असोज ८, नेपालगञ्ज । नेपालगञ्जस्थित कान्ति तालको पुनर्निर्माणपछि आन्तरिक पर्यटनको प्रवर्द्धन हुन थालेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनर्निर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी दिए ।
वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको ताललाई उपमहानगरपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गरेपछि अहिले नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट कान्ति ताल घुम्न आउनेको संख्या बढ्दो रहेको उनले बताए ।
उपमहानगरपालिकाले रू. साढे १० करोड लगाएर कान्ति तालको पुनर्निर्माण सँगसँगै वरिपरिको क्षेत्रमा हराभरा गराउँदै छ । बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकस्थल बन्न थालेपछि आसपासका बासिन्दा खुशी भएका छन् ।
ताल बिहान र साँझपख स्थानीयवासीको घुमघाम गर्ने रमणीय स्थान बनेको स्थानीयवासी सिर्जना थापाले बताइन् । धेरैजसो युवायुवती तालमा घुम्ने, तस्वीर खिचेर रमाइलो गर्ने गरेको उनको भनाइ छ ।
नेपालगञ्जमै रमणीय स्थान भएपछि प्राकृतिक सौन्दर्यको मजा लिँदै सहरका विभिन्न ठाउँबाट तालमा पुग्ने गरेका छन् । तालमा अहिले टिकटक र फोटो खिचाउनको लर्को लाग्ने गरेको थापाले बताए ।
सो ताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनाका साथै तालमा बोटिङको प्रबन्ध गरिँदैछ । उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ ।
तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षरोपण गरिएको उपहानगरपालिकाका इञ्जीनियर सुरज शर्माले बताए ।
उनका अनुसार कान्ति ताललाई पर्यटकको आकर्षण बढाउने गरी दूरगामी सोचका साथ कान्तितालको विकास गरिँदैछ । उपमहानगरपालिकाले यस वर्ष रू. ३५ लाख छुट्याएको छ । ताल वरिपरि बाटो बनाइएको छ । ताललाई घेरेर बाटो, नाली, वृक्षरोपण गरिएपछि अहिले बिहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको छ ।
पुराना ताल तलाउको संरक्षण र त्यसलाई पर्यटकीयस्थल बनाउने उपमहानगरपालिको योजनाअनुसार कान्ति तालसँगसँगै नेपालगञ्जको वडा नं १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्य भइरहेको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बताए । रासस