तीन जना मजदुर बर्खास्त गरेबापत भारतको गोरखपुरमा बुझाइयो ज्ञापनपत्र

काठमाडौँ । भारत गोरखपुरस्थित भी.एन. डायर्स प्रोसेसर्स प्राइभेट लिमिटेडमा कार्यरत तीन जना मजदुरलाई कामबाट निकालिएपछि त्यसको विरुद्धमा आज फेबु्रअरी २१, २०२१ का दिन ज्ञापनपत्र बुझाइएको छ । बिगुल मजदुर दस्ता र टेक्सटाइल्स वर्कर्स युनियनको नेतृत्वमा गोरखपुर उपश्रम आयुक्तको कार्यालयमा विरोध प्रदर्शन गर्दैै ज्ञापन पत्र बुझाइएको हो । लखनऊ, गोरखपुर, इलाहावादलगायत उत्तर प्रदेशमा सक्रिय रहेको बिगुल मजदुर दस्ताले सो जानकारी दिएको छ । ज्ञापनपत्र बुझाउनुपूर्वको प्रदर्शनलाई सम्बोधन गर्दै बिगुल मजदुर दस्ताका राजू कुमारले ने श्रम कानुन मजदुर सङ्घर्षको एउटा माध्यम भएको बताउनुभयो । अहिलको सरकारले श्रम विधेयकमार्फत विद्यमान श्रम कानुनका उपलब्धिलाई समेत समाप्त गर्न खोजिरहेको उहाँले आरोप लगाउनुभयो । टेक्सटाइल वर्कर्स युनियनका सदस्य अरुणकुमार चौबेले उपश्रम आयुक्तसित तीन जना मजदुरलाई कामबाट निकालिएको सम्बन्धमा वार्ता भएको जानकारी दिँदै घटनाको छानबिन गर्ने सहमति भएको जानकारी पनि दिनुभयो । उहाँले कामबाट निकालिएका तीन मजदुरलाई फिर्ता नबोलाउँदासम्म आन्दोलन जारी रहने पनि बताउनुभयो । विरोध प्रदर्शन में मजदुर नेताहरू सुनिल, सञ्जय, महेन्द्र, सुरेन्द्रलगायतको उपस्थिति रहेको थियो ।