काठमाडौं । नबिल बैंक लिमिटेडले मङ्सिर २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।
यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । छिटोमा पुस ३ गतेसम्म विक्री अवधि तय गरिएको यो ऋणपत्र खरीदका लागि तोकिएको अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस १३ गतेसम्म विक्री लम्बिनेछ ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले समयमै वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्