घरमाथि पहिरो चल्न थाल्यो, रातभर सुत्दैनन् स्थानीय (फोटोफिचर)

म्याग्दीको गलेश्वर पारीको वस्ती पहिरोको उच्च जोखिममा परेको छ । रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको वस्ती माथिको पाखोबाट पहिरो खस्दा यहाँ रहेका ३० घरपरिवार जोखिममा परेका हुन । भिरालो पाखो लस्किएर वस्तीमाथि आइपुगेको छ । पहिरोको कारण स्थानीयवासीहरु रातमा निदाउन पाएका छैनन् । कतिबेला पहिरो खस्छ र वस्ती नै पुर्ने हो भन्ने चिन्ताले यहाँका स्थानीयवासीहरु चिन्तीत छन् । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा वस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासीहरु बताउँछन् । गत वर्ष देखि सडक निर्माण थालिएको थियो । कमजोर र भिरालो जमिनमा जथाभावि रुपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासीहरु बताउँछन् । सडक बनाउदा प्रर्याप्त सावधानी नअपनाएका कारण वस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी गंगादेवी छन्त्यालले बताउनुभयो । कमजोर भुभागमा सडक बनाउन डोजरले जथाभावि भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पुरै पाखो खस्न थालेको स्थानीयवासी छन्त्यालले बताउनुभयो ।