निषेधाज्ञाले आँपको बजार प्रभावित हुँदा किसान समस्यामा

काठमाडौं । निषेज्ञाले गर्दा आँपको बजार प्रभावित हुँदा आँप उत्पादक किसान तथा व्यवसायी समस्यामा परेका छन् । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञाका कारण आँप उत्पादक किसान तथा व्यवसायीलाई सहज रूपमा आँप बजारसम्म पुर्‍याउन समस्या परेको छ । अहिले मालदह, कलकतिया, सिरीह, बम्बई, किसुनभोग, दशहरिलगायत जातका आँपको सिजन शुरू भइसकेको छ । तर, यसवर्ष आँपले अघिल्ला वर्षहरूमा झैं बजार पाउन सकेको छैन । यही कारणले गर्दा किसानहरूले समस्या भोग्नुपर्ने अवस्था आएको हो । सिराहा कृषि ज्ञानकेन्द्रका प्रमुख किसुन देव राउतले निषेधाज्ञाका कारण आँपले राम्रो बजार पाउन नसकेको बताए । सामान्य अवस्थामा उत्पादक किसानहरूले आफूले उत्पादन गरेका आँप आफैले स्थानीय बजारसम्म लगेर विक्री गर्ने गथे । तर, जारी निषेधाज्ञाका कारण स्थानीय हाट बजारहरू बन्द भएकाले त्यसरी बेच्न नसकिएको उनको गुनसो छ । फलफूल पसलहरू पनि बिहान बेलुका मात्र खुल्ने भएकाले आफ्नो उत्पादन सजिलै बेच्न सक्ने वातावरण नभएको उनले सुनाए । सिराहा र सप्तरी जिल्लामा मात्रै करीब १५ हजार ६ सय हेक्टर जमीनमा आँप खेती गरिन्छ । यो वर्ष अफ सिजन भएकाले र असिना पानीका कारण उत्पादन पनि गतवर्षको तुलनामा घटेको सिराहा कृषि ज्ञानकेन्द्रले जानकारी दिएको छ । गतवर्ष यी दुई जिल्लामा प्रतिहेक्टर १५ देखि २० मेट्रिकटन आँप फलेको थियो भने यसवर्ष उत्पादन घटेर प्रतिहेक्टर साढे ५ मेट्रिक टन मात्रै फलेको छ । एकातर्फ उत्पादन घटेको छ भने अर्कातर्फ भएको उत्पादन पनि राम्ररी बजारमा बेच्न पाइएको छैन । त्यसैले आफूहरू समस्यामा परेको सिराहा र सप्तरी जिल्लाका किसानहरूले बताएका छन् । सिराहा, सप्तरीलगायत जिल्लामा उत्पादित आँपको मुख्य बजार काठमाडौं, चितवन, इटहरी, पोखरा, हेटौंडालगायतका शहर हुन् । तर, निषेधाज्ञाका कारण बजार राम्रोसँग चलायमान नहुँदा ती शहरबाट व्यापारीहरूले समेत ठूलो मात्रामा आँपको माग नगरेकाले किसानहरू मर्कामा परिरहेको बताइएको छ । आँप र लिच्चीको मूल्य बढ्यो उत्पादन घटेको र आपूर्ति व्यवस्था राम्रो हुन नसक्दा आँप र लिच्चीको मूल्य गतवर्षको तुलनामा वृद्धि भएको पाइएको छ । यसवर्ष आँपको जस्तै लिच्चीको पनि उत्पादन खासै राम्रो हुन नसकेको यसमा संलग्न किसान तथा व्यवसायीहरूले बताएका छन् । कुलेश्वर फलपूल बजार विकास समितिका प्रमुख अमर बानियाँले यसवर्ष लिच्चीको उत्पादन घटेकाले झापा, धादिङ, नवलपुरलगायत जिल्लाबाट बजारमा लिच्ची आपूर्ति तुलनात्मक रूपमा घटेको बताए । नेपाली लिच्ची मात्रै नभएर भारतीय लिच्चीको समेत आपूर्ति घटेको उनी बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचिअनुसार गतवर्ष यस समयमा मालदह आँपको थोक औसत मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको थियो भने यसवर्ष मूल्य बढेर १ सय ५० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी कलकत्ते आँपको मूल्य गतवर्षको यो समयमा प्रतिकिलो ६० रुपैयाँ किलो थियो भने अहिले १ सय २५ रुपैयाँ पुगेको पाइएको छ । आँपको जस्तै लिच्चीको मूल्य पनि गतवर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको पाइएको छ । विकास समितिको मूल्य सूचिअनुसार गतवर्ष प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेको लिच्चीको मूल्य यस वर्ष बढेर ३ सय १० रुपैयाँ पुगेको छ । लिच्चीको दाना लाग्ने समयमा नै परेको असिना पानीका कारण यस वर्ष उत्पादन घटेको बताइएको छ ।