । पर्वतको कुश्मा नगरपालिका १ पाङ स्थित नयाँपुल तथा मालढुंगाबाट शुरू हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन र प्रदूषणरहित हावापानीका कारण पर्यटक आकर्षित हुने गर्दछन् । कालीगण्डकीमा जलयात्राका लागि धेरै इजरायली पर्यटक आउने गरेका छन् । यस्तै, अस्टे«लिया, यूरोप र अमेरिकाका पर्यटकको पनि आकर्षण देखिन्छ ।