चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते

चितवन । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरू घाइते भएका हुन् । चालू आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटिका कारण भएको देखिएको छ । कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । आगलागीको समय शुरू हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गरे । उनले जिल्लामा अहिले आपत् कालीन कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिए । उनले भने, ‘सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, सुरक्षा निकायका सबै अंग, सामुदायिक वन महासंघ, रेडक्रसजस्ता संस्थाको सहभागितामा कार्ययोजना निर्माणको काम भइरहेको छ ।’ चैत १५ गतेसम्म कार्ययोजना तयार हुने जनाउँदै उनले यो कार्यान्वयनमा आएसँगै आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने बताए । गर्मी मौसम बढेसँगै विभिन्न कारणले आगलागी हुने गरेकाले यसको नियन्त्रणका लागि जनचेतना महत्त्वपूणर् हुने उनको भनाइ छ । स्थानीय प्रशासनले जिल्लामा रहेका सात पालिकालाई नै जनचेतनाका कार्यक्रमका लागि आग्रह गरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले पूर्वतयारी गरिरहेका छौं ।’ पालिकामा रहेका दमकल, एम्बुलेन्स र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको उनले बताए । मौसममा आएको परिवर्तनसँगै हुने हावाहुरी, डढेलो र चट्याङजस्ता कारणले आगलागी बढी हुने गरेको छ । -रासस